ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतबाट १७ हजार टन गहुँ ल्याउने म्याद थपियो

२०७९ चैत, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारत सरकारले पहिलो खेपमा नेपाल निकासी गर्न छुट्ट्याइदिएको ५० हजार मेट्रिक टन गहुँमध्ये व्यापारीको भागमा परेको १६ हजार ९५१ टन मार्च ३१ भित्र ल्याइसक्नुपर्ने गरी समयसीमा तोकिएकोमा भारतीय दूतावासले मे ३१ सम्म समय थपिदिएको छ । उद्योगीको भागमा परेको ३३ हजार ४९ टन गहुँ यसअघि नै नेपाल भित्रिसकेको छ । सोही गहुँको कारण यहाँ आँटा, मैदा र चोकरको मूल्य घटेको छ ।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वितरण गरेको कोटामध्ये २२ व्यापारिक फर्मले गहुँ ल्याउन बाँकी छ । मोरङ व्यापार संघका पदाधिकारीले भारतीय राजदूत नवीन श्रीवास्तव विराटनगर आएको बेला सोको समयसीमा थप गरिदिन आग्रह गरेका थिए । संघले समयसीमा बढाउन भारतीय दूतावासमा पत्राचार पनि गरेको थियो । सोही आधारमा दूतावासले व्यापारीले ल्याउन बाँकी झन्डै १७ हजार टन गहुँ आयातको समयसीमा दुई महीना थपिदिएको हो । नेपाल फ्लोर मिल एशोसिएशनका सचिव तथा मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले भारतीय दूतावासको प्रयासले नेपालमा भइरहेको गहुँको अभाव केही हदसम्म कम गरेको बताए । मार्च ३१ सम्ममा गहुँ आयात नगरे ल्याउनै नसक्ने अवस्था रहेको पनि उनले बताए ।

नेपालमा अहिले गहुँको मूल्य प्रतिकिलो ४८ रुपैयाँ छ । भारतबाट गहुँ आउनुअघि यसको मूल्य प्रतिकिलो ६५ रुपैयाँ थियो । भारतमा अहिले ३८ रुपैयाँ किलोमा गहुँ पाइन्छ । यसअघि भारतमा पनि गहुँको मूल्य प्रतिकिलो ५० रुपैयाँ जति पर्थ्यो । अबको १० दिनपछि नेपाल र भारतीय बजारमा नयाँ गहुँ आउँछ । त्यसपछि नेपालमा मूल्य प्रतिकिलो ४० रुपैयाँ र भारतमा ३२ रुपैयाँ कायम हुने अपेक्षा एशोसिएशनले गरेको छ । भारतबाट गहुँ आएपछि नेपालमा ९० रुपैयाँ पुगेको प्रतिकिलो आँटाको मूल्य घटेर ७० रुपैयाँ कायम भएको छ । मैदाको मूल्य प्रतिकिलो ८५ रुपैयाँबाट ६७ रुपैयाँमा ओर्लेको छ । चोकरको मूल्य ५६ रुपैयाँ किलोबाट ४४ मा झरेको छ । नयाँ गहुँ बजारमा आएपछि मूल्य अझै तल ओर्लने सचिव बेगवानीले बताए । एशोसिएशनका अध्यक्ष कुमुद दुगडले सरकारले मुलुकमा आगामी दिनमा गहुँ अभाव हुन नदिन भारत सरकारसँग चार लाख टन माग गर्नुपर्ने बताए । नेपाली उत्पादनले मुश्किलले पाँच महीना धान्ने भएकाले बाँकी समयको लागि तत्कालै माग गर्नुपर्ने उनको भनाइ छ । भारत सरकारलाई कोटा तोक्न लगाएर आयात गर्दासम्ममा दुई महीना लाग्ने भएकाले सरकारले समयमै पहल गर्नुपर्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)