ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अचम्मैसँग बढ्यो नेपालमा आईफोनको बजार, डेढ लाखदेखि ३ लाखसम्मका फोन अत्यधिक विक्री

२०७९ चैत, ७  
समाचार प्रविधि उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपालमा आईफोनको बजार दोब्बरले बढेको छ । 

सरकारले महँगा फोनको आयातमा प्रतिबन्ध लगाएकै समयमा नेपालमा आईफोनको बजार बढेको पाइएको छ । नेपालमा महँगा मोबाइलको आयात रोकिएको भए पनि महँगो ब्राण्ड मानिएको एप्पलको बजार १ वर्षमा ६ प्रतिशतले बढेको विश्वव्यापी मोबाइल विक्रीको तथ्याङ्क राख्ने स्टार्टकाउन्टरडटकमले उल्लेख गरेको छ ।

गत वर्ष मार्चमा ६ दशमलव ३९ प्रतिशत मात्रै रहेको एप्पलको बजार हिस्सा पछिल्लो १ वर्षमा करीब दोब्बरले बढेर १२ प्रतिशत हाराहारी पुगेको हो ।

गत मे महीनामा एप्पलको बजार हिस्सा ६ दशमलव ८८ प्रतिशत मात्रै थियो । तर, त्यसपछि नेपाली बजारमा एप्पलले शानदार हिस्सा ओगटेको छ । पछिल्लो ९ महीनामा मात्रै एप्पलले झण्डै ५ प्रतिशतले बजार हिस्सा बढाएर ११ दशमलव ७७ प्रतिशत पुर्‍याएको छ ।

सरकारले महँगा मोबाइलको आयात प्रतिबन्ध लगाउँदा एप्पलका ६०० डलरभन्दा कम मूल्य भएका मोबाइल फोन नेपाली बजारमा थिएनन् । गत पुसदेखि आयातमा खुला गरेपछि एप्पलको स्मार्टफोन विक्री अझै बढेको छ । पछिल्लो ३ महीनामा मात्रै एप्पलले करीब ३ प्रतिशतले बजार हिस्सा बढाएको छ ।

नेपाली बजारमा ८५ हजारदेखि ३ लाख ५ हजार रुपैयाँसम्मका मोबाइल फोन विक्री गर्ने एप्पलको बजार हिस्सा त्यस्तो समयमा बढेको छ, जतिबेला देशको आर्थिक अवस्था राम्रो छैन । अर्थतन्त्रमा संकुचन आउनुका साथै सरकारले महाँगा फोन, गाडी र मदिराको आयात रोकेकै समयमा एप्पलको बजार निरन्तर उकालो लागेको देखिन्छ । आयात प्रतिबन्ध खुला गरेपछि पनि एप्पलको बजार निरन्तर उकालो लागिरहेको छ । 

आईफोन विक्रेताका अनुसार अहिले नेपालमा आईफोन-१४ को विक्री ह्वात्तै बढेको छ । न्यूनतम १ लाख ५५ हजारदेखि अधिकतम साढे ३ लाख रुपैयाँ हाराहारी मूल्यका आईफोन-१४ सिरिजका फोनको विक्री बढेपछि नेपाली बजारमा यसको हिस्सा १  वर्षमै दोब्बर भएको व्यवसायीहरूले बताएका छन् ।

आयात प्रतिबन्ध नभएको भए नेपालमा एप्पलका फोनको बजार हिस्सा १५ प्रतिशत हाराहारी पुग्ने ती व्यवसायीले दाबी गरे । 

एकपटक आईफोन प्रयोग गरेका प्रयोगकर्ताले नयाँ सिरिजको फोन सार्वजनिक हुनेबित्तिकै त्यसलाई किनिहाल्ने बानी छ । नेपालमा एप्पलको बजार हिस्सा बढे पनि नयाँभन्दा पुराना प्रयोगकर्ताले नै खरीद गरिरहेको व्यवसायीहरू बताउँछन् ।

आयात प्रतिबन्ध लगाएको समयमा एप्पलका स्टक फोनहरूको विक्री बढ्दा बजार हिस्सा बढेको भए आयात प्रतिबन्ध हटिसकेपछि सामसङले आफ्नो बजार हिस्सा फिर्ता लिनुपर्ने थियो । सामसङसँग पनि महँगा फोनहरू ५८ हजारदेखि २ लाख ४५ हजार रुपैयाँसम्मका दर्जन बढी मोडलहरू नेपाली बजारमा छन् ।  तर, सामसङको बजार अहिले पनि निरन्तर ओरालो लागिरहँदा एप्पलले भने दिनप्रतिदिन छलाङ मारिरहेको छ । 

सामसङको बजार हिस्सा अहिले २७ प्रतिशतमा झरेको छ । जुन १ वर्षअघि ३१ प्रतिशत थियो । सामसङको घटेको बजार हिस्सालाई एप्पलले कब्जा गरेको देखिन्छ ।

ट्याबमा पनि एप्पलको छलाङ

गत वर्ष फेब्रुअरीमा २९ दशमलव ४९ प्रतिशत रहेको एप्पलको ट्यालेटको व्यापार १  वर्षमा १७ प्रतिशतले बढेर ४६ दशमलव ५४ प्रतिशत पुगेको छ । सामसङले भने ट्याबमा पनि ठूलो बजार गुमाएको छ । एक वर्षअघि ६४ प्रतिशतभन्दा बढी रहेको सामसङ ट्याबलेटको बजार हिस्सा अहिले ४३ दशमलव ८२ प्रतिशतमा सीमित भएको छ । १  वर्षको अवधिमा सामसङले ट्याबमा पनि २० प्रतिशत बजार हिस्सा गुमाएको छ ।

विश्वव्यापी प्रतिस्पर्धामा पनि एप्पल ट्यावको बजार हिस्सा ५१ दशमलव २६ प्रतिशत छ । १ वर्षअघिको तुलनामा भने यो २ प्रतिशत कम हो । सामसङ ट्याबको विश्वव्यापी बजार हिस्सा ३१ दशमलव २१ प्रतिशत छ । यो गत वर्षको तुलनामा ३ प्रतिशतले बढी हो । मोबाइल फोनमा एप्पलको विश्वव्यापी बजार हिस्सा २७ दशमलव ११ प्रतिशत रहँदा सामसङको २६ दशमलव ७४ प्रतिशत छ ।

भन्सार कार्यलयको तथ्यांक अनुसार गत साउनदेखि माघ महीनासम्म १४ अर्ब ७६ करोड ८३ लाख ५० हजार मूल्यका १० लाख ५ हजार १३५ थान स्मार्टफोन नेपालमा आयात भएका छन् । सरकारले गत पुस १ गतेदेखि आयात खुला गरेयता २ महीनामा मात्रै २ लाख १ हजार स्मार्टफोन आयात भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)