ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतारोही बढेसँगै वायुसेवा कम्पनी रामेछाप सरे, ५ दिनमा ३ एयरलाइन्सको ४०७ उडान/अवतरण

२०७९ चैत, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । पर्वतारोहण र ट्रेकिङको सिजन शुरू भएसँगै प्रमुख गन्तव्य बन्ने सगरमाथा आरोहण र सँगैका ट्रेकिङ रूटलाई लक्षित गर्दै हुने उडानमा उल्लेख्य वृद्धि देखिएको छ । कोरोना महामारीपछि दुर्गममा उडान गर्दै आएका तीनओटा वायुसेवा कम्पनीले रामेछाप विमानस्थललाई बेस बनाएर उडान गर्न थालिसकेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटक तथा लुक्ला उडानका लागि मुभमेन्ट बढ्ने भन्दै उक्त गन्तव्यका लागि रामेछाप विमानस्थल प्रयोग गर्न निर्देशन जारी गरिसकेको छ । त्यसअनुसार अहिले निजीक्षेत्रबाट दुर्गममा उडान गर्दै आएका सीता, समिट र तारा एयरले रामेछापलाई बेस बनाएर उडान शुरू गरिसकेका छन् । यद्यपि सुगम गन्तव्यमा उडान गर्ने बुद्ध, यती र श्री एयरलाइन्सले पनि ‘माउन्टेन फ्लाइट’लाई तीव्रता दिएका छन् । 

रामेछाप विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर सरिता पाण्डेले कोरोना महामारीपछि यो विमानस्थलबाट पहिलोपटक धेरै उडान भएको बताइन् । उनले अप्रिल १ देखि ५ सम्म तीनओटा एयरलाइन्सबाट कुल ४०७ मुभमेन्ट (उडान÷अवतरण) भएको जानकारी दिइन् । यो सिजनमा फ्लाइट मुभमेन्ट बढ्ने भएकाले अप्रिल शुरूदेखि प्राधिकरणले रामेछाप बेस बनाएर लुक्ला उडान गर्न भनेसँगै यताबाट हुने उडान बढेको उनको भनाइ छ ।

रामेछाप–लुक्ला विमानस्थलमा उडान गर्दै आएको सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्यामराज आचार्यले कोभिडको बेलामा व्यापार राम्रो नभएको तर अहिले सुधार हुँदै आएको बताए । पर्यटकीय सिजन शुरू भएकाले अहिले लुक्लातर्फको उडानमा चाप रहेको भन्दै उनले थपे, ‘यो बेला काठमाडौंबाट पर्याप्त उडान गर्न सकिँदैन । त्यसले गर्दा पर्याप्त उडानका लागि यो सिजनमा रामेछाप विमानस्थलबाट लुक्ला उडान गरिएको छ ।’ 

अहिले रामेछाप–लुक्ला मुख्य गन्तव्य बनेको भन्दै उनले अन्य गन्तव्यमा खासै उडान हुन नसकेको बताए । हिमाली विमानस्थलमा उडान गर्दै आएको सीता एयरसँग १९ सिट क्षमताका चारओटा डोर्नियर–२२८ जहाज छन् । यस्तै समिट एयरका एक अधिकारीका अनुसार लुक्लातर्फ २० ओटासम्म उडान हुँदै आएका छन् । पर्यटक आगमनमा सुधार भएसँगै कम्पनीको अकुपेन्सी राम्रो रहेको उनको भनाइ छ । लुक्ला गन्तव्यमा काठमाडौंबाट समेत उडान भइरहेको उनले बताए । यता हेलिकोप्टर सञ्चालकहरू पनि उडानमा सुधार भएको बताउँछन् । कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले काठमाडौं–लुक्लामा बढी माग आएको बताए । हिमाल चढ्नेभन्दा ट्रेकिङ गर्नेहरू कम आउँदा उल्लेख्य सुधार नभएको उनको भनाइ छ । तैपनि दैनिक ५÷६ उडान गर्दै आएको उनको भनाइ छ । अधिकांश हेलिकोप्टर कम्पनीको उडान यही अनुपातमा भइरहेको उनले बताए ।

वायुसेवा सञ्चालक संघका एक अधिकारीले हिमाल तथा पूर्वी सेक्टरमा मुभमेन्ट बढेको बताए । मनास्लु, लुक्लामा उडान मुभमेन्ट बढेको छ । ‘कोभिडपछि पहिलोपटक गएको सेप्टेम्बर सिजनमा राम्रो देखिएको थियो,’ उनले भने, ‘अहिले भने त्यो पुष्टि भएको छ भने भारतीय, चिनियाँ पर्यटकको संख्या बढेसँगै यूरोपेली, अमेरिकीहरू पनि आएका छन् ।’

