काठमाडौं । नेपालमा पछिल्लो समय रिलिज भएका सिनेमाका पोस्टरहरू अलि भिन्न देखिन्छन् । हलिउड र बलिउड सिनेमाका पोस्टरजस्तै । नेपाली सिने अनुहार नभएको भए नेपाली सिनेमाकै पोस्टर हो भन्ने कुरा पत्याउन पनि मुस्किल हुन्थ्यो ।
बलिउड र हलिउडको पोस्टर कन्सेप्टलाई नेपाली सिने उद्योग (कलिउड)मा प्रयोग गर्ने व्यक्ति हुन् रोयल भीमसेन अर्थात् भीमसेन शाही । कर्णाली प्रदेशको दैलेखमा जन्मिएर लुम्बिनी प्रदेशको बर्दियामा हुर्किएका शाहीले उच्च शिक्षा भने भारतबाट लिएका हुन् ।
मुम्बईमा फिल्म अध्ययन गर्न गएका शाहीले त्यहाँ बस्दा शाहरुख खानको स्टुडियोमा काम गर्ने अवसर पनि पाएका थिए । तर, उनलाई मुम्बईमा भन्दा आफ्नै देशमा केही गरौ भन्ने लागेपछि ५ वर्षअघि नेपाल फर्किए । त्यसपछि नयाँ बानेश्वरमा ‘ट्राइडेन्ट कन्सेप्ट’ नामक अफिस स्थापना गरेर काम शुरू गरे ।
यो अवधिमा उनले ७० भन्दा धेरै फिल्मको पोस्टर डिजाइन गरिसकेका छन् । त्योमध्ये पछिल्लो समय आएको ‘महापुरुष’ले पनि राम्रो व्यापार गरेको थियो ।
३ घण्टाको फिल्मको कथा भन्न सक्ने पोस्टर डिजाइन गर्नु आफैमा चुनौतीपूर्ण काम हो । तर, फिल्म निर्माताले शुरुमै सम्पर्क गरेको खण्डमा उनको टिमले पोस्टरको लागि पनि फिल्डमै गएर फोटो सुट गर्ने गरेको उनले बताए ।
राम्रो पोस्टर डिजाइन गर्नुका साथै फिल्मको प्रचारप्रसारको काम पनि गर्छ उनको टिमले । सामाजिक सञ्जालमा प्रचारप्रसारको कामदेखि लिएर फिल्मको पेज बनाएर अफिसियल अपडेट दिने कामसम्म उनको टिमले गर्दै आएको छ ।
फिल्म रिलिजको समयमा कुन हलमा कति बजे फिल्म प्रदर्शन हुन्छ भन्ने जानकारीसहित दर्शकको रिभ्यू समेतदिने काम प्याकेजमै गर्ने गरेको शाही बताउँछन् । ‘पोस्टर डिजाइन मात्रै गरेर छोड्ने काम हाम्रो होइन । प्याकेजमै काम गर्ने भएकाले धेरै फिल्म निर्माताहरू हाम्रो सम्पर्कमै छन्,’ उनले भने ।
पोस्टर डिजाइनमा प्रविधिले सहयोग गरेको तर पहिलो कुरा कन्सेप्ट नै हुने उनी बताउँछन् । ‘प्रविधि भनेको फोटोसपका टुलहरू चलाउने हो । तर, कन्सेप्ट नै नहुने हो भने टुलले मात्रै त केही हुँदैन,’ उनले भने, ‘कतिपय निर्माताले फिल्मको स्क्रिनसट प्रयोग गरेर पोस्टर डिजाइन गर्न भन्छन् । तर, मैले त्यस्तो नगर्न सल्लाह दिन्छु । हामीसँग पहिलै सम्पर्क गर्याे भने फिल्मकै सेटमा फोटो सुट गरेर काम गर्छाैं ।’
