ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् कटौती अति भएपछि घोषित रुपमै लोडशेडिङ गर्न उद्योगीको माग, उत्पादन २५ प्रतिशतमा सीमित

२०७९ माघ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । विनासूचना पटकपटक विद्युत् कट्न थालेपछि बारा पर्सा औद्योगिक कोरिडोरका उद्योग सञ्चालकले घोषित रूपमै लोडशेडिङ गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेका छन् । मुख्य औद्योगिक कोरिडोरमा दैनिक ८/९ घण्टा विद्युत् काट्न थालेको वीरगञ्ज उद्योग वाणिज्य संघअन्तर्गतको उद्योग समितिका संयोजक हरि गौतमले बताए ।

अहिले अधिकांश उद्योगको उत्पादन खुम्चिएको छ । उत्पादन २५ प्रतिशतमा झरिसकेको सम्बद्ध उद्योगीको दाबी छ । विद्युत् अभावमा झन् समस्या थपिएको उद्योगी बताउँछन् । ‘सूचनाविनै लाइन काट्दा उत्पादनको सिफ्ट व्यवस्थापनमा समेत समस्या देखियो । बरु घोषित रूपमै लोडशेडिङको तालिका पाए सजिलो हुन्थ्यो,’ संघका उपाध्यक्षसमेत रहेका गौतमले भने ।

सूचनाविनै बारम्बार लाइन कट्दा उत्पादन नराम्ररी प्रभावित भएको उद्योगीको गुनासो छ । फलाम, सिमेन्ट र भट्टीमा आधारित बढी विद्युत् खपत गर्ने उद्योगहरू धेरै प्रभावित छन् ।

विगत वर्षहरूको तुलनामा विद्युत्को आन्तरिक उत्पादन र भारतबाट आयातसमेत घटेपछि प्राधिकरणले उद्योगमा आपूर्ति काट्न थालेको हो । ‘पिक आवर’मा हुने माग व्यवस्थापनका लागि उद्योगमा २/३ घण्टा विद्युत् आपूर्ति घटाइएको प्राधिकरणका उच्च अधिकारीहरूले बताउने गरेका छन् । तर, दिनभरि पटकपटक लाइन जाने गरेको उद्योगीले बताएका छन् ।

अहिले पिक आवरमा विद्युत्को माग १ हजार ७ सय मेगावाट रहेको प्राधिकरणको तथ्यांक छ । आन्तरिक उत्पादन बढीमा १ हजार ३ सय मेगावाट रहेको र भारतबाट ४०० मेगावाट आयात भइरहेको प्राधिकरण अधिकारीहरू बताउँछन् ।

गतवर्ष हिउँदको तुलनामा यो वर्ष २० प्रतिशतले उत्पादन घटेको र भारतबाट आयातसमेत प्रभावित भएकाले मागअनुसार आपूर्ति हुन नसकेको प्राधिकरणको दाबी छ । पिक आवरमा ५० मेगावाटजति कम हुने र त्यसको व्यवस्थापनका लागि उद्योगमा कटौती गर्नुपरेको प्राधिकरणको भनाइ छ ।

प्रधिकरणले भारतबाट विद्युत् किन्दा पिक आवरमा बढी रकम तिर्नुपर्ने भएकाले अफ आवरमा ल्याउने गरेको छ । यसबाट बढी बिजुली खपत हुने पिक आवरमै उद्योगमा कटौती गर्नु परेको प्राधिकरणका अधिकारीको भनाइ छ । प्राधिकरणले अधिकांश आयात भारतको विहारबाट गर्दै आएको छ । विहारमा १४ सय मेगावाट क्षमताका दुईओटा थर्मल प्लान्ट बिग्रिएकाले पनि चाहिएजति विद्युत् ल्याउन नसकेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् । बारा–पर्सा औद्योगिक कोरिडोरमा विहारबाट ल्याइएको विद्युत् आपूर्ति हुँदै आएको छ ।

उद्योगमा बारम्बार विद्युत् कटौती हुँदा कच्चा पदार्थ खेर जाने, उत्पादनमा कमी, उपकरण जल्ने र बिग्रिने, उत्पादनको गुणस्तरमा ह्रासजस्ता समस्या आएको संघका उपाध्यक्ष माधव राजपाल बताउँछन् । लोडशेडिङ अन्त्यको ४ वर्ष नबित्दै उद्योगमा अँध्यारो युग शुरू भएको उनको टिप्पणी छ ।

कोरोना महामारीयता चौतर्फी संकटमा जेलिएका उद्योग ऊर्जा असहजताका कारण थप मारमा परेको उद्यमीले बताएका छन् । बजारमा छाएको मन्दीबाट उद्योग १२ घण्टामात्र चल्ने गरेकोमा विद्युत्को आपूर्ति नियमित नहुँदा ८ घण्टा पनि चलाउन नसकिएको गौतमको गुनासो छ । ‘प्राधिकरणले जानकारी नै नदिई लाइन काट्छ । ५० रुपैयाँ युनिट पर्ने डिजेलको ऊर्जा प्रयोग गरेर उत्पादन गर्न सक्ने अवस्था छैन,’ उनले आर्थिक अभियानसित भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)