ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर भन्सारको राजस्व बढ्यो

२०७९ फागुन, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । विराटनगर र जोगवनीमा रहेको एकीकृत जाँच चौकीबाट चार किलोमीटर दक्षिणपश्चिममा रहेको मीरगञ्जको प्रमाणा नदीमाथि बनेको पक्की पुल सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालयको दैनिक राजस्व संकलन बढेको छ । पुरानो बेलीब्रिज भासिएको १३ महीनापछि भारतीय राष्ट्रिय राजमार्ग जोड्ने ६ लेनको सडकसहित मोटरेबल पुल बनेपछि अहिले दैनिक २ सय हाराहारी मालवाहक सवारी विराटनगर नाका प्रवेश गर्न थालेका छन् ।

पुल सञ्चालनअघि १ सय १६ किलोमीटर घुमेर सुनसरीको भण्टाबारी नाका हुँदै पुनः विराटनगर आईसीपी पुगेर माल जाँचपास गराउनुपर्ने र फेरि भण्टाबारी नाकाबाटै रित्ता मालवाहक साधन फर्काउनुपर्ने बाध्यता थियो । भण्टाबारी नाका प्रयोग हुँदा दैनिक १ सय २० ओटा मात्रै मालवाहक सवारी विराटनगर भन्सारमा जाँचपासका लागि पुग्थे । अहिले उक्त संख्या बढेर २ सय पुगेको छ ।

मीरगञ्जको पुल भासिएपछि विराटनगर भन्सार कार्यालयको राजस्वसमेत प्रभावित भयो । कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र ढकालले पहिले दैनिक ५ देखि ७ करोड रुपैयाँ राजस्व संकलन हुने गरेकोमा मीरगञ्जको पुल सञ्चालन भएपछि दैनिक १० देखि १२ करोडसम्म संकलन भइरहेको बताए ।

ट्रान्स नेपालका विराटनगर प्रमुख लक्ष्मी सुब्बाले मीरगञ्ज पुल सञ्चालनमा आएपछि विराटनगर नाका भएर आउने मालवाहकको संख्यामा केही सुधार आएको बताए । सुब्बाका अनुसार अहिले जोगवनी रेलवेमा र्‍याकबाट सामान आउने त्यो सामान आईसीपी हुँदै नेपाल भित्रिएकाले मालवाहकको संख्या बढेको हो ।

२०२२ जनवरी ११ देखि भारतीय भन्सार विभागले मीरगञ्जको पुल भासिएको कारण देखाउँदै जोगवनी नाकाको साटो सुपौल जिल्लाको भीमनगर नाकाबाट नेपाल प्रवेशका लागि अनुमति दिएको थियो । त्यसपछि नेपालको भन्सार विभागले पनि भण्टाबारी नाकाबाट आयात निर्यातको अनुमति दियो । भारत सरकारले ११ महीनापछि अनौपचारिक रूपमा र त्यसको २ महीनापछि औपचारिक रूपमा पुल सञ्चालन गर्‍यो । मालवाहक सवारी भीमनगर हुँदै १ सय १६ किलोमीटर घुमेर आउँदा व्यवसायीले १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नुपरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)