ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो त्रैमासको आर्थिक वृद्धिदर ०.८ प्रतिशत मात्र

२०७९ फागुन, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । आर्थिक क्रियाकलापमा कमी आएसँगै मुलुकको आर्थिक वृद्धिदर कोभिड–१९ महामारी अवधिको भन्दा पनि तल ओर्लेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ३ महीनामा अर्थतन्त्रको आकार (कुल गार्हस्थ्य उत्पादन–जीडीपी) शून्य दशमलव ८ प्रतिशत बढेको छ । गत आव २०७८/७९ को पहिलो त्रैमासको आर्थिक वृद्धिदर ३ प्रतिशत थियो । सोही वर्षको दोस्रो त्रैमासमा ६ दशमलव ९, तेस्रोमा २ दशमलव ९ र चौथो त्रैमासमा ९ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आँकडाले देखाएको छ ।

आव २०७७/७८ मा कोभिड–१९ महामारीको प्रभाव तीव्र थियो । उक्त वर्षको पहिलो त्रैमासमा समेत आर्थिक वृद्धिदर शून्य दशमलव ९ प्रतिशत थियो । चालू आवको पहिलो त्रैमासको आर्थिक वृद्धिदर महामारीको वर्षभन्दा पनि तल ओर्लेको हो । चालू आवको शुरुआतदेखि नै सबै क्षेत्र प्रभावित भएका छन् । तथ्यांक कार्यालयको विवरणअनुसार साउन–असोजको त्रैमासमा आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा न्यून रहनुले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ । सरकारले महत्त्वाकांक्षी लक्ष्य राख्ने तर कार्यशैली सुस्त बनाउँदै लैजाँदा अर्थतन्त्र झन् संकटमा फस्दै गएको तथ्यहरूले देखाएका छन् । चालू आवको बजेटमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको थियो । तर, बजेट संशोधन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त लक्ष्य प्राप्त गर्न नसकिने बताइसकेका छन् । आयातमा गरिएको कडाइले राजस्व संकलनमा समेत कमी आएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यस वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी खानी तथा खनिज क्षेत्रको उत्पादन खस्किएको देखिएको छ । पहिलो त्रैमासमा खानी र खनिज क्षेत्रको उत्पादन २९ दशमलव २ प्रतिशतले घटेको छ । गतवर्षको यही अवधिमा यो क्षेत्र २४ प्रतिशतले बढेको थियो । खासगरी, निर्माण सामग्री सिमेन्टको मागमा अत्यधिक कमीका कारण यो क्षेत्र ओरालो लागेको हो । देशमा निर्माण गतिविधि सुस्ताएका कारण सिमेन्ट, डन्डीलगायत निर्माण सामग्रीको माग घटेको छ । सार्वजनिक निर्माणमा कमी र निजी घर निर्माणको गति पनि सुस्त भएकाले यस्ता सामग्रीको खपत घटेको हो । तथ्यांकले निर्माण क्षेत्र २४ प्रतिशतले घटेको देखाएको छ । गतवर्षको यही अवधिमा निर्माण क्षेत्र १८ प्रतिशतले बढेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)