यसले एकातिर समयको बचत हुन्छ भने अर्काेतिर फिल्म सुटिङ सकिएपछि स्टुडियोमा फोटो सुट गर्ने झन्झट नहुने उनको भनाइ छ । यसरी सुट गर्दा कलाकारले आफ्नो भूमिका नबिर्सिने, गेटअप चेन्ज नगर्ने, दारी कपालदेखि हाउभाउसम्म म्याच हुने हुनाले पात्रमा छिरेरै काम गर्न सहज हुने उनको अनुभव छ ।
‘हलिउड र बलिउडमा त कन्सेप्ट राइटर नै छुट्टै हुने गर्छ । हामीले पनि पोस्टर बनाउने क्रियटिभ डिरेक्टर छुट्टै राखेका छौं,’ उनले भने । उनी पोस्टर बनाउँदा फिल्मको थिम्ससँग मिल्नुपर्ने बताउँछन् । ‘फिल्मको थिम्ससँग मिल्ने वा फिल्म कस्तो हो भन्ने कुरा पोस्टरले बताउनुपर्ने हुन्छ । फिल्म एकातिर र पोस्टर अर्काेतिर हुनु भएन,’ उनले भने ।
‘पोस्टर हेरेरै हलसम्म पुग्छन् दर्शक’
‘हामी शुरूमै हिरोको अनुहार सार्वजनिक गर्दैनौं, जस्तो : अहिलेको ‘म राजेश हमाल’ भन्ने फिल्म हेरौं । नाम हेर्दै राजेश हमालकै हो की भन्ने लाग्न सक्छ । तर, त्यो को हो ? राजेश हमाल नै हो की, अरू कोही हो ? भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्छ । त्यसको पोस्टर हेर्नुभयो भने त्यसले रियल कथा बताएको छ । यसले मान्छेलाई क्युरिसिटी जगाउँछ । कतिपय फिल्ममा त सिम्बोल मात्रै राखेर पोस्टर बनाइन्छ । जात्राकै पोस्टर हेर्दा कैची, लुगा जस्ता सिम्बोलले क्यारेक्टर बताएको छ,’ उनी भन्छन् ।
पहिले चल्तीको हिरोलाई राखेर वा सबै क्यारेक्टरलाई राखेर पोस्टर बनाइन्थ्यो । अहिले त्यो कल्चरलाई १८० डिग्रीमा घुमाएका छन् उनले ।
‘पहिले पहिले ट्रेलर रिलिज भएपछि के होला कसो होला भन्ने हुन्थ्यो । अहिले पोस्टरको फस्ट लुक्स कस्तो आउँछ भन्ने हुन्छ । अन्य मुलुकमा पोस्टर र फस्ट लुक्स सार्वजनिक गर्नु पनि ठूलो रुपमा लिइन्छ,’ उनी भन्छन् ।
नेपालमा यस्तो प्रकारको पोस्टर डिजाइन गर्ने चलन थिएन । तर, पछिल्लो समय पोस्टर हेरेरै हलसम्म धाउने दर्शकले दिने प्रतिक्रियाले भने कहिलेकाहीँ आफैलाई अचम्म लाग्ने गरेको उनी बताउँछन् । कहिलेकाहीँ फिल्म कमजोर हुँदा पोस्टरकै भरमा हलमा पुगेका दर्शकले पोस्टरका कारण धोका भयो भन्दै प्रतिक्रिया दिने गरेका छन् ।
तर, यस्ता प्रतिक्रियालाई सकारात्मक रुपमै लिने गरेको शाही बताउँछन् । ‘पोस्टरकै भरमा दर्शक हलमा पुग्नु मेरो ठूलो सफलता हो,’ उनले भने ।
शाहरुख खानसँग काम गर्ने सपना त्यागेर नेपालमै बस्ने निर्णय
