ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विवादित पेन्टिङले नेपालबाट ‘खेदिएका’ चित्रकार, जसका पेन्टिङ बेलायतमा लाखौंमा बेचिँदैछन्

२०७९ फागुन, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

काठमाडौं । साहित्यकार भूपिन खड्काले एउटा उपन्यास लेखेका छन्– ‘मैदारो’ । त्यसमा एउटा चित्रकार पात्र छन् । त्यही पात्रका वास्तविक पात्र हुन् मनिष हरिजन ।

नेपालमा कन्टेम्पोररी आर्ट गर्ने कलाकार कमै छन् । त्यसमा पनि सामाजिक चेत, कलाकारितामा विद्रोही चेतना र वास्तविकतालाई कलामा उतार्दै समाजको विकृति विसंगतिमा कलाबाट प्रश्न गर्ने कलाकार हुन् मनिष । तर, कलाकै कारण उनले ज्यान मार्ने धम्की मात्रै पाएनन्, देशै छोड्न बाध्य भए । उनको कलालाई बेलायत सरकारले चिन्यो र किन्यो पनि । बाले बुनेको डोकोमा कला देख्ने उनको कला अहिले बेलायतको प्रसिद्ध युनिभर्सिटीमा सजिएका छन् । उनले कोरेका चित्र लाखौं रुपैयाँमा विक्री भइरहेका छन् । 

बुवाले डोको बुन्दा टुसाएको कला 

बागलुङको बलेवामा जन्मिएका मनिषका बुवा एक किसान हुन् । बुवाले ग्रामीण जीवनमा स्थानीय आवश्यकताका सामग्री डोको, डालो, नाङ्लो बुन्ने काम गर्थे । स्कुल तहदेखि नै खेलकुद, लेखन तथा चित्रकला र मूर्तिकलामा रूचि भएका मनिष बुवाले बुन्दै गरेको डोकोमा कला देखे र आफूले पनि डोको, नाङ्लो, डालो जस्ता घरेलु सामग्री बनाए । ‘हाम्रै ठाउँ परिवेश अनुसारका समानबाटै सिकेको हुँ । मैले बाले बुनेको डोकोमा पनि कला देखे,’ उनी भन्छन् । 

खेलकुदसँगै  लेखन कलामा पनि उनी उत्कृष्ट थिए, गाउँमा हुने हरेक कार्यक्रममा भित्तेलेखन गर्नु परे उनकै खोजी हुन्थ्यो । 

माटोको मूर्ति माटोकै रङ 

आफ्नो आर्थिक अवस्थाका कारण जिल्लास्तरीय चित्रकला प्रतियोगितामा सहभागी हुन नपाएको याद ताजै छ उनलाई । ‘हाम्रो गाउँमा कालिमाटी पनि पाउँछ । स्कुल पढ्दै गर्दा कालिमाटीबाट विभिन्न प्रकारका मूर्ति बनाउथें । स्कुलमा पनि समस्या थियो । रङको समस्या हुने  गर्थ्यो, पहाडी भूभाग भएकाले रातो, कालो, पहेंलो, कमेरो जस्ता माटोले रङ पोतेको छु,’ उनी भन्छन्, ‘त्यस्ता मूर्तिकला विद्यालयको कार्यालयमा राख्ने गरेको थिएँ । अहिले पनि विद्यालयले जतनले राखेको देख्दा खुसी लाग्छ ।’ 

यसरी शुरू भयो कला यात्रा 

तर त्यसरी गरेको कामले क्षमता विकास नहुने देखेर एसएलसी दिएपछि घर सल्लाह गरेर काठमाडौंको भोटाहिटीमा रहेको ललितकला क्याम्पसमा अध्ययन गरे उनले । न्यून आय भएको कथित दलित समुदायमा जन्मेर हुर्केका उनको रुचिलाई बुझेका दाजुले उनलाई सहयोग पनि गरे । 

उनले काठमाडौं विश्वविद्यालयबाट आर्ट एण्ड डिजाइन अध्ययन गरेका छन् । चित्रकला र फोटोमा मात्रै काम गर्दै आएका उनले सोही युनिभर्सिटी चार वर्षे फाइन आर्ट कोर्स गरे । त्यसपछि शुरू भएको हो उनको व्यावसायिक कला यात्रा । 

कुरीति र विभेदविरुद्ध कलाबाटै विद्रोह, कलामै चेत

उनले भरेका कलामा सामाजिक कुरीति विरुद्धको चेत देख्न पाइन्छ । कलाबाटै सामाजिक विभेदको बारेमा विद्रोही चेत भर्ने उनले चित्रमा कुटो, कोदालो जस्ता बिम्ब राखेर सामाजिक व्यवस्थामाथि प्रश्न चिह्न राखेका छन् । उनले विभिन्न आर्ट ग्यालरीमा आफ्नो कलामार्फत ती विद्रोही चेतको उजागर गर्दै आएका छन् । 

