ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

८ महीनामा श्रम स्वीकृति लिने ५ लाख नाघे, गत वर्षभन्दा ३३ प्रतिशतले बढी

२०७९ चैत, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । पछिल्लो ८ महीनामा वैदैशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या ५ लाख नाघेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म वैदेशिक रोजगारीका लागि ५ लाख ४० हजार ६७५ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या गत वर्षको सोही अवधिभन्दा ३३ प्रतिशत बढी हो । गत वर्षको उक्त अवधिमा ४ लाख ४ हजार ९६३ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

गत आर्थिक वर्षमा भने ६ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएका थिए । चालू आर्थिक वर्षमा यो संख्या बढ्ने विभागको अनुमान छ । विभागका महानिर्देशक उमाकान्त आचार्यले चालू आवमा ७ देखि ८ लाखले श्रम स्वीकृति लिने अनुमान गरे ।

उनले कोभिड माहामारीपछि वैदेशिक रोजगारी जानेको ट्रेन्ड बढ्दो भएको जानकारी दिए । ‘मलेसियाले श्रमीकको तलब बढाएकाले पनि यो संख्या बढेको हो । साथै कोभिडका बेलामा बन्द भएका कारखाना, उधोगहरू सबै खुलेकोले गर्दा श्रमिकको माग धेरै छ,' उनले भने । उनले नेपालमा रोजगारीको सृजना हुन नसकेकाले गर्दा पनि नेपालीहरू विदेशिएको बताए ।   

श्रम स्वीकृति लिने मलेशियाका धेरै

विभागका अनुसार पछिल्लो ८ महीनामा मलेशिया जानका लागि सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । मलेशियन सरकारले नेपाली कामदारको सेवा सुविधा बढाएकाले मलेशिया जाने नेपालीको माग बढेको आचार्यले बताए ।

मलेसियाका लागि फागुनमा मात्रै १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसपछि कतार जानका लागि श्रम स्वीकृति लिने धेरै छन् । कतार जानका लागि ११ हजार ३०३ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

युएई जानका लागि ९ हजार ७९५ जना र साउदी अरब जानका लागि ९ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् ।

आचार्यका अनुसार पछिल्लो समय युरोपियन देशहरू माल्टा, टर्की, रोमनिया, क्रोएसिया लगायतका देशहरू जानका लागि श्रम स्वीकृति लिनेहरू बढेका छन् । ‘पहिला पहिला युरोपियन देशहरू रोजगारीमा जाने खुलेका थिएनन् भने अहिले यस्ता देशहरूले वैदेशिक रोजगारी खुलाएका छन् । यस्ता देशहरूको माग भने कम हुन्छन् ।'

फागुन महीनामा मात्रै रोमनिया जानका लागि १ हजार ७०, क्रोएसिया जानका लागि ५५७, टर्की जानका लागि २१ र माल्टा जानका लागि २८२ जनाले श्रम स्वीकृति लिएका छन् । 

कुन महीनामा कतिले लिए ?

चालू आर्थिक वर्षको साउनमा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसैगरी, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मंसिरमा ६८ हजार ५६४, पुसमा ६५ हजार ४६४, माघमा ६४ हजार २८४ र फागुनमा ६१ हजार जनाले श्रम स्वीकृति लिएका छन् ।

गत वर्षको साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७० र फागुनमा ५३ हजार ४५७ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)