ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मीरगञ्ज पुलबाट मालवाहक गाडी आवतजावतको अनुमति : ११६ किलोमिटर घुम्नुपर्ने बाध्यता अन्त्य

२०७९ फागुन, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारतीय भन्सार विभागले मीरगञ्जको प्रमाणा नदीमाथिको पुलबाट तेस्रो मुलुकका मालवस्तु बोक्ने गाडी आवतजावतका लागि समेत स्वीकृति दिएको छ । विभागले उक्त पुलबाट अब भारतसहित तेस्रो मुलुकका सामान ल्याउने गाडी आवतजावत गर्न सक्ने सूचना जारी गरेको हो । उक्त स्वीकृतिपछि भारतको भीमनगर र नेपालको भण्टाबारी नाकाबाट हुँदै आएको तेस्रो मुलुकसँगको निकासी पैठारी पुन: जोगबनी नाकाबाटै हुन थालेको छ ।

भारतको कमिशनर अफ कस्टम, पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल तेस्रो मुलुकबाट आएका सामान बोकेका गाडीका लागि पनि खुलेको जानकारी गराएका हुन् । यसअघि २०२२ जनवरी ११ मा उनले मीरगञ्ज पुल भासिएको भन्दै सम्पूर्ण कार्गाेको आवतजावत भीमनगर नाकाबाट सुचारु गरिएको सूचना जारी गरेका थिए । जोगबनी नाकाबाट आयात निर्यात बन्द हुँदा सीमाबाट ४ किलोमिटर दक्षिणसम्म आएका मालवाहक गाडी ११६ किलोमिटर घुमेर विराटनगर भन्सार आउने गरेका थिए । चार लेन सडकसहित मीरगञ्जको प्रमाणा नदीमाथि पक्की पुल बनेपछि भारतीय पक्षले गत शुक्रवार सो पुलबाट आवतजावत तथा मालसामान ओसारपासर गर्न सकिने औपचारिक जानकारी गराएको हो । मोरङ व्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल सञ्चालन गर्न दिइएको दबाबका कारण दुई महीनाअघि उक्त पुल अनौपचारिक रूपमा सञ्चालनमा आएको थियो । पछिल्लो अनुमतिले भारत र तेस्रो मुलुकबाट आउने कच्चापदार्थ लगायत सामग्री बोकेका मालवाहक गाडी अब भन्टाबारी नाका हुँदै आउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यसअघि भारतको जोगबनीस्थित ल्याण्ड कष्टम र विराटनगर एकीकृत भन्सार जाँचचौकी (आईसीपी)बीच समन्वय हुन नसक्दा तेस्रो मुलुकका मालसामान बोकेका गाडी आंशिक रूपमा मात्र आउने गरेका थिए । मोरङ व्यापार संघको अगुवाइमा भारतलाई पटक पटक अनुरोध गरिएपछि २ महीनादेखि पुल सञ्चालनमा आएको थियो । सञ्चालनमा आए पनि उक्त पुलबाट भारत र नेपालका लागि मात्र कार्गाे आउने जाने गर्दथे । तेस्रो मुलुकबाट आउने सामान बोकेका गाडी सुनसरीको भण्टाबारी नाका हुँदै आउनुपथ्र्यो । मीरगञ्ज पुल जोगबनी नाकाबाट ४ किलोमिटर टाढा पर्छ । पुल पूर्णरूपमा सञ्चालनमा आएपछि अहिले दैनिक २०० ओटासम्म मालवाहक सवारीसाधन विराटनगरको आईसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले बताएको छ । एउटा मालवाहक सवारीसाधन भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नुपरिरहेको थियो, जसकारण व्यवसायीले एक वर्षमा ११ करोड ५२ लाख रुपैयाँबराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् । यस्तै जोगबनी नाकाबाट आयात निर्यात बन्द हुँदा विराटनगर आईसीपीको कारोबार १ वर्षमा २२ अर्ब ५० करोड रुपैयाँले घटेको थियो ।

मोरङ व्यापार संघमा निर्वाचित भएपछि आफूले मीरगञ्ज पुल सञ्चालन गराएरै छाड्ने प्रतिबद्धता अध्यक्ष नविन रिजालले गरेका थिए । भारतीय पक्षबाट समेत उक्त पुल प्रयोगको औपचारिक अनुमति आएपछि उत्साहित देखिएका उनले भने, ‘यो सबैको अथक प्रयासको परिणाम हो ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)