‘हामी जुन परिवेशमा हुर्किन्छौं, हाम्रो कला चेत र शीप त्यहीबाट शुरू हुने हो, मलाई हाम्रै परिवेशका सामाजिक, राजनीतिक, आर्थिक तथा रीतिथितिका विभेदमाथि कलामार्फत प्रश्न गर्न शुरू गरेको हुँ,’ उनी भन्छन् । 

उनका कलामा जातीय तथा असमानता विभेदको विरोध छल्किन्छ । ‘म हलो जोत्ने समुदायमा जन्मेर हलो जोतेरै हुर्केको मान्छे हो । १२ वर्षको उमेरबाट गाउँमा हलो जोत्न शुरू गरेको हुँ । जात, पेशा र धर्ममा गरिएको व्याख्याले विभाजन गरेको विषय राम्ररी देखेभोगेको छु र त्यसलाई नै कलामा देखाउने गरेको छु,’ उनले अभियानसँग भने ।

कलाकै कारण ज्यान मार्ने धम्कीदेखि पलायनसम्म 

सन् २०१२ को सेप्टेम्बरमा विश्व हिन्दू महासंघका सदस्यहरूले नेपालको सिद्धार्थ आर्ट ग्यालरीमा आक्रमण गरे, उनलाई ज्यान मार्ने धम्कीसमेत दिए । उनीहरूको योजना थियो– युवा चित्रकार मनिषको प्रदर्शनी ‘द राइज अफ द कोलेटरल’ लाई बिथोल्ने । 

उनले बनाएका चित्रहरू, जसमा सिंगो समाज र त्यसमा रहेका विकृतिहरू अटेका थिए । उनले विभिन्न धर्मका भगवानहरू सुपरहिरोमा फ्युजन गरेर समसामयिक अवतारमा प्रस्तुत गरेका थिए । क्याप्टेन अमेरिकासँग भैरवको लडाईं र बुद्धसँग घोस्ट राइडर जस्ता चरित्रको समसामयिक तुलना थियो । नेपालका धर्मवादीहरूको रिस भने शक्ति र क्रोधकी प्रतीक मानिएकी देवी कालीको चित्रप्रति थियो । जसमा मनिषले कालिमातालाई मिनिस्कटमा प्रस्तुत गरेका थिए । आधुनिक समाजमा महिला र महिला शक्ति देखाउनु उनको कलाको उद्देश्य थियो । तर, नेपाली समाजले ‘कन्टेम्पोररी आर्ट’लाई नबुझेको उनको गुनासो छ ।  

प्रहरीले ग्यालरी बन्द गर्याे । र, मनिषलाई जिल्ला प्रशासन कार्यालयमा केरकार गरियो र माफी माग्न लगाइयो । युनेस्कोले कलाकारको अभिव्यक्ति स्तन्त्रताको हनन् भन्दै विज्ञप्ति जारी गर्दा नेपालका अधिकांश ठूला कलाकार भने मौन बसे । यी तीता अनुभव छन् कलाकार मनिषसँग । 

राजनीति नै राजनीति भएको नेपालमा यस्ता कलाको गहनता नचिनिएको उनको गुनासो छ । यहाँ कलाकार बन्न पनि कुन राजनीतिक दलको वा कुन वर्ण र समुदायको भन्दै कित्ता छुट्याउने गरिएको छ । सन् २००६ मा राजतन्त्रको अन्त्य भएयता धार्मिक चरमपन्थको शिकार भएका पहिलो नेपाली कलाकार उनी । ‘म कुनै धर्मको पक्षपाती वा विरोधी होइन । तर, धर्मको नाममा गरिएको समाज विभाजन भने स्वीकार्य छैन,’ उनी भन्छन् । 

बेलायतमा आर्ट स्टुडियो 

नेपालमा उनको विद्रोही चेत मिश्रित कलाको उचित मूल्यांकन नभए पनि उनले रङ भरेका चित्रहरू बेलायत सरकारले भने खरिद गरेको छ । सन् २०१२ को घटनाले गर्दा मनिषले शेफिल्ड हलम विश्वविद्यालय एमएफएमा आफ्नो अध्ययनलाई अगाडि बढाउन नेपाल छोडेर बेलायत गए, जहाँ उनले ‘डियान विलकक्स लाइफलङ लर्निङ’ अवार्ड जितेका थिए । 

