पर्वत । पर्वतमा लोक्तामार्फत विभिन्न वस्तु उत्पादन गर्ने घरेलु उद्योग बन्द हुन थालेका छन् । वनमा पाइने लोक्ता संकलन गर्ने जनशक्तिको अभावले यस्ता उद्योग बन्द हुन थालेका हुन् । युवा जनशक्ति विदेश पलायन र पुरानो पुस्ताले नसक्ने भएकाले लोक्ता उद्योग बन्द हुन थालेको पर्वतको जलजला–९ बनौंका मनमाया पुर्जाले बताइन् ।
जिल्लाको जलजला–६ शालिजामा सञ्चालित हम्पाल सामुदायिक लोक्ता प्रशोधन उद्योगले पनि लोक्ता संकलक अभावकै कारण ३ वर्षदेखि उत्पादन बन्द गरेको छ । फलेवास–९ भंगराका रमेश क्षेत्रीले २०६५ देखि कुश्मा–९ कटुवाचौपारीमा लोक्ताबाट हाते कागज बनाउन शुरू गरेका थिए । शुरूका केही वर्ष उत्साहका साथ काम गरेका क्षेत्रीले लोक्ता संकलन तथा ढुवानी गर्ने कामदार पाउन छाडेपछि पेशा नै परिवर्तन गरेका छन् । ‘शुरू शुरूमा सबैतिरबाट सहयोग थियो,’ क्षेत्रीले भने, ‘विस्तारै जनशक्ति अभाव भयो, लोक्ता पाउन समस्या भयो, पाइए पनि महँगो हुने र वनको झन्झटिलो प्रक्रियाले सबै काम छाडिदिएँ ।’ समुदायस्तरबाट सञ्चालित हम्पाल सामुदायिक लोक्ता प्रशोधन उद्योगका व्यवस्थापक तुलबहादुर खोर्जाले बाध्यताले उद्योग बन्द गर्नुपरेको बताए । ‘हामीले नेपाली कागजकै गरगहना समेत बनाउन थालेका थियौं,’ उनले भने, ‘कामदार अभाव, लागत वृद्धि जस्ता समस्याले ३ वर्षयता उत्पादन गरिएको छैन ।’ सवा तीन सय हेक्टरमा फैलिएको हम्पाल तथा जुद्धवीर सामुदायिक वनको लोक्ता संकलन गरेर उद्योगले कागज उत्पादन गर्दै आएको थियो । शालिजाको उद्योगमा करीब ५० लाख लगानी भइसकेको छ ।
युवाको विदेश पलायन र केहीले पेशा परिवर्तन गरेकाले पनि कागज उत्पादन गर्न नसकिएको स्थानीय उद्यमी देवीकला गर्बुजाले बताइन् । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले नेपाली कागजको माग उच्च भएर पनि उत्पादन बन्द हुनु दु:खद भएको बताए । लोक्तामार्फत उत्पादन हुने हाते कागजको प्रयोग घटेकाले पनि यस्ता उद्योग संकटमा परेका छन् । सरकारी कार्यालयमा हाते कागजको अनिवार्य प्रयोग हुँदा यस्ता उद्योगको आम्दानी राम्रो थियो ।