ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोधाराचाँदनीमा तीन वर्षभित्र सुक्खा बन्दरगाह बन्छ : प्रधानमन्त्री दाहाल

२०७९ फागुन, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले कञ्चनपुरको दोधाराचाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको निर्माण तीन वर्षभित्रै सम्पन्न गरिसक्ने बताउनुभएको छ । सोमवार सुदूरपश्चिमको विकास आयोजना अनुगमनका लागि कञ्चनपुर पुगेका प्रधानमन्त्री दाहालले यस्तो दाबी गर्नुभएको हो । दोधाराचाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माणस्थलमा पुगेर उहाँले तीन वर्षभित्र काम सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सुक्खा बन्दरगाह निर्माणका लागि वातावणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा प्रधानमन्त्री दाहालले बताउनुभयो । ‘मेरो आसन्न भारत भ्रमणमा यो विषय उच्च प्राथमिकताका साथ उठ्छ, मेलै भन्दै आएको त्रिदेशीय रणनीतिक साझेदारीमार्फत नेपालले अधिकतम लाभ लिनुपर्दछ,’ उहाँले भन्नुभयो ।

सुक्खा बन्दरगाह निर्माणका लागि भारतीय पक्षसँग चाँडै समझदारीपत्रमा हस्ताक्षर हुने प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । साथै दुईपक्षीय समझदारीपछि बन्दरगाह निर्माण क्षेत्र खाली गराएरपूर्वाधारको काम शुरू गरिने उहाँले बताउनुभयो ।

दोधाराचाँदनीको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि स्थान छनोट गरिएको छ । प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकनपछि उद्योग वाणिज्य संघ कञ्चनपुरले आयोजना गरेको पर्यटन महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सुदूरपश्चिम देशकै आर्थिक विकासमा ठूलो सम्भावना बोकेको प्रदेश रहेको बताउनुभयो । उत्तर–दक्षिण कनेक्टिभिटीअन्तर्गत महाकाली कोरिडोर र कैलालीको हरैया विशेष आर्थिक क्षेत्र तथा दैजी–छेला औद्योगिक क्षेत्र विकासको कामलाई समेत तीव्रता दिइने उहाँको भनाइ थियो ।

यसैगरी कैलालीको गेटास्थित गेटा मेडिकल कलेजलाई देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यायल बनाउने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको प्रधानमन्त्री दाहालले जानकारी गराउनुभयो । ‘दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ नाम दिइएको उक्त विश्वविद्यालयको स्थापनाले सुदूरपश्चिमका जनताको स्वास्थ्य सेवामा आमूल सुधार ल्याउन सघाउन पुग्ने उहाँले बताउनुभयो ।

महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार अर्थतन्त्रको सुधारमा गम्भीर रूपमा लागिपरेको बताउनुभयो । ‘अर्थतन्त्रको सुधारका लागि निजीक्षेत्रसँगको सहकार्य जारी छ,’ उहाले भन्नुभयो, ‘मेरो नेतृत्वको सरकार बनेपछि अर्थतन्त्र सुधारमा राम्रा संकेत देखिएका छन्, तर समग्रमा अर्थतन्त्रको संकट टरिसकेको छैन ।’

सुक्खा बन्दरगाहको कार्यालय चाँडै स्थापना : मन्त्री भण्डारी
यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधाराचाँदनीमा सुक्खा बन्दरगाहको कार्यालय छिट्टै स्थापना गरिने बताएका छन् । सुदूरपश्चिमका विकास आयोजनाको अनुगमनका लागि प्रधानमन्त्री दाहालसँगै सुदूरपश्चिम आएका मन्त्री भण्डारीले सुक्खा बन्दरगाहको काम चाँडै शुरू हुने समेत बताए । बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत हुने चरणमा रहेको भन्दै यसै वर्ष कार्यालय स्थापना हुने दाबी गरे ।

यसैगरी शिलान्यास भइसकेको दैजी–छेला औद्योगिक क्षेत्रको काम अघि बढाउन फिल्ड कार्यालय स्थापना गरिने मन्त्री भण्डारीले बताए । ‘यस औद्योगिक क्षेत्रमा पर्ने रूख छपानको काम अन्तिम चरणमा छ, त्यो काम सकिनेबित्तिकै उद्योगका लागि आवश्यक संरचना निर्माण अघि बढ्छ,’ उनले भने, ‘सुक्खा बन्दरगाह र दैजी–छेला औद्योगिक क्षेत्रका कार्यालय चाँडै स्थापना हुन्छन् ।’ सरकारले अर्थतन्त्र सुधारसँगै देशमा उद्योग व्यवसायमैत्री वातावरण बनाउँदै लगेको समेत उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)