नेपालमा भूकम्प र नाकाबन्दीले सिने जगत थलिएको थियो । त्यही बेला नेपाल आउन खोज्दा धेरै साथीले नआउन सल्लाह दिएका थिए उनलाई । तर, नेपाल आएका उनलाई त्यतिबेला रिलिज भएको ‘झुम्की’ फिल्मले नेपालमै बस्ने बनाएको रहेछ ।
उनले शाहरुख खानको रेडचिल्लिजमा आवेदन दिएका थिए । तर, लामो समयसम्म जवाफ नै आएन । जब उनी नेपाल आएर ‘ट्राइडेन्ट कन्सेप्ट’ खोलेर काम शुरू गरे, त्यसपछि उताबाट ‘काम गर्न आउनू’ भन्ने जवाफ आयो । उनलाई निर्णय गर्न निकै गाह्रो भयो । अन्ततः उनले शाहरुख खानको कम्पनीमा काम गर्ने सपना छोडेर नेपालमै बस्ने निर्णय गरे ।
त्यसपछि उनले एक समय मात्रै पछुताउनु पर्याे । जब कोरोनाका कारण देशव्यापी लकडाउन भयो । व्यापार भएन । त्यतिबेला मात्रै उनले ‘मुम्बई नै गएको भए हुन्थ्यो’ भन्ने सोचेका थिए ।
चल्तीका अनुहारलई पोस्टरमा देखाएर पब्लिसिटी गर्ने नेपाली प्रोडक्सनको चलन हो । ‘उनीहरू (फिल्म निर्माताहरू)ले त तपाईं उल्टो बाटो हिँडिरहनुभएको छ पनि भनेका थिए । अहिले भने राम्रो बुझ्ने निर्माताहरू पनि छन् । कोही त अहिले पनि ‘यो हाल यो हाल’ भन्छन्,’ उनले भने ।
एउटै फिल्ममा धेरै थरी क्यारेक्टर हुँदा भने पोस्टर डिजाइन निकै गाह्रो हुने उनको अनुभव छ ।
एक साउथ फिल्ममा एउटा राँगाको फोटो राखेर पोस्टर डिजाइन गरिएको छ । ‘कन्तरा’ फिल्मको पोस्टर हेर्दा पनि ‘हिलोमा हलो जोतेको’ मात्रै देखिन्छ ।
नेपालमा ठूलो बजेटको र साइन्स फिक्सन फिल्म बन्दैनन् । तर, साइन्स फिक्सन फिल्ममा रुचि भएका उनको लागि बलिउड नै फराकिलो दायरा भएको स्थान थियो । जहाँ उनले स्थान पाएर पनि स्वदेशमै बस्ने निर्णय गरे ।
कसरी आए पेन्टिङमा ?
दैलेखमा जन्मेर बर्दियामा हुर्नेका उनले माध्यमिक शिक्षा नेपालबाटै र उच्च शिक्षा भारतबाट लिएका छन् । उनका बुबा पहिले पेन्टिङ गर्थे रे । पछि भारतीय सेनामा भर्ती भए । बुबासँगै उनी पनि भारतमा गए । त्यतै पेन्टिङ पढ्ने र गर्ने मौका पाए । त्यसपछि यसैमा करिअर बनाउने निर्णय गरे ।
नेपालमा डिजिटल आर्टको प्रशस्त सम्भावना भएको बताउँछन् उनी । ‘मैले जुन प्ल्याटफर्म बनाएको छु, यसमा सम्भावना छ । मलाई नै म्यानपावर पुगेको छैन,’ उनले भने । यो फिल्डमै करियर बनाउन चाहेर कोही आए शेयर पार्टनर नै बनाउने उनको योजना छ ।
उनलाई म्युजिक भिडियोमा पनि ‘यस्तो पोस्टर गर्दिनुन’ भन्ने धेरै छन् । तर, अहिले पूरै क्षमता फिल्मतिर लगाएकोले त्यता समय दिन भने भ्याएका छैनन् उनले ।
