ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजीक्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना उद्घाटन

२०७९ फागुन, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलवार काठमाडौंमा आयोजित समारोहमा साहस ऊर्जा लिमिटेडद्वारा निर्मित सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजनाको उद्घाटन गर्नुहुँदै । तस्वीर : रासस
author avatar प्रकाश जोशी

काठमाडौं । निजीक्षेत्रको लगानीमा निर्मित नेपालको सबैभन्दा ठूलो सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजनाको मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको छ । सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाँउपालिकामा निर्मित ८६ मेगावाट क्षमताको यो आयोजना मुलुककै तेस्रो ठूलो जलविद्युत् आयोजना पनि हो ।

रन अफ रिभर (आरओआर) प्रकृतिको यो आयोजनामा शुरूमा ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । पछि लागत बढेर १४ अर्ब रुपैयाँ पुगेको बताइएको छ । ठेक्का व्यवस्थापन, प्राविधिक समस्या, कोरोना संक्रमण, निर्माण सामग्रीको मूल्यवृद्धिलगायत कारण आयोजनाको लागत बढेको निर्माण कम्पनीको भनाइ छ । साहस ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनाबाट वार्षिक ५२० दशमलव २० गिगावाट आवर बिजुली उत्पादन हुनेछ । त्यसमध्ये सुक्खायाममा १०० दशमलव २७ गिगावाट आवर र वर्षायाममा ४१९ दशमलव ९३ गिगावाट आवर उत्पादन हुने बताइएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यो आयोजना निर्माणपछि यस क्षेत्रमा रहेका सबैलाई हौसला मिलेको बताउनुभयो । जलविद्युत्का लागि प्राकृतिक रूपमा असीमित स्रोतसाधन रहे पनि विगत निराशाजनक रहेको भन्दै उहाँले २०६२/६३ को राजनीतिक परिवर्तनपछि जलस्रोत विकासले गति लिएको बताउनुभयो ।

आफूले नेतृत्व गरेका सरकारले जलविद्युत् क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै प्रधानमन्त्रीले थप्नुभयो, ‘मैले पहिलो कार्यकालमा १० वर्षमा १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने अवधारणा अगाडि सारेको थिएँ तर राजनीतिक कारणले त्यो पूरा नभए पनि धेरै काम भयो । दोस्रो कार्यकालमा मैले यो क्षेत्रका लागि उचित एवं अनुकूल नेतृत्व (कुलमान घिसिङ) लाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेँ । त्यसपछि भएको लोडशेडिङको अन्त्यले राम्रो नेतृत्व आए धेरै कुरा गर्न सकिन्छ भन्ने सन्देश गयो ।’ तेस्रो कार्यकालमा आफू प्रधानमन्त्री भएपछि नेपाल र भारतबीच समझदारी भई भारतमा थप विद्युत् विक्रीको बाटो खुल्नुको साथै बंगलादेशसम्म विद्युत् निर्यातको लक्ष्य प्राप्तिनजिक पुगेको उहाँले बताउनुभयो ।

अब ग्रीन इनर्जीबाट हाइड्रोजन उत्पादन गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । ‘हाइड्रोजन उत्पादनलाई प्रोत्साहन दिने हो, अब म पनि हाइड्रोजनबाट चल्ने गाडी चढ्ने तयारीमा छु,’ उहाँले भन्नुभयो । निजी र सार्वजनिक क्षेत्रका बीच विश्वास आर्जन गरेर विद्युत् विकासका साथै अर्थतन्त्रलाई गति दिने सरकारको चाहना रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत् उत्पादनमा लागेको निजीक्षेत्रलाई सरकारले संरक्षण एवं संवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए । ‘जलविद्युत् आयोजना निश्चित समयपछि सरकारलाई बुझाउनुपर्ने कानूनी व्यवस्था छ । त्यसैले यसक्षेत्रमा लागेका उद्यमीलाई सरकारले अन्यभन्दा फरक दृष्टिले हेर्नुपर्छ,’ उनले भने, ‘साथै सरकारले जलविद्युत्को उत्पादन तीव्र गतिमा बढाउन एकद्वार प्रणालीको विकास पनि गर्नु जरुरी छ ।’

इप्पान अध्यक्ष आचार्यले अहिले जलविद्युत् खपत कम भइरहेको भन्दै यसलाई बढाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए । उनका अनुसार सरकारले विद्युत् व्यापारको इजाजत दिएको खण्डमा निजीक्षेत्र त्यसका लागि तयार छ । ‘निजीक्षेत्रले विद्युत्को व्यापार गर्न सक्छ,’ उनले भने ।

सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिमप्रसाद पाठकले जलस्रोतको उपयोग नेपालको समृद्धिको आधार भएको बताउँदै आफूहरूले आर्थिक रूपले विषम अवस्थामा पनि आयोजना निर्माण गरेको जानकारी दिए । ‘यसबाट कटिबद्ध भएर सामूहिक रूपमा काम गर्दा सफल भइन्छ भन्ने उदाहरण प्रस्तुत भएको छ,’ अध्यक्ष पाठकले भने ।

कम्पनीका प्रबन्ध निर्देशक सुशील थापाले यो आयोजनाको राष्ट्रिय जलविद्युत्मा ३ दशमलव ५८ प्रतिशत शेयर रहने बताए । यो आयोजनाले चालू आर्थिक वर्षमा कुल राष्ट्रिय उत्पादन (जीडीपी) मा शून्य दशमलव शून्य ३ प्रतिशत र आगामी आर्थिक वर्षदेखि शून्य दशमलव १० प्रतिशत योगदान दिने उनको भनाइ छ । यो आयोजना गत माघ २७ गते राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)