ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

८ महीनामा एकपल्ट मात्रै क्लिंकर आयात

त्यो पनि जम्मा १९ हजार रुपैयाँ मात्रैको

२०७९ चैत, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । स्वदेशमै उत्पादन बढेपछि क्लिंकर आयातका लागि बाहिरिने अर्बौं रकम जोगिन थालेको छ । चार वर्षअघि सिमेन्टको कच्चा पदार्थ क्लिंकर आयातमा ११ अर्ब रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । अहिले क्लिंकर आयातमा लगभग ब्रेक लागेको ताजा तथ्यांकले देखाउँछ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को ८ महीना (साउन–फागुन) मा जम्मा १९ हजार रुपैयाँ मूल्यको क्लिंकर आयात भएको छ । यस अवधिमा जम्मा एकपटक क्लिंकर आयात भएको हो । कात्तिकमा उक्त मूल्यको क्लिंकर आयात भएको देखिन्छ ।

भन्सार विभागका अनुसार गत आव २०७८/७९ को पहिलो महीना साउनमै ३ करोड ४३ लाख ९८ हजार रुपैयाँको क्लिंकर आयात भएको थियो । गत आव २०७८/७९ मा ३२ करोड १५ लाख रुपैयाँको क्लिंकर आयात भएको देखिन्छ ।  

क्लिंकर सिमेन्टको कच्चा पदार्थ हो । अहिले क्लिंकर र सिमेन्टमा मुलुक आत्मनिर्भर भएको छ । केही उद्योगले यी दुवै वस्तु भारतमा निर्यात पनि गरिरहेका छन् । स्वदेशी आवश्यकताभन्दा बढी क्लिंकर र सिमेन्ट उत्पादन हुन थालेपछि पाल्पा र अर्घाखाँची सिमेन्ट उद्योगले यी उत्पादन निर्यात गरिरहेका छन् ।

नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेल स्वदेशमा सिमेन्टको खपत कम हुँदा पछिल्लो समय क्लिंकर विक्रीमा समस्या भएको बताउँछन् । ‘सामान्य अवस्था अर्थात् पूर्वाधार निर्माणको सिजनमा करीब ८० प्रतिशतसम्म क्लिंकर खपत हुन्थ्यो, अहिले यो करीब ३० प्रतिशतमा झरेको छ,’ पोखरेलले आर्थिक अभियानसँग भने ।
संघका अनुसार अहिले क्लिंकर मात्रै उत्पादन गर्ने उद्योग १६ ओटा छन् । यी उद्योगले दैनिक ४० हजार मेट्रिक टन उत्पादन गर्छन् । सिमेन्ट खपत कम भएपछि उत्पादन क्षमता घटाइएको उपाध्यक्ष पोखरेलको भनाइ छ ।

पाल्पा ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको आरएमसी ग्रूपका कार्यकारी निर्देशक राजेशकुमार अग्रवालले राज्यको पूँजीगत खर्च कम हुँदा विकास निर्माण प्रभावित भई सिमेन्टको माग कम भएको बताए । विगतमा यस क्षेत्रमा लगानी बढ्दा अहिले मुलुक सिमेन्ट र क्लिंकरमा आत्मनिर्भर हुनुका साथै निर्यात पनि भइरहेको उनको तर्क छ ।

आरएमसी ग्रूपबाट उत्पादित सिमेन्ट गत असारदेखि निर्यात हुँदै आएको छ । अग्रवालका अनुसार अहिले क्लिंकर पनि निर्यात हुन्छ ।

अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले पनि आफ्नो उद्योगले क्लिंकर निर्यात गर्न थालेको जानकारी दिए । ‘छोटो समयमै क्लिंकर आयात शून्यमा झरेको छ,’ मुरारकाले भने, ‘अर्घाखाँची र पाल्पा सिमेन्ट उद्योगले हालसम्म क्लिंकर र सिमेन्ट गरेर ३० हजार मेट्रिक टन भारत निर्यात गरिसकेका छन् ।’ ‘अर्घाखाँची’ ब्रान्डमा सिमेन्ट उत्पादन गर्ने मुरारकाको उद्योगले क्लिंकर पनि उत्पादन गर्छ ।

‘आयातित क्लिंकर महँगो हुने तर स्वदेशमै रहेको कच्चा पदार्थ चुनढुंगाको उपयोग नहुने अवस्था विगतमा थियो,’ मुरारकाले भने, ‘स्वदेशी कच्चा पदार्थ सदुपयोगबाट अहिले मुलुक आत्मनिर्भर भएर पनि निर्यात गर्ने अवस्थामा आइपुगेको छ ।’ पछिल्ला वर्षमा यस क्षेत्रमा स्वदेशी र विदेशी दुवै व्यवसायीले ठूलो लगानी गरेका छन् । संघका अनुसार हालसम्म सिमेन्ट उद्योगमा ३ खर्ब रुपैयाँ लगानी भएको छ ।

२०७२ को भूकम्पपछि पुनर्निर्माणको काम तीव्र हुँदा सिमेन्टको माग ह्वात्तै बढ्यो । त्यसपछि सिमेन्ट उद्योगमा स्वदेशी र विदेशी लगानी थपिने क्रम बढ्यो । संघका अनुसार नेपालमा अहिले करीब पाँच दर्जन सिमेन्ट उद्योग सञ्चालनमा छन् । यी उद्योगको वार्षिक उत्पादन क्षमता २ करोड ५० लाख मेट्रिक टन छ । उत्पादन क्षमताभन्दा माग कम हुँदा उत्पादकहरूले भारत निर्यातका लागि सहजीकरण गरिदिन सरकारसँग माग राख्दै आएका थिए । सरकारले निर्यातमा नगद अनुदान दिने बजेटमा घोषित कार्यक्रम कार्यान्वयन गरेसँगै उद्योगीहरूले सिमेन्ट र क्लिंकर निर्यात शुरू गरिसकेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)