ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यो वर्ष ६ महीनामै दोब्बर भयो तरबुजा आयात, तारे होटलका 'मेनु'मा परेपछि दैनिक ५० टन खपत

२०७९ फागुन, ९  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालले चालू आर्थिक वर्षको पहिलो ६ महीनामा मात्रै १३ करोड ९१ लाख ८ हजार रुपैयाँ बराबरको तरबुजा आयात गरेको छ ।

भन्सार विभागको तथ्यांकमा नेपालले उक्त मूल्यको करीब ५१ लाख ८४ हजार ३२९ किलोग्राम तरबुजा आयात भएको देखिन्छ । गत वर्षको सोही अवधिमा नेपालले ६ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको २३ लाख ३ हजार १८८ किलोग्राम तरबुजा आयात गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष तरबुजाको आयात दोब्बरले बढेको छ । 

नेपालमा नदी किनार र बगरमा पनि सजिलै फलाउन सकिने यो फलको वार्षिक आयात पनि हरेक २ वर्षमा दोब्बर भइरहेको छ । 

आर्थिक वर्ष ०७६/७७ मा नेपालले २९ करोड ६३ लाख ७४ हजार रुपैयाँको १ करोड १४ लाख ७० हजार ५६८ किलोग्राम तरबुजा आयात गरेको थियो । आर्थिक वर्ष ०७७/७८ मा भने ४१ करोड ५० लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख २९ हजार ५०२ किलोग्राम तरबुजा आयात भएको थियो । २ वर्षपछि गत आर्थिक वर्षमा नेपालले ५६ करोड २६ लाख ९९ हजार रुपैयाँ बराबरको २ करोड १६ लाख ४ हजार ४५३ किलोग्राम तरबुजा आयात गरेको थियो । जुन २०७६/७७ मा आयात भएको मूल्य र परिमाण करीब दोब्बर हो । उक्त तथ्याङ्कले तरबुजाको वार्षिक आयात हरेक २ वर्षमा दोब्बर भइरहेको देखाउँछ ।

नेपालमा तरबुजाको व्यसायिक उत्पादन राम्रो नभएको र भएको उत्पादन पनि गुणस्तरीय नहुँदा तरबुजाको आयात छोटो समयमै दोब्बरले बढीरहेको कुलेश्वर फलफूल बजारका अध्यक्ष अमर बानियाँले आर्थिक अभियानलाई बताए ।

गत वर्ष पर्साबाट अलि अलि तरबुजा आएकोमा यो वर्ष त्यही पनि नआएको उनले बताए । तरबुजाको माग स्वास्थ्यका हिसाबले पनि धेरै हुने र ठूला होटलहरुमा यसको अझै बढी माग हुने भएकाले यसको खपत बढेको उनको भनाइ छ । स्वास्थ्यका हिसाबले खपत बढ्नु राम्रो भएपनि नेपालमा उत्पादन नबढ्दा खपत बढ्दाको आर्थिक लाभ भने नेपाली किसानले पाउन सकेका छैनन् । आन्तरिक उत्पादन नहुँदा माग धान्न भारतबाटै आयात गर्नु परिरहेको बानियाँले बताए ।

यो वर्ष तरबुजाको आन्तरिक उत्पादन नै हुन सकेको छैन । नेपालको तरबुजा जेठ असारमा मात्रै हुने भएकाले अन्य बेलामा भारतबाट आयातित  तरबुजाले नै बजार माग धनिरहेको उनको भनाइ छ ।

भारतमा तरबुजा उत्पादनको लागि बाह्रै महीना मौसम अनुकूल हुने हुँदा त्यहाँबाट बाह्रै महीना तरबुजा आयात हुने गरेको छ । अहिले तरबुजाको दैनिक खपत मात्रै ५० टन हाराहारी रहेको पनि उनले जानकारी दिए ।

अहिले तरबुजाको होलसेल मूल्य ३० देखि ४० रुपैयाँ प्रतिकिलो पर्ने गरेको छ । तरबुजा गर्मीहुने तराईका क्षेत्रमा फल्ने हुँदा नेपालका सबै क्षेत्रमा यसको व्यवसायिक खेती हुन सकेको छैन । तरबुजाको माग जाडोमा भन्दा गर्मीमा अझै बढी हुने र जाडोमा होटलहरुको माग बढी हुने बानियाँको अनुभव छ ।

झापास्थित प्याराडाईज एग्रो फर्मकी संञ्चालिका भावना अधिकारी(पोखरेल)ले यो वर्ष तरबुजाको उत्पादन नै हुन नसकेको बताइन् । समयमा बीउ नउम्रिएकोले उत्पादनमा कमि आएको उनको भनाइ छ  ।

त्यसैगरी उनले उत्पादन पछि पनि तरबुजाले बजार नपाउने र लगानी सम्म पनि नउठ्ने हुँदा यसको खेतिप्रति किसानको चासो पनि घट्दै गएको दाबी गरिन् ।

तरबुजामा ९२ प्रतिशत पानी पाइनुका साथै भिटामिन 'ए' र 'एन्टी अक्सिडेन्ट' पनि पाइने हुँदा यसले स्वस्थमा निकै फाइदा पुर्‍याउने पोषणविद सुप्रिया भट्टराईले बताइन् । उनका अनुसार यो खाँदा इम्युनिटीलाई पनि फाइदा दिनुका साथै यसको बीउमा फोलेट, आइरन, जिंक, कपर, म्याग्नेसियम, पोटासियम, एमिनो एसिड र भिटामिन 'बी' जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ ।

यी पोषक तत्वहरूले शरीरको प्राकृतिक चयापचयलाई बढावा दिन्छन् । साधारण व्यक्तिले दैनिक १५० ग्राम तरबुजा खानु स्वास्थ्यका  दृष्टिकोणले निकै राम्रो मानिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)