काठमाडौं । नेपालले चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म ५ करोड ७० लाख ५५ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ९८ हजार ४४४ पिस स्यानिटरी प्याड sanitary pad निर्यात गरेको छ । सोही अवधिमा नेपालले विदेशबाट भने ५७ करोड ५६ लाख ९७ हजार रुपैयाँ बराबरको ६ करोड २९ लाख ६२ हजार ६३१ पिस स्यानिटरी प्याड आयात गरेको भन्सार विभागको तथ्याङ्क छ ।
८ महीनाको तथ्याङ्क हेर्दा पनि निर्यातको तुलनामा आयात ११ गुणा बढी छ । अर्कोतर्फ नेपालको प्याड प्रतिपिस २ रुपैयाँ ७० पैसाका दरले निर्यात भएको छ भने आयातित प्याड प्रतिपिस ९ रुपैयाँ १५ पैसा परेको छ । भारत र चीनबाट आयात भएका प्याडको मूल्य प्रतिपिस ५ देखि ७ रुपैयाँ छ । अमेरिका जापान लगायतका देशबाट आयात भएको प्याडको मूल्य एउटै पिसको ५०० देखि १ हजार रुपैयाँसम्म पनि छ । धेरै प्याड आयात हुने देशका प्याडको तुलनामा पनि नेपाली प्याड विदेशी प्याडभन्दा ६०/७० प्रतिशतभन्दा धेरै सस्तो भएको देखिन्छ । यति हुँदा पनि विदेशी प्याड यति धेरै किन आयात हुन्छ होला ?
नेपाली उपभोक्ताहरूमा नेपाली सामान भन्यो भने गुणस्तर नै नभएको सामान हो भन्ने ठूलो भ्रम रहेकाले विदेशी सामान जस्तो भए पनि महँगो मूल्यमा प्रयोग गर्ने बानी रहेको प्याड उद्योगीको भनाइ छ । नेपालीले नेपाली सामान नचिन्दा नेपाली प्याड उद्योगीहरू धराशायी भएको उनीहरूको गुनासो छ ।
नेपालमा Australia, Bangladesh, China, India, Korea, Taiwan, United Arab Emirates, United Kingdom, United States लगायतका देशहरूबाट प्याड आयात हुने गरेको छ भने निर्याततर्फ बङ्गलादेश र भारतमा मात्रै नेपाली प्याड जान्छ ।
लाइफकेयर स्यानिटरी एन्ड न्यापकिन्स उद्योगका सञ्चालक लोकनाथ लम्साल नेपाली र विदेशी प्याडप्रतिको गलत बुझाइका कारण आफ्नो उद्योग नै डुबेको बताउँछन् । ‘हामीले उत्पादन गर्ने प्याड बजारमा उपलब्ध भएका आयातित प्याडभन्दा राम्रो छ । तर, नेपाली ग्राहकहरूले नाम चलेको विदेशी प्याड नै रूचाउने गरेकाले हामीले उत्पादन गर्ने प्याडलाई बजार पाउन नै मुस्किल छ’, उनले भने ।
नेपाली उत्पादकहरूले प्याड उत्पादनको लागि लाखौं मूल्यको मेसिन राख्नुका साथै भारत र चीनबाट कच्चा पदार्थ आयात गर्नु पर्छ । विदेशी प्याडको तुलनामा नेपालमा प्याड उत्पादन लागत बढी भए पनि उद्योगीहरूले सस्तोमा बेचिरहेका छन् । त्यसकारण उनीहरूले यसबाट सोचेजस्तो नाफा कमाउन सकेका छैनन् ।
आजभन्दा ५/६ वर्षअघि नेपालमा नै केही गर्ने सोच बनाएर प्याड उद्योग खोलेका उनलाई अहिले उक्त उद्योगका कारण नै ७ करोड रुपैयाँभन्दा बढी ऋणले थिचेको छ । पौने १ करोड रुपैयाँ हालेर किनेको प्याड बनाउने मेसिन कबाडीमा १ लाख रुपैयाँमा नै बेच्नु परेको उनले बताए ।
अहिले गोदाममा कच्चापदार्थसहित डेढ करोड रुपैयाँको सामान थन्किएको छ । अब जग्गा बेचर ऋण तिर्नबाहेक अन्य उपाय छैन । जग्गा पनि अहिले भनेको बेलामा विक्री नहुने अवस्था छ । स्यानिटरी प्याडका कारण मेरो व्यवसाय मात्र नभएर म आफै पनि चुर्लुम्मै डुबेको छु’, उनले आर्थिक अभियानसँग भने ।
नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारी नेपाली प्याड उत्पादकहरूले गुणस्तरीय प्याड उत्पादन गरे पनि वर्षौंदेखि बजार कब्जा गरेका विदेशी कम्पनीका कारण नेपाली उद्योगहरूलाई प्रतिस्पर्धा गर्न नै कठिन भएको बताउँछन् ।
नेपालमा अहिले ३५ ओटा प्याड उद्योगहरू सञ्चालनमा छन् । ती उद्योगहरूले नेपालको कुल प्याडको मागभन्दा ४० प्रतिशत बढी उत्पादन गर्ने क्षमता छ । अर्थात् हाम्रो विदेशमा पनि लाखौं रुपैयाँ बराबरको प्याड निर्यात गर्ने क्षमता रहेको छ । 'तर, विदेशी प्याडका कारण अहिले सबै उद्योगको अवस्था दयनीय छ । धेरैजसो त बन्द हुने अवस्थामै पुगिसके', उनले भने ।
नेपाली ग्राहकहरूले भने बाहिरको नै नाम चलेको ब्रान्डको प्याड प्रयोग गर्न रुचाउँछन् । त्यसैले भन्सार दर बढाएर पहिलाको नै जति कायम गरेर आयातित प्याडलाई अझ महँगो बनाएर स्वदेशी उद्योगहरूलाई जोगाउन जरुरी रहेको अधिकारीले बताए ।
'अहिले हामीले कच्चा पदार्थको भन्सार महसुल १ प्रतिशत तिर्दै आएका छौं । तर, विदेशी आयातित प्याडको भन्सार १.५ प्रतिशत छ । स्वदेशी उत्पादकलाई बचाउने हो भने आयातित प्याडको भन्सार पहिलेकै अर्थात् १५ प्रतिशत कायम गरी विदेशी प्याड महँगो बनाउन आवश्यक छ', उनले भने ।
नेपालमा बनेको प्याड भारत बंगलादेश लगायतका मुलुकमा निर्यात हुन्छ । त्यहाँ हाम्रो उत्पादनलाई राम्रो मान्छन् । तर, नेपालमा स्वदेशी उत्पादनलाई हेर्ने दृष्टिकोण नै नेगेटिभ रहेकोले बजार बनाउनै नसकिएको उद्योगीहरू बताउँछन् ।