काठमाडौं । सन् २०१८ र २०१९ मा नेपालमा सर्वाधिक पर्यटक आएको देखिन्छ । यी २ वर्षको तुलनामा सन् २०२० मा पर्यटक कम आए पनि पर्यटकको दैनिक खर्च भने फरक देखिएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२० मा कुल २ लाख ३० हजार ८५ पर्यटक नेपालमा आएका थिए । उक्त वर्ष प्रत्येक पर्यटकले दैनिक औसत ६५ अमेरिकी डलर खर्च गरेको पाइएको छ ।
अन्य वर्षमा एकजना पर्यटकले दैनिक औसत ४८ डलरसम्म खर्च गरेको बोर्डको तथ्यांक छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । उक्त वर्ष प्रतिदिन प्रतिपर्यटक औसत खर्च ४८ अमेरिकी डलर रहेको बोर्डको तथ्यांक छ ।
विश्वमा कोरोना महामारी शुरू भएको सन् २०२० मा नेपाल आउने पर्यटकले अन्य वर्षको तुलनामा बढी खर्च गरेका छन् । नेपालमा सन् २०२० को अप्रिलदेखि बन्दाबन्दी शुरू भएको थियो । नेपाल आउने पर्यटकको बसाइ अवधि, खानपानमा खर्च बढी हुँदा संख्या कम हुँदा पनि खर्च बढेको जानकार बताउँछन् । नेपाल पर्यटन बोर्डले सन् २०२२ मा विदेशी पर्यटकले नेपालमा गर्ने प्रतिदिन खर्चको दर १०० अमेरिकी डलर पुगेको हुन सक्ने अनुमान गरेको छ ।
बोर्डका निर्देशक मणिराज लामिछानेले अहिले पर्यटकको खर्च बढेको देखिए पनि कति प्रतिशतको वृद्धि छ भनेर गणना शुरू गरिएको बताए । ‘पर्यटकको खर्च कति बढेको छ भनेर सर्वेक्षण गरिँदै छ,’ लामिछानेले भने, ‘सय डलरभन्दा माथि पुगेको छ भन्ने हाम्रो आकलन हो । यसलाई थप पुष्टि गर्न प्रश्नावली बनाएर नमूना सर्वेक्षणको काम शुरू गरिएको छ ।’ यो सर्वेक्षणमा प्याकेज टुर खरीद गरेर नेपाल आउँदा हुने खर्च, नेपाल आएर प्याकेज किनेको हो कि होटेलमार्फत हो, यातायातमा कति खर्च भयो, आन्तरिक विमानको प्रयोग र खानामा कति खर्च भयो जस्ता प्रश्नावली समेटिएको उनको भनाइ छ ।
यी प्रश्न विमानस्थलमा पर्यटकलाई सोधिनेछ । पर्यटक प्याकेजभन्दा बाहिरका गतिविधिमा पनि संलग्न हुन्छन् । अहिलेको सर्वेक्षणमा प्याकेजबाहेकको खर्च पनि गणना हुने भएकाले खर्चको दर बढ्ने उनको अपेक्षा छ ।
नेपाल राष्ट्र बैंकले अहिले होटेल तथा एकोमोडेशन क्षेत्रबाट हुने विदेशी मुद्रा सटहीका आधारमा प्रतिपर्यटक खर्च निकाल्दै आएको छ । अब भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल राष्ट्र बैंक, तथ्यांक विभाग, बोर्डलगायतमार्फत ‘टुरिजम स्याटलाइट एकाउन्ट’ तयारीका लागि छुट्टै सर्वे गरिने भएको छ । पर्यटकले नेपालका अन्य अनौपचारिक क्षेत्रमा गरेको खर्च पनि समेट्ने गरी काम हुँदै गरेको बताइएको छ ।
ट्रेकिङ रूटतिर दर्ता नभई सञ्चालनमा रहेका ससाना चिया पसलमा पनि पर्यटकले खर्च गर्छन् । ‘त्यो रकम खर्चमा गणना नहुने अवस्था छ,’ उनले भने, ‘अहिले कुन क्षेत्रमा कति खर्च गरेको छ, त्यो डाटाबेसमा आउँदैन । अब हुने सर्वेक्षणमा पर्यटकले खर्च गर्ने स्रोतमै प्रश्न गरेर तथ्यांक संकलन गरिनेछ ।’
बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पछिल्लो समय पर्यटकको खर्च केही बढेको बताए । कोरोना भाइरसपछिको समय पर्यटकको रोजाइमा प्राकृतिक गन्तव्य पर्ने गरेका छन् । पर्यटक संख्या बढ्दा समग्र आम्दानीमा वृद्धि देखिने भए पनि औसतमा प्रतिपर्यटक प्रतिदिन खर्च गर्ने दर भने बढ्छ भन्ने नहुने उनको भनाइ छ । ‘पर्यटकको संख्या बढ्दा कतिपय अवस्थामा खर्च गर्ने औसत रकम घटेको देखिएको छ,’ जोशीले भने, ‘हवाई टिकट महँगो भएर पर्यटकको खर्च बढ्न
नसकेको हो ।’
पूर्वाधार, बढीभन्दा बढी एयरलाइन्स आउन सक्ने र प्रतिस्पर्धा भएमा टिकटमा गर्ने खर्च अन्य गतिविधिमा गर्न सक्छन् । नेपाल आउने पर्यटक प्याकेजमा हुने खर्चमध्ये अधिकांश रकम टिकटमा जाने उनको भनाइ छ । अर्काे अहिलेको प्रतिस्पर्धात्मक अवस्थामा नयाँ गतिविधि, सेवा बढाउन राज्यले पनि ध्यान दिए खर्च बढाउन सकिने उनको सुझाव छ । ‘नेपाल सस्तो गन्तव्य त होइन,’ उनले भने, ‘राष्ट्रिय निकुञ्ज, आरक्ष र म्युजियमहरू सस्तोमा पर्दैनन् । तर, पर्यटकले खर्च गर्ने अन्य क्षेत्रहरू गन्तव्य, गाइड, होटेल, रेस्टुराँमा गर्ने खर्च कम नै छ ।’
अहिले टुरिजम स्याटलाइट अकाउन्ट शुरू हुँदै छ । यसले यकीन खर्च देखाउनेछ । नेपाल आउने पर्यटकले गर्ने सबै खर्च एकीकृत रूपमा गणना हुने संयन्त्र नहुँदा खर्च कम देखिएको उनको बुझाइ छ । नेपालमा पर्यटन व्यवसाय शुरू भएको लामो समय भए पनि यस्तो संयन्त्र बन्न सकेको छैन ।
लामो समय लाग्ने र खर्चिलो हुने भएकाले पनि यस्तो संयन्त्र विकासमा समस्या भएको बताइन्छ । डलर सटही सेवा लिएका होटेल, ट्राभल तथा टुर, ट्रेेकिङ कम्पनी र त्यहीँबाट आएको आम्दानीलाई कुल पर्यटक संख्याले भाग गरेर प्रतिदिन प्रतिपर्यटकले गर्ने औसत खर्च निकाल्ने गरिएको छ । यसमा पर्यटकहरू नाम्चे, जोमसोम, तराईको बर्दिया, होमस्टेजस्तामा बसेर गरेको खर्च गणना भएको हुँदैन ।
होटेल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले नेपालले खर्चालु पर्यटक भित्र्याउनै नसकेको बताए । नेपालमा अहिले पनि भारतीय पर्यटक नै बढी आउने गरेको भन्दै उनले थपे, ‘अहिले पर्यटक आगमनमा सुधार देखिए पनि उनीहरूले गर्ने खर्चमा त्यत्ति फरक आएको छैन ।’ काठमाडौंमा आइपुगेको पर्यटकले खर्च गर्ने गतिविधि पनि बढाउन सक्नुपर्ने भन्दै उनले उदाहरण दिए, ‘जस्तै, चन्द्रागिरि केबलकार तथा रेस्टुराँको विकास भएपछि पर्यटकको बसाइ अवधि आधा दिन र खर्च पनि बढेको छ ।’
खर्च गराउन सक्ने गतिविधि नेपालले कति विकास र विस्तार गर्छ भन्नेमा पर्यटकको खर्च निर्भर हुने उनले बताए । खर्च गर्ने गतिविधि बढाउनुपर्छ । गल्फ पर्यटन, परिकार पर्यटन (नेपाली खानामात्रै प्रवर्द्धन गर्ने) प्रवर्द्धन गर्दै धेरै खर्च गर्ने पर्यटक ल्याउनुपर्ने र त्यसका लागि विमानस्थल, सडकजस्ता भौतिक क्षेत्रका साथै पर्यटक बोक्ने सवारीमा सुधार गर्नुपर्ने बताए ।