सामान्य अवस्थामा भन्दा अहिले तुलनात्मक रूपमा बुकिङ ५० प्रतिशतले बढेको उनको भनाइ छ । ‘अहिलेसम्मको अवस्था हेर्दा पर्यटक आगमन बढ्ने देखिन्छ,’ उनले भने, ‘मेमा जहाज र हेलिकोप्टर कम्पनीलाई भ्याइनभ्याई हुने देखिन्छ ।’ अहिले सिजन शुरू भएकाले चाप भए पनि सेवा प्रवाह सहज रहेको उनले बताए । संघका अनुसार नेपालमा १२ ओटा हेलिकोप्टर कम्पनीका २८ ओटा हेलिकोप्टरले सेवा दिइरहेका छन् । 

नेपालमा पर्यटक मार्च–अप्रिल र अक्टोबर–नोभेम्बरमा बढी आउँछन् । प्राधिकरणले अप्रिल पहिलो सातादेखि नै लुक्ला उडान रामेछाप विमानस्थलबाट गर्न निर्देशन दिएको थियो । यो सिजनमा बढी मुभमेन्ट हुने भएकाले प्राधिकरणले लुक्ला उडानका लागि रामेछाप विमानस्थल उपयोग गर्न भनेको हो । एयरलाइन्स कम्पनीहरूले प्राधिकरणको निर्देशन पालना गरेका हुन् ।

अहिले १÷२ महीना रामेछाप विमानस्थल प्रयोग गर्न भनिए पनि चाप कम भएपछि काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै लुक्ला उडान गर्न पाउनेछन् । केही सेड्युल फ्लाइट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै भइरहेका छन् । माउन्टेन फ्लाइटमा निजीक्षेत्रका बुद्ध, यती र श्री एयरलाइन्सले उडान गर्दै आएका छन् । काठमाडौंबाट बुधवार बुद्धले ४, यतिले २ र श्री एयरलाइन्सले २ गरी कुल ८ माउन्टेन फ्लाइट गरेका छन् ।

गएको मार्च २४ मा पनि यी एयरलाइन्सबाट ९ ओटा उडान भएका छन् । एटीआर४२–७२ सिरिजका जहाज सञ्चालन गर्ने एयरलाइन्सले काठमाडौंबाट पूर्वतर्फका गन्तव्यमा माउन्टेन फ्लाइट गर्दै आएका छन् । यस्तो उडानमा कम्पनीहरूले झ्यालतर्फको सिट मात्र विक्रीमा राख्छन् । बुद्ध एयरले दैनिक तीनओटासम्म उडान गर्छ । ७२ सिट क्षमताको एटीआरका झ्यालतर्फका सिट विक्रीबाट माउन्टेन फ्लाइट गरेको कम्पनीका अधिकारीले बताए ।

कम्पनीका अनुसार यस्तो उडानमा यात्रुहरू २८ देखि ३५ जनासम्म हुन्छन् । काठमाडौंबाट पूर्वतर्फ जाँदा बाँयातर्फको झ्यालबाट हिमालको दृश्य देखिन्छ । त्यसलाई नै माउन्टेन फ्लाइट भनिएको हुन्छ । फर्किंदा पनि यस्तैखाले माउन्टेन फ्लाइटको टिकट विक्री गरिएको हुन्छ । एउटा फ्लाइटमा ३५ जनासम्मले यस्तो उडान गर्न सक्ने उनले बताए । सामान्य भाडा दरभन्दा अलिक फरक मूल्य कम्पनीहरूले यस्तो उडानमा राख्ने गरेका हुन्छन् । बुद्धले नेपाली र भारतीय नागरिकका लागि एउटै भाडादर तोकेको छ । यसअनुसार यस्तो उडानका लागि बुद्ध एयरले प्रतियात्रु भाडादर १३ हजार ८७० रुपैयाँ तोकेको छ । यस्तै अन्य मुलुकका विदेशी पर्यटक तथा यात्रुका लागि भने प्रतिव्यक्ति २२० अमेरिकी डलर मूल्य राखेको छ ।

वसन्त ऋतु अर्थात् स्प्रिङ सिजन शुरू भएपछि सगरमाथा आरोहणका लागि पर्वतारोहीहरू बढी आउने गरेका हुन्छन् । यसले गर्दा यो रूटमा पर्यटकको आवागमन बढ्न जान्छ । विभागले बुधवारसम्म ४० देशका ३०४ जनालाई पर्वतारोहणका लागि अनुमति दिएको छ । यसमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि छन् । विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्रै बुधवारसम्ममा ११५ जनाले परमिट पाएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)