ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्षेनि बढ्दै छुर्पी निर्यात : दूध अभावले माग धान्न कठिन भएको सम्बद्ध व्यवसायीको गुनासो

२०७९ फागुन, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालबाट धेरै निर्यात हुने वस्तुमध्ये एक हो छुर्पी । भन्सार विभागको तथ्याकंअनुसार पछिल्लो समय नेपालबाट छुर्पीको निर्यात निरन्तर बढिरहेको छ । आर्थिक वर्ष (आव) २०७५/७६ पछि वार्षिक कम्तीमा १ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात भइरहेको छ । गत आवमा यो २ अर्ब रुपैयाँ नाघेको छ ।

नेपालले चालू आवको ७ महीनामा १ अर्ब ६५ करोड ७५ लाख ४७ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ । उक्त मूल्यको ८ लाख ७३ हजार २८६ किलोग्राम छुर्पी निर्यात गरेको भन्सार विभागले जानकारी दिएको छ । गत आवको सोही अवधिमा नेपालबाट १ अर्ब ४२ करोड ५० लाख ५२ हजार रुपैयाँ बराबरको ८ लाख ८० हजार ६९३ किलोग्राम छुर्पी निर्यात भएको थियो ।

गत आवको ७ महीनाको तुलनामा चालू आवको सोही अवधिमा छुर्पीको निर्यात परिमाण शून्य दशमलव ८४ प्रतिशतले घटे पनि रकम भने १६ प्रतिशतले बढेको छ । नेपाली रुपैयाँभन्दा डलर बलियो भएकाले निर्यातको परिमाण घटे पनि मूल्य बढेको नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोख्रेलले बताए ।

हरेक वर्ष उकालो लागिरहेको छुर्पी निर्यातमा दूध अभाव चुनौती बनेको व्यवसायी बताउँछन् । छुर्पी उद्योगले पर्याप्त दूध नपाउनु नै निर्यात परिमाण घट्नुको मुख्य कारण भएको उनीहरूको भनाइ छ । किसानले दूध उत्पादन नबढाउने हो भने छुर्पी उद्योग आफैले गाईपालन गर्नुपर्ने अवस्था आउने व्यवसायीले बताए ।

अन्तरराष्ट्रिय बजारमा छुर्पीको माग उच्च भएकाले निर्यात बढाउन दूध उत्पादन पनि बढाउनुपर्ने परिषद्का अध्यक्ष पोख्रेलले बताए । नेपालले शून्य भन्सार सुविधामा छुर्पी निर्यात गर्दै आएको छ । ‘त्यसैले यसको निर्यात बढाउन सके किसानको जीवनस्तरदेखि सिंगो राष्ट्रकै अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ,’ उनले भने, ‘यसका लागि सरकारले किसानलाई  दूध उत्पादनमा प्रोत्साहन गर्नुपर्छ ।’

नेपालको छुर्पी विश्वका विभिन्न मुलुकमा जाने गरेको छ । नेपालबाट सबैभन्दा धेरै छुर्पी अमेरिका निर्यात भएको तथ्यांकले देखाउँछ । चालू आवको ७ महीनामा १ अर्ब ४१ करोड रुपैयाँ बराबरको ७ लाख १२ हजार ८३१ किलोग्राम छुर्पी अमेरिकामा निर्यात भएको छ ।

नेपाली छुर्पी धेरै निर्यात हुने दोस्रो देश क्यानडा हो । पछिल्लो ७ महीनामा क्यानडामा १७ करोड ११ लाख ५६ हजार रुपैयाँ बराबरको ८५ हजार १२४ किलोग्राम छुर्पी निर्यात भएको छ । त्यसैगरी हङकङमा ६३ लाख ९१ हजार रुपैयाँ बराबरको ४२ हजार ३२५ किलोग्राम छुर्पी निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालबाट निर्यात हुने छुर्पी विशेषगरी कुकुर र बिरालोको खानामा प्रयोग हुने गरेको छ । गत आव २०७८/७९ मा २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको छुर्पी नेपालबाट निर्यात भएको थियो । उक्त अवधिमा १७ लाख ४४ हजार ४५१ किलोग्राम छुर्पी निर्यात भएको हो । विगतको निर्यात वृद्धिदर हेर्दा चालू आवमा नेपालले ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात गर्न सक्ने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)