ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना : सम्झौता अवधिमा नसकिने, २ वर्ष थप म्याद

२०७९ फागुन, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा गत अक्टोबर १४ का दिन सुरुङ खन्दै टनेल बोरिङ मेशिन । तस्वीर : सिन्ह्वा
author avatar हिमा वि.क.

काठमाडौं । विभिन्न पाँच जिल्लाको १ लाख २२ हजार हेक्टर जमीन सिँचाइ गर्ने मुख्य लक्ष्य राखेर शुरू भएको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना समयमै सम्पन्न नहुने देखिएको छ । आयोजना शुरू भएको ६ वर्ष हुँदा जम्मा १० प्रतिशत प्रगति भएको छ । आयोजनाले अहिले गुरुयोजना अद्यावधिक गर्दै म्याद थप्ने तयारी गरेको छ ।

आर्थिक वर्ष (आव) २०८२/८३ मा सम्पन्न गर्ने गरी राष्ट्रिय योजना आयोगले २०७३/७४ मा यसलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको थियो । आयोजना शुरू र तोकिएकै समयमा सम्पन्न नहुने क्रम यो आयोजनामा पनि देखिने भएको छ । निर्धारित समयमै काम सम्पन्न नहुने भएपछि अहिले आयोजनाको गुरुयोजना अद्यावधिक गरिँदै छ । त्यसबाटै समय पनि थप गरिने आयोजना प्रमुख मित्र बरालले जानकारी दिए ।

गुरुयोजना अद्यावधिक गर्दै आव २०८४/८५ सम्ममा सिँचाइ र जलविद्युत्को काम सबै सम्पन्न गरिने उनको भनाइ छ । हालसम्म साढे ४ अर्ब रुपैयाँ खर्च भएको यो आयोजनाको कुल लागत भने ४६ अर्ब १९ करोड रुपैयाँ छ । आयोजनाको म्याद थप हुने भए पनि चालू आव २०७९/८० को ७ महीनामा भने राम्रो प्रगति भएको प्रमुख बरालले बताए । यो वर्ष सरकारले आयोजनाका लागि २ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । ‘विनियोजित बजेट सकिएको छ,’ बरालले भने, ‘अर्थ मन्त्रालयसँग थप ४ अर्ब ५० करोड रुपैयाँ माग गरेका छौं ।’

आयोजनाको सुरुङको प्रगति राम्रो भएको उनले बताए । हालसम्म २ दशमलव ९ किलोमीटर सुरुङ खनिएको छ । सुरुङको कुल लम्बाइ १३ दशमलव ३ किलोमीटर हो । ‘अबको २ वर्षभित्र सुरुङ खन्ने काम सम्पन्न गर्छौं,’ उनले भने, ‘ब्यारेज बनाउने कामका लागि भने हालै खरीद प्रक्रिया सम्पन्न भई निर्माण व्यवसायी साइटमा खटिएका छन् ।’ आयोजनाको सुरुङ चिनियाँ निर्माण कम्पनी कोभेक्सले खनिरहेको छ ।

सुरुङका साथै सिन्धुली जिल्लाको खुर्कोट बजारभन्दा २ किलोमीटरमाथि ब्यारेज निर्माणका लागि प्रक्रिया अघि बढेको छ । सुनकोशी गाउँपालिकाको खुर्काेटमा ब्यारेज निर्माण, पावरहाउस बनाउने कामका लागि हालै सम्झौता भएको छ । उनका अनुसार यी संरचना नेपाली कम्पनी रमण कन्स्ट्रक्सन र भारतीय पटेल कन्स्ट्रक्सन कम्पनीको ज्वाइन्ट भेन्चर (जेभी)मा बनाउने गरी सम्झौता भएको छ ।

यसैगरी यी कार्यबाहेक नदी नियन्त्रणको काम, प्रभावित स्थानीयका लागि ससाना पूर्वाधार सडक, शीपमूलक तालीम दिने काम भइसकेको आयोजनाले जानकारी दिएको छ । यसैगरी बागमती आयोजनाबाट पनि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र परामर्शदाता नियुक्त भएर अध्ययन हुँदै छ । रौतहट र सर्लाहीमा पनि सिँचाइ सुविधा १२ महीना नै पुग्न सकेको छैन । अब रौतहट, सर्लाहीका साथै बारा, महोत्तरी र धनुषासम्मको सिँचाइ विस्तारसहितको काम गर्ने गरी यसको डीपीआर बनाउने काम शुरू भएको बरालले बताए ।

२ वर्षमा डीपीआर तयार हुनेछ । त्यसपछि निर्माणको चरणमा जानेछ । आयोजनाका लागि जग्गा अधिग्रहणको काम भने सम्पन्न भएको छ । हेडवक्र्स, पावरहाउस, ट्रान्समिशन लाइनका कामहरू सबै सम्पन्न हुँदा यता सिँचाइतर्फको काम पनि सकिने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)