काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महीनामा तयारी पोशाकको निर्यात बढेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार यस अवधिमा तयारी पोशाकको निकासी अघिल्लो वर्षको तुलनामा ५१ करोड रुपैयाँले बढेको हो ।
गत आव २०७८/७९ को साउनदेखि माघसम्ममा नेपालबाट ४ अर्ब ३० करोड रुपैयाँको ६८ लाख ८० हजार थान तयारी पोशाक निर्यात भएको थियो । चालू आवको सोही अवधिमा तयारी पोशाकको निर्यात मूल्य बढेर ४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा ७५ लाख ८२ हजार थान पोशाक निर्यात भएको छ ।
नेपालमा उत्पादन हुने तयारी पोशाकको बढी हिस्सा संसारका १२ देशमा निर्यात भएको तथ्यांकले देखाएको छ । यो वर्षको ७ महीनामा अमेरिकामा १ अर्ब ९ करोड, बेलायतमा ७९ करोड, जर्मनीमा ५२ करोड, फ्रान्समा ३२ करोड र जापानमा ३१ करोड रुपैयाँको पोशाक निकासी भएको छ ।
त्यस्तै नेदरल्यान्डमा २४ करोड, इटालीमा १८ करोड, अस्ट्रेलियामा १७ करोड, क्यानडामा १५ करोड, भारतमा १३ करोड रुपैयाँको निकासी भएको छ । डेनमार्क र अस्ट्रियामा भने क्रमशः १३ करोड र १० करोड रुपैयाँको तयारी पोशाक निर्यात भएको छ । यी बाहेकका अन्य देशमा ६९ करोडको नेपाली तयारी पोशाक निर्यात भएको देखिन्छ ।
तयारी पोशाकको निर्यात बढे पनि अवस्था सन्तोषजनक नभएको नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डे बताउँछन् । ‘हामीले निर्यात अझै बढाउनुपर्थ्यो, त्यो हुन सकेको छैन । निर्यात बढाउन सरकारले यो क्षेत्रमा धेरै काम गर्न बाँकी छ । मूल कुरा त राज्यका अंगहरू निर्यातमैत्री हुनुपर्छ,’ उनले भने ।
अध्यक्ष पाण्डेका अनुसार ब्याजदर महँगो छ । कच्चा पर्दाथको भाउ बढेर गएको छ, कामदार पलायन भइरहेका छन् । समग्रमा काम गर्ने वातावरण छैन ।
तयारी पोशाक व्यवसायीहरूले संसारभर एउटै तरीकाले हेरिने टेक्सटाइल र गार्मेन्टलाई नेपालमा फरकफरक तरीकाले हेरिएको गुनासो गरेका छन् । सरकारले टेक्सटाइललाई दिने गरेका सबै सुविधा गार्मेन्टलाई नदिएको उनीहरूको भनाइ छ ।
नेपाल तयारी पोशाक संघका महासचिव भीम गिरी सरकारले व्यवसायीलाई थप सहुलियत दिनुका साथै समन्वय र सहयोग पनि बढाउनुपर्ने बताउँछन् ।
‘व्यवसायीहरूलाई अहिले पुनर्कर्जाको आवश्यकता छ । कोरोनाको ठीक पछि अलिकति प्राप्त भएको थियो । त्यसपछि हुन सकेको छैन । सरकारले यसको व्यवस्था गर्नुपर्छ । त्यस्तै स्वदेशमै धागो उत्पादनको प्रबन्ध पनि सरकारले गर्न जरुरी छ,’ उनले भने ।
बा≈य बजारबाट नेपाली तयारी पोशाकप्रति राम्रो रेस्पोन्स र बढी अर्डर आइरहेकाले उद्योगको संख्या वृद्धि पनि आवश्यक रहेको महासचिव गिरीको भनाइ छ । उनका अनुसार यसमा सरकार र निजीक्षेत्र मिलेर अगाडि बढ्नुपर्छ ।