ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालको विद्युत् खरीदमा भारत लचिलो

२०७९ फागुन, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रकाश जोशी

काठमाडौं  । नेपालको विद्युत् खरीदमा भारत पहिलेको तुलनामा निकै लचिलो बनेको छ । भारतको राजस्थानमा शनिवार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १०औं बैठकमा भारतीय अधिकारीहरूले यस्तो संकेत गरेका हुन् ।

नेपालले भारतीय बजारमा विद्युत् निर्यात गर्न अन्तरसरकारी सम्झौताका लागि गरेको प्रस्तावमा भारतीय अधिकारीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । त्यस्तै नेपालबाट ५० मेगावाट बिजुली बंगलादेश निर्यात गर्न पनि भारतीय विद्युत् आयातनिर्यात निर्देशिकाबमोजिम स्वीकृति दिन सकिने भारतीय अधिकारीहरूले बताएको बैठकमा सहभागी नेपाली अधिकारीहरूले जानकारी दिए । यसका लागि नेपालका तर्फबाट निश्चित योजनासहित प्रस्ताव पेश हुनुपर्ने भारतीय पक्षको शर्त छ ।

बैठकमा भएका सहमतिका विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्साहजनक प्रतिक्रिया दिएका छन् । ‘विद्युत् उत्पादन, प्रसारण र व्यापारका लागि संयुक्त निर्देशक समितिको बैठक कोसेढुंगा सावित भएको छ,’ उनले भने । बंगलादेश विद्युत् निर्यात गर्ने आयोजनाको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष पठाउने विषय र नयाँ प्रसारण लाइन निर्माणबारे सम्भावित विकल्प खोज्न संयुक्त प्राविधिक समितिलाई निर्देशन आउनु पनि उपलब्धिमूलक कुरा भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

बैठकले अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण अघि बढाउने निर्णय गरेको छ । बैठकमा शुक्रवार सम्पन्न दुई देशबीचका सहसचिवस्तरीय संयुक्त कार्यदलले गरेको सिफारिशमाथि छलफल भएको थियो । बैठकमा कार्यकारी निर्देशक घिसिङ पनि सहभागी थिए । उनका अनुसार नेपालले भारतीय प्रसारण ग्रीड प्रयोग गरी बंगलादेश विद्युत् निर्यातका लागि राखेको प्रस्तावलाई भारतले सकारात्मक रूपमा लिँदै निर्यात गरिने जलविद्युत् आयोजनाको नाम पठाएपछि आवश्यक सहमति दिने निर्णय भएको छ ।

‘बंगलादेशमा बिजुली निर्यात गर्ने आयोजनाको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष पठाउने र प्राधिकरणले आवश्यक परीक्षण गरी भारत सरकारले जारी गरेको विद्युत् आयात/निर्यात (क्रश बोर्डर) निर्देशिकाको परिधिभित्र रहेर सहमति दिने निर्णय भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विद्युत् विक्री गर्न नेपालले १ वर्षको स्वीकृति पाइरहेकोमा यसलाई बढाउन प्रस्ताव गरिएको थियो ।

यसमा जाँच गरी पुनरवलोकन गर्ने र अन्य थप आयोजनाका विद्युत् निर्यातका लागि नेपालले पेश गरेको प्रस्तावलाई प्रक्रिया पुर्‍याएर स्वीकृति दिने सहमति भएको घिसिङले जानकारी दिए । ‘साथै रियल टाइम मार्केटमा सहभागी हुन गरिएको प्रस्ताव परीक्षणको क्रममा रहेको भारतीय पक्षले जानकारी गराएको छ,’ घिसिङले भने ।