‘कतिपय फिल्ममा त्यतिकै पनि काम गर्नु पर्ने हुन्छ । फिल्म चल्दैन भन्ने पहिले नै थाहा हुँदा पनि काम गर्नुपर्ने बाध्यता आइलाग्छ । त्यस्तो बेलामा आफ्नो लोगो भने प्रयोग गर्दैनौं,’ उनले भने ।
आफ्नो प्राथमिकता भनेको फिल्म नै रहेको उनी बताउँछन् । ‘कौशिद’, ‘आँखा’ र ‘म राजेश हमाल’ जस्ता फिल्मको कन्सेप्ट राम्रो भएरै काम गरेको उनी बताउँछन् ।
नेपाली र बलिउडमा अन्तर
‘बलिउडमा प्रमोसन टिमलाई निर्माताले पूरा फिल्म नै देखाएर मुख्य मुख्य डाइलग नोट गर्न दिन्छन् । के–के कुरा प्रमोसनमा लैजाने भनेर दिन्छन् । यसले पोस्टर बनाउन सजिलो हुन्छ । तर, यहाँ त फिल्म लिक हुन्छ भनेर फोटो पनि नदिने निर्माताहरू छन् । उनीहरूलाई पोस्टर भने हलिउडको जस्तै चाहिन्छ,’ उनले भने ।
हलिउड र बलिउडमा पोस्टर बनाउनु भनेको फिल्मको रिक्रिएशन हो भन्ने बुझाइ छ । ‘नेपालमा त पुरानै ढर्राका निर्देशक र प्रोड्युसर छन् । ट्रेलर बनाउनु, मिडियामा विज्ञापन बजाउनु मात्र पब्लिसिटी होइन भन्ने बुझाइ छ,’ उनले सुनाए । यो पनि माध्यम हो, यसमा पनि टिम हुन्छ भनेर बुझाउन केही समय लागेको उनको अनुभव छ । अहिले त धेरै निर्माताहरूले पोस्टरको महत्त्व बुझेका छन् ।
क्रियटिभ पोस्टरका उदाहरण
पोस्टरमा एक जना मानिसले पैसा समातेको सिन छ । तर, एक्प्रेसन हेर्नुस् न पैसा पाउँदाको हो । तर कसरी पाएको हो बैंक लुटेको पो हो की अरु नै हो ? त्यसको लागि त फिल्म हेर्नुपर्ला । क्यारेक्टर हेर्दा आकस्मिक पैसा पाएको देखिन्छ । फोटोमा गहिरिएर हेर्नुभयो भने पछाडि केही मानिस र तिनका टाउका देखिन्छन् । तर, त्यहाँ औंठाछाप छ । यो फिल्मको कथामा एकजना सामान्य मानिसले बैंकबाट ऋण लिँदा भोगेको कुरालाई देखाइएको छ ।
यो एउटा केटी मान्छेको कथामा आधारित फिल्मको पोस्टर हो । यसमा केटीको आँखामा पीडा देखिन्छ । पीडा के हो उसको पछाडिको सिनले पनि बताउँछ । तर, कथा जान्न फिल्म नै हेर्नुपर्छ । तर, के भन्न खोजेको भन्ने स्पष्टै देखिन्छ । यो फोटोमा एउटी केटीले परिवारलाई स्कुटी किन्दिनुस यात्रामा गाह्रो भयो भन्दा परिवारले किन चाहियो स्कुटर ? पब्लिक बसमै यात्रा गरे भइगोनी भनेको छ । तर, उसले भोगेको ह्यारेसमेन्ट उसको आँखामा स्पष्ट देखिन्छ ।
एउटा दर्जीको छोरीले घरको भित्तामा उल्टो ‘क’ लेखेकी हुन्छ । उसलाई पढ्ने रहर छ, अन्यले पढेको झ्यालबाटै हेर्ने बच्चीको भाव फोटोले दिन्छ । फोटोको पछाडि बाध्यता, रहर, अधिकार जस्ता कुरा धुमिल देखिन्छन् ।