उनको काम सिकेयू कोपेनहेगन (२०१३) मा समूह प्रदर्शनीमा समावेश गरिएको थियो । रोसेल ग्यालेरी लन्डन (२०१३), भारत कला मेला, नयाँ दिल्ली (२०१६), बेल्ट म्यूजियम, भियाना (२०१९) र संचार संग्रहालय, हेग (२०१९) मा उनका चित्र प्रदर्शनी भएका छन् । 

उच्च अध्ययनको लागि बेलायत पुगेका उनले सेफल्ड हालडमा आफ्नै आर्ट स्टुडियो चलाइरहेका छन् । यो पेशामा लागेर जीविका सम्भव छ भन्ने अभियानको प्रश्नमा उनले प्रतिबद्धता भए सम्भव हुने बताउँछन् । हाल उनले डिजाइन तथा रङ भरेका कलाकृतिको सामान्यतया १२–१५ लाख रुपैयाँसम्ममा विक्री हुने गरेको उनी बताउँछन् । 

‘कलाको मूल्य यति भन्ने हुँदैन । कतिपय कला अमूल्य हुन्छन् । तपाईं–हामीले बेला बेला सुनेकै कुरा हो– करोडौं डलरमा यस्ता कला विक्री भए भन्ने त । तर, सबैको त्यही त हुँदैन नि । तर, कला चिन्ने मान्छेका लागि मूल्यले अर्थ राख्दैन । कला आफैमा अमूल्य छ,’ उनले भने । 

उनी यस्ता कला भर्न विश्वका कयौं देश पुगेका छन् । छिमेकी राष्ट्र भारतसहित इन्डोनेसिया, भियाना, अष्ट्रिया, बेलायत (लण्डन), नेदरल्याण्डजस्ता देशमा आफ्नो कला देखाएका छन् । जहाँ पुगे पनि आफ्नो कलामा नेपालीत्व प्रदर्शन गर्न भने छुटाउँदैनन् उनी । 
नेपाल एसियाका दुई ठुल्ठूला राष्ट्र भारत र चीनबीच जोडिएको भूपरिवेष्ठित राष्ट्र हो । भूगोल, गरिबी र शासक वर्गको भूमिकाका कारण यो लामो समयदेखि व्यापक विश्वबाट अलग्गिएको छ । कला यसबाट अछुतो रहन सकेको छैन । नेपालमा समसामयिक कलालाई मुख्यरूपमा बेवास्ता गरिएको उनको बुझाइ छ । 

समकालीन कला, हाम्रो समयको बारेमा प्रश्न सोध्ने कलाको अर्थमा लिइन्छ । उनले पनि त्यही गरे आफ्नो कलामा । तर, समसामयिक कला र यसले खेल्न सक्ने भूमिकाबारे सरकार र आम जनताको चासो र बुझाइ पनि कम भएको देखिन्छ । वर्षाैंको पितृसत्तात्मक राजतन्त्र, बहिष्करणीय जातीय राजनीति, एक्लोपन, द्वन्द्व र शक्तिशाली छिमेकीहरूको निरन्तर प्रभावबीच आफ्नो पहिचान खोज्ने कला भनेको समसामयिक कला नै भएको उनको बुझाइ छ । 

तर, बाउ, बाजेदेखि मान्दै आएको र गर्दै आएको कलामा किन फरक देखाउन पर्याे ? किन परिवर्तन गर्न पर्याे ? जे मान्दै आएको छ, त्यही ठिक छ भन्ने प्रश्न पनि उनलाई आइरहन्छन् । तर, उनी रोकिएनन् । नेपालमा कला देखाउन नदिइए पनि उनी विदेशी भूमिमा कला देखाइरहेका छन् । ‘जहाँ जुन कुरा बुझिन्छ, महत्त्व थाहा हुन्छ, त्यही पुग्नुपर्ने रहेछ । देशमै यस्तो कला बूझाउन सकेको भए आज मजस्ता हजारौं कलाकार स्वदेशमै हुने थिए । नेपालमा कन्टेम्पोररी आर्टका लागि धेरै विषयवस्तु रहेका छन्, जुन हामीले उल्लेख गरेरै सकिदैन,’ उनी भन्छन् । 

‘१७ सय सताब्दिमा कुँदिएका मूर्ति र हाल कुँदिएका मूर्तिको स्वरूप त बदलिँदै गएको छ । कला त समाजको प्रस्तुतिको माध्यम हो, जस्तो छ त्यस्तै देखाउँछ, जस्तो बोलिले बताउँछ त्यस्तै त हो,’ उनी भन्छन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)