ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करीब १३ प्रतिशतले बढ्यो विराटनगर भन्सारको राजस्व

आन्तरिक राजस्व कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठायो

२०७९ चैत, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । विराटनगर भन्सार कार्यालयले माघको तुलनामा फागुनमा करीब १३ प्रतिशतले बढी राजस्व संकलन गरेको छ । मीरगञ्जको पुल सञ्चालन र सामान आयातमा राख्नुपर्ने नगद मार्जिन हटेकाले राजस्व संकलन बढेको हो । कोरोनाको प्रभाव र मीरगञ्ज पुल भासिएकाले लक्ष्यभन्दा कम राजस्व संकलन हुँदै आएको थियो ।

माघमा २ अर्ब ७२ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा ३ अर्ब ७ करोड १९ लाख असुली भएको छ, जुन माघको भन्दा १२ दशमलव ८३ प्रतिशतले बढी हो । सीमाक्षेत्रमा प्रहरी प्रशासनको राम्रो समन्वय भएकाले राजस्व संकलन बढेको भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालले बताए । उनका अनुसार गत आर्थिक वर्षमा लक्ष्यको ८१ प्रतिशत राजस्व संकलन भएकोमा यो वर्ष त्यसकै हाराहारीमा उठ्ने अनुमान गरिएको छ । चालू आर्थिक वर्षको ८ महीनामा लक्ष्यको ५७ दशमलव ३९ प्रतिशत राजस्व संकलन भएको छ । चालू आर्थिक वर्षमा कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ । तर, फागुनसम्ममा वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशत अर्थात् २२ अर्ब ३४ करोड ८ लाख रुपैयाँ मात्र संकलन भएको छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले फागुनमा लक्ष्यको १०४ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत डा. डीबी क्षेत्रीले फागुनमा ६० करोड ८९ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा ६३ करोड ४० लाख रुपैयाँ उठेको जानकारी दिए । कार्यालयले आयकरतर्फ लक्ष्यको १६७ प्रतिशतले राजस्व असुली गरेको छ ।

कार्यालयले फागुनमा आयकरतर्फ १२ करोड ४६ लाख राजस्व असुली गर्ने लक्ष्य राखेकोमा २० करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । यस्तै मूल्य अभिवृद्धि करतर्फ लक्ष्यको ९४ दशमलव ३१ प्रतिशतले राजस्व असुली भएको छ । सो शीर्षकमा १९ करोड ४ लाख असुलीको लक्ष्यमा १८ करोड रुपैयाँ संकलन भएको छ ।

कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० मा १० अर्बभन्दा बढी राजस्व असुलीको लक्ष्य पाएको छ । फागुनसम्ममा ४ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले अन्तःशुल्क, आय कर, मूल्य अभिवृद्धि कर, ब्याज कर, बहाल कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर शीर्षकमा राजस्व असुली गर्ने अख्तियारी पाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)