काठमाडौं । नेपाल बाट धेरै निर्यात हुने वस्तु मध्यको एक हो छुर्पी । भन्सार विभागको तथ्याकं हेर्ने हो भने पछिल्लो समय नेपाल बाट छुर्पी निर्यात निरन्तर बढिरहेको छ । आर्थिक वर्ष २०७५/७६ पछि निरन्तर रुपमा हरेक वर्ष कम्तिमा १ अर्ब देखि पछिल्लोसमय ३ अर्ब रुपैयाँ हाराहारीसम्मको छुर्पी निर्यात भइरहेको छ ।
हरेक वर्ष निरन्तर उकालो लागिरहेको छुर्पी निर्यातमा अहिले भने दूध अभाव चुनौती बनेको छ । किसानहरूले दूध उत्पादन नबढाउने हो भने छुर्पी उद्योग आफैले गाई पालन गर्नुपर्ने अवस्था आउने व्यवसायीहरू बताउँछन् ।
नेपालले चालू आर्थिक वर्षको ७ महीनामा १ अर्ब ६५ करोड ७५ लाख ४७ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ । उक्त मूल्यको ८ लाख ७३ हजार २८६ किलोग्राम छुर्पी निर्यात गरेको भन्सार विभागले जानकारी दिएको छ । गत वर्षको सोही अवधिमा नेपालले १ अर्ब ४२ करोड ५० लाख ५२ हजार रुपैयाँ बराबरको ८ लाख ८० हजार ६९३ किलोग्राम छुर्पी निर्यात गरेको थियो । अर्थात तुलना अवधिमा नेपालको निर्यात ७ हजार ४०७ किलोले घटेको छ । छुर्पी उद्योगले पर्याप्त दूध नपाउनु नै निर्यात घट्नुको मुख्य कारण भएको व्यवसायीहरू बताउँछन् ।
गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सोही अवधिमा छुर्पीको निर्यात परिमाण ० दशमलव ८४ प्रतिशतले घटेपनि रकम भने १६ प्रतिशतले बढेको छ । नेपाली रुपैयाँ भन्दा डलर बलियो भएपछि निर्यातको परिमाण घटेपनि मूल्य बढेको निर्यात परिषद्का अध्यक्ष रेशम पोख्रेल बताउँछन् ।
अन्तरराष्ट्रिय बजारमा छुर्पीको माग अथाह भएको र अझै धेरै निर्यात गर्न दूध उतपादन बढाउन पर्ने उनले बताए । नेपालले शून्य भन्सारमा छुर्पी निर्यात गर्दै आएको छ । उनले भने, त्यसैले यहाँ खेर जाने दूधलाई छुर्पीको माध्यमबाट बाहिरी मुलुकमा पठाउन सकियो भने यसले किसानदेखि सिंगो राष्ट्रलाई नै अर्थतन्त्रमा सहयोग गर्ने उनले बताए । त्यसकारण यसको निर्यात अझै बढाउन किसानलाई दूध उत्पादनका लागि प्रोत्सहन गरिनु पर्ने उनको भनाइ छ ।
नेपालको छुर्पी विश्वको विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । सबै भन्दा धेरै नेपाली छुर्पी अमेरिका निर्यात हुने गरेको छ । चालू आवको ७ महीनामा १ अर्ब ४१ करोड रुपैयाँ बराबरको ७ लाख १२ हजार ८३१ किलोग्राम छुर्पी निर्यात गरेको छ।
त्यसैगरी दोस्रो धेरै निर्यात हुने देश हो क्यानडा । यो ७ महीनामा मात्रै क्यानेडामा १७ करोड ११ लाख ५६ हजार रुपैयाँ बराबरको ८५ हजार १२४ किलोग्राम छुर्पी निर्यात भएको छ । त्यसैगरी हङकङमा ६३ लाख ९१ हजार रुपैयाँ बराबरको ४२ हजार ३२५ किलोग्राम छुर्पी निर्यात भएको छ । नेपाल बाट छुर्पी विशेष गरी कुकुर र बिरालोको खानाका लागि निर्यात हुने गरेको पोख्रेलले बताए ।
कुन वर्ष कति निर्यात?
छुर्पी निर्यातको तथ्याङ्क हेर्ने हो भने पनि अन्तरराष्ट्रिय बजारमा यसको माग धेरै भएको देखिन्छ । आर्थिक वर्ष ०७४/७५ मा नेपालले ८५ करोड ७९ लाख ३३ हजार रुपैयाँ बराबरको ५ लाख ७६ हजार २६१ किलोग्राम छुर्पी निर्यात गेको थियो । आर्थिक वर्ष ०७५/७६ मा पहिलोपटक अर्ब भन्दा बढी रुपैयाँ बराबरको छुर्पी निर्यात भएको थियो । ०७५/७६ मा १ अर्ब ५ करोड २८ लाख ७६ हजार रुपैयाँ बराबरको ६ लाख ३६ हजार ३४० किलोग्राम छुर्पी निर्यात भएको थियो ।
त्यसैगरी, आर्थिक वर्ष ०७६/७७ मा नेपालले १ अर्ब २२ करोड ८३ लाख ५६ हजार रुपैयाँ बराबरको ७ लाख १७ हजार २६४ किलोग्राम छुर्पी निर्यात गरेको थियो । आर्थिक वर्ष ०७७/७८ मा नेपालले १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँ बराबरको १२ लाख ६२ हजार ९९८ किलोग्राम छुर्पी निर्यात गरेको थियो ।
५ वर्षमा निर्यात भएको छुर्पीको परिमाण (किलोग्राम) र मूल्य (रु. हजार)
आर्थिक वर्ष ०७८/७९ मा आइपुग्दा नेपालको छुर्पी निर्यात पहिलो पटक २ अर्ब रुपैयाँ नाघेको थियो । गत आवमा नेपालले २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको १७ लाख ४४ हजार ४५१ किलोग्राम छुर्पी निर्यात गरेको थियो । विगतको निर्यात वृद्धिदर हेर्दा चालूु आवमा नेपालले कम्तिमा ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात गर्न सक्ने देखिन्छ ।
तर, छुर्पीको माग भएपनि दूध अभावमा नेपाली व्यवसायीले पर्याप्त छुर्पी उत्पादन गर्न नसकेको बताउँछन् ।