ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक वर्षभित्रै कोशीमा विद्युतीय गाडी उत्पादन हुने, कोशी एनके मोटर्स र कोरियाको एसडीकेले गरे सम्झौता

२०७९ चैत, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
नेपालमा विद्युतीय गाडी उत्पादन गर्ने उद्योग खोल्ने सम्झौतापत्र आदानप्रदान गर्दै कोरियाको एसडीके मोटर्सका कार्यकारी अध्यक्ष डेइकी जङ (बायाँ) र एनके मोटर्स प्रालिका अध्यक्ष टीकाराम पुरी ।
author avatar वेदराज पौडेल

विराटनगर । कोशी प्रदेशमा १ वर्षभित्रै विद्युतीय गाडी उत्पादन शुरू हुने भएको छ । नेपाली र कोरियाली व्यवसायीको तीन सय करोड रुपैयाँ लगानी रहने उद्योगले १ वर्षभित्र विद्युतीय स्कूल बस उत्पादन गर्ने लक्ष्यसहित काम अघि बढाएको छ ।

उद्योग स्थापनाका लागि जग्गा खोज्ने र उद्योग मन्त्रालयसँग स्वीकृति लिने प्रक्रिया अघि बढेको छ । फागुन १२ गते कोरियाको सोलमा कोशी एनके मोटर्स प्रालि र कोरियाको एसडीके मोटर्सबीच नेपालमा विद्युतीय गाडी उद्योग स्थापना गर्ने सम्झौता भएको थियो । सम्झौतापत्रमा एनके मोटर्सका अध्यक्ष टीकाराम पुरी र कोरियाली कम्पनीका कार्यकारी अध्यक्ष डेइकी जङले हस्ताक्षर गरेका थिए ।

पहिलो चरणमा २२ सीटे अत्याधुनिक स्कूलबस उत्पादन गर्ने तयारी रहेको कोशी एनके मोटर्स प्रालिका अध्यक्ष पुरीले जानकारी दिए । मागको आधारमा शुरूमा करीब ५ सय थान विद्युतीय स्कूलबस उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । कम्पनीले स्कूलबसका साथै पब्लिक बस, माइक्रो बस र विद्युतीय कारसमेत उत्पादन गर्ने पुरीले बताए ।

कम्पनीले उत्पादन गर्ने विद्युतीय गाडी डिजेल, पेट्रोलबाट चल्नेभन्दा ३० प्रतिशत सस्तो पर्ने उनको भनाइ छ । यस्ता गाडीको तुलनामा विद्युतीय गाडीको सञ्चालन खर्च निकै कम पर्ने बताइन्छ ।

एनके मोटर्सका प्रबन्ध निर्देशक टीआर ढकालले सम्झौताअनुसार करीब ३ अर्ब रुपैयाँको संयुक्त लगानीमा कोरियाली प्रविधिमा आधारित विद्युतीय सवारीसाधन उत्पादन गरिने बताए । ‘त्यसका लागि सुनसरी र मोरङमध्ये कुनै एक जिल्लामा प्लान्ट राख्ने गरी जग्गा खोज्ने काम भइरहेको छ,’ ढकालले भने, ‘तत्काललाई तीन बिगाहा र पछि विस्तार गर्दा १० बिगाहा क्षेत्रफल उद्योगका लागि आवश्यक पर्छ ।’ उद्योगमा १ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ ।

अध्यक्ष पुरीले नेपालमा उत्पादित सवारीसाधन भारत, बंगलादेश र भुटानमा समेत विक्री गर्ने लक्ष्य राखिएको बताए । नेपालबाट इन्धन आयातमा अर्बौं रुपैयाँ विदेशिइरहेको, मुलुक विद्युत्मा आत्मनिर्भर हुँदै गएको, विद्युतीय सवारीसाधन सस्तो, वातावरणमैत्री एवं स्वदेशी विद्युत् खपत हुने भएकाले उद्योग खोल्ने सोच आएको उनको भनाइ छ । उनले आफू प्याब्सनको केन्द्रीय अध्यक्ष हुँदा नै कोरियाबाट गाडी उत्पादन गर्ने विषयमा प्रस्ताव आएको तर बीचमा कोरोनाको कारण २ वर्ष कुनै काम गर्न नसकिएकाले यसपालि कोरियाली कम्पनीको निम्तामा सोल पुगेको उनले बताए ।

यही मार्चमा कोरियाली कम्पनीका प्राविधिक आएर उद्योग राख्ने स्थान छनोट गरेपछि अन्य प्रक्रिया अघि बढ्ने पुरीले जानकारी दिए । कोशी प्रदेशले नै गौरव गर्ने खालको योजना भएकाले प्रदेश सरकार र संघीय सरकारको समेत सहयोग रहने अपेक्षा गरेको उनले बताए ।

चेसिस, ब्याट्री र मोटर कोरियाबाटै ल्याएर यहाँ बडी स्ट्रक्चर निर्माण गरी गाडी तयार गर्ने सम्झौता भएको छ । कोरियाबाट सामान ल्याए पनि गाडीमा ‘मेड इन नेपाल’ लेखिने पुरीले बताए । बंगलादेशले नेपालको बिजुली लगेर औद्योगिकीकरण गर्ने योजना बनाएको, भारतले विद्युत् अभाव रहेका औद्योगिक क्षेत्रमा यहीँबाट बिजुली लगिरहेको अवस्थामा नेपालले संसारकै सस्तो बिजुली उत्पादन गरेर विश्वभरका ठूला उद्योगलाई नेपालमा आकर्षित गर्नुपर्ने पुरीको सुझाव छ ।

पुरीले शुरूका दिनमा कम्पनी प्रालि भए पनि विस्तारै पब्लिक लिमिटेडमा रूपान्तरण गरिने बताए । नेपालकै महत्त्वपूर्ण उद्योग हुने भएकाले यसमा आम जनताको समेत लगानी हुनुपर्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)