नेपाल–भारत अन्तरसरकारी सम्झौताका आधारमा नेपालबाट दीर्घकालीन रूपमा विद्युत् निर्यातका लागि प्रस्ताव गरिएकोमा भारतीय पक्षले त्यसलाई सकारात्मक रूपमा लिँदै नेपालबाट प्रस्ताव प्राप्त गरेपछि जाँच गरी आवश्यक निर्णय लिइने जानकारी गराएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष आशिष गर्गले संयुक्त निर्देशक समितिको बैठकमा भएका सबै सहमतिलाई निजीक्षेत्रले सकारात्मक रूपमा लिएको बताए । ‘सहमति भएका सबै कुरा राम्रा छन् । विगतमा कुरा मात्रै हुने काम नहुने परिपाटी थियो, अहिले त्यो तोडिएको छ । अहिले ठोस कुरा आएको छ,’ उपाध्यक्ष गर्गले आर्थिक अभियानसँग भने ।

बैठकमा भारतीय पक्षले अरूण तेस्रोको प्रसारण लाइन निर्माणमा भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लामा जग्गा अधिग्रहण, स्थानीयको अवरोधलगायत विषयमा नेपालको ध्यानाकर्षण गराएको थियो । साथै, कोशी राजमार्ग निर्माणमा भइरहेको ढिलाइका कारण पावर ट्रान्सफर्मरलगायत ठूला उपकरण लैजान नसक्दा निर्माण तालिका प्रभावित हुन सक्ने भएकाले राजमार्ग निर्माणमा सहजीकरण गरिदिन भारतीय अधिकारीहरूले आग्रह गरेका थिए । नेपालले समस्या समाधान गरी तोकिएकै समयमा आयोजना निर्माण सम्पन्न गर्ने वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आयोजनाको निर्माण मार्च २०२४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

राजस्थानको माउन्ट आबुमा भएको बैठकमा नेपाली टोलीको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे तथा भारतीय टोलीको नेतृत्व त्यहाँको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारले गरेका थिए । संयुक्त निर्देशक समितिको ११औं बैठक ६ महीनापछि चितवनमा हुने भएको छ ।

संयुक्त निर्देशक समितिको बैठकमा भएका सहमति

  • हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केवर–मुजफ्फरपुर ४०० किलोभोल्ट प्रसारण लाइनबाट आयातनिर्यात भइरहेको विद्युत् क्षमतालाई ६०० मेगावाटबाट बढाएर ८०० मेगावाट पुर्‍याउने ।
  • सतलज अरूण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेड प्रालिद्वारा निर्माण भइरहेको ढल्केवर–सीतामढी ४०० किलोभोल्ट प्रसारण लाइनबाट समेत
  • विद्युत् आदानप्रदान गर्न अध्ययनका लागि संयुक्त प्राविधिक टोलीलाई निर्देशन ।
  • टनकपुर–महेन्द्रनगर १३२ किलोभोल्ट प्रसारण लाइनबाट ७० देखि ८० मेगावाट विद्युत् आयातनिर्यात गर्ने र २०० मेगावाटसम्म बिजुली निर्यात गर्न संयुक्त प्राविधिक टोलीबाट सम्भाव्य विकल्पको अध्ययन गराउने सहमति ।
  • १३२ किलोभोल्ट तथा त्योभन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट वर्षायाममा नेपालबाट भारतको विहार राज्यमा विद्युत् निर्यात गर्न आवश्यक
  • संयन्त्र बनाउने ।
  • दोस्रो अन्तरदेशीय नयाँ बुटवल–गोरखपुर ४०० किलोभोल्ट प्रसारण लाइनअन्तर्गत भारतीय खण्डको निर्माण मार्च, २०२५ सम्म सम्पन्न गर्न कार्यान्वयन तथा प्रसारण सेवा सम्झौतामा छिट्टै हस्ताक्षर गर्ने ।
  • नेपाल–भारतबीच इनरुवा–पुर्निया र दोदोधारा–बरेली ४०० किलोभोल्ट क्षमताका थप दुईओटा अन्तरदेशीय प्रसारण लाइन निर्माण क्रमशः सन् २०२७/२८ र २०२८/२९ सम्ममा सम्पन्न गर्ने गरी काम शुरू गर्ने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)