ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लागू भएन मर्जरपछि १५ दिनमै एकीकृत कारोबारको व्यवस्था, 'पुसमै मर्जर, फागुनमा पनि खुलेन कारोबार'

२०७९ फागुन, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको लामो समय भइसक्दा पनि शेयर कारोबार सुचारु नहुने समस्या देखिएको छ । मर्जर तथा प्राप्तिका कारण लामो समय शेयर कारोबार रोकिने समस्या अन्त्य गर्नकै लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत कात्तिक २४ गतेदेखि मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेको थियो ।

उक्त निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिन मात्र दोस्रो बजारमा शेयर किनबेच रोक्का गर्ने व्यवस्था छ । पुसमै एकीकृत कारोबार शुरू गरिसकेका पाँच कम्पनीको शेयर कारोबार अझै खुलेको छैन । सेञ्चुरी कमर्सियल, नेपाल इन्भेष्टमेण्ट मेगा, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार भएको लामो समयसम्म पनि दोस्रो बजारमा शेयर कारोबार रोक्का छ ।

सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले १ बराबर १ शेयर अनुपातमा प्राप्त गरी प्रभु बैंक लिमिटेडको नामबाट गत पुस २६ गतेदेखि एकीकृत कारोबार शुरू गरेको हो । त्यस्तै नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल पनि १०० बराबर ९० शेयरको अनुपातमा मर्जरमा गई पुस २७ गतेदेखि एकीकृत कारोबार शुरू भएको थियो । यी दुई बैंक एक भएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट कारोबार भइरहेको छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड पनि एक बराबर एक शेयर अनुपातमा गाभिएका हुन् । यी दुई बैंकको मर्जर प्रक्रिया पूरा भएपछि पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार भइरहेको छ । यी पाँचओटै कम्पनीको शेयर कारोबार एकीकृत कारोबार भएको दिनदेखि नै रोक्का छ ।

लगानीकर्ताको सम्पत्ति लामो समय बन्धक हुन नदिन सेबोनले लागू गरेको निर्देशिकाविपरीत कारोबार रोक्का रहेकोमा बोर्डका अध्यक्ष रमेशकुमार हमालले दु:ख व्यक्त गरेका छन् । ‘निर्देशिकामा एकीकृत कारोबारपछि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘उक्त व्यवस्थाविपरीत कारोबार रोक्का भए के हुने भन्ने व्यवस्था नभएकाले समस्या देखियो ।’ यस्ता समस्या देखिन थाले आगामी दिनमा निर्देशिका परिमार्जन गरी निर्देशिकाविपरीत जाने कम्पनीलाई कारबाहीको व्यवस्था थप गरिने हमालको भनाइ छ । हाल निर्देशिकाविपरीत कारोबार रोक्का रहेका कम्पनीहरूको विषयमा नेप्सेसँग जानकारी लिई स्पष्टीकरण सोधिने सेबोन अध्यक्ष हमालले जानकारी दिए ।

सम्बद्ध कम्पनीका शेयर रजिस्ट्रारहरू भने कम्पनीहरूको बोनस शेयर सूचीकरण प्रक्रियाले शेयर कारोबार खुला गर्न ढिलाइ भएको बताउँछन् । प्रभु बैंकको शेयर रजिस्ट्रार प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सेञ्चुरी र प्रभु बैंकको बोनस शेयर समायोजनका कारण शेयर कारोबार खुला गर्न ढिलाइ भएको बताए । दुवै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारणसभाबाट बोनस शेयरको प्रस्ताव पारित गरेका थिए । बोनस शेयर सूचीकरण गराउनुपर्ने कारण निर्देशिकाबमोजिम काम गर्न असमर्थ भएको प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत थकालीले स्पष्ट पारे । नेपाल इन्भेष्टमेण्ट बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले भने यस वर्षको बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गरिसकेका छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकको रजिस्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले स्वाप रेसियोअनुसारको शेयर कायम गरी सूचीकरण प्रक्रियाका लागि एक साताअघि नै बोर्डमा पेश गरे पनि हालसम्म स्वीकृति प्राप्त नभएको जानकारी दिए । बोर्डको स्वीकृतिपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंंकको नामबाट शेयर कारोबार खुला हुने उनले जानकारी दिए ।

बोर्डले मर्जर तथा प्राप्ति निर्देशिका लागू गर्नुपूर्व मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका ३४ कम्पनीको शेयर कारोबार रोक्का थियो । निर्देशिका लागूपूर्व रोक्का रहेका कम्पनीको आधारभूत शेयरधनीबाहेकको शेयर फुकुवा गर्न सकिने व्यवस्था निर्देशिकामा छ । सोही व्यवस्थाबमोजिम कारोबार फुकुवा गरी एकीकृत कारोबारपछि पुन: कारोबार रोक्का भएको हो । बोर्डले लागू गरेको मर्जर तथा प्राप्ति निर्देशिकामा मर्जर तथा प्राप्ति प्रक्रिया सम्झौता गरेको ६ महीनाभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)