ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खपत घट्दा स्याउ आयातमा १० प्रतिशत कमी, व्यापारी भन्छन्- विक्री ह्वात्तै घट्यो

२०७९ चैत, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालमा चालू आर्थिक वर्ष (आव)को ८ महीनामा स्याउ (Apple) आयात (Import) १० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि फागुनसम्ममा नेपालमा ५ करोड ७१ लाख २६ हजार ५ किलोग्राम स्याउ भित्रिएको छ । गत आवको सोही अवधिमा भने नेपालले ६ करोड ३६ लाख १८ हजार ४८५ किलोग्राम बराबरको स्याउ आयात गरेको थियो । 

विभागका अनुसार चालू आवको समीक्षा अवधिमा स्याउ आयातबाट ४ अर्ब ४५ करोड ८५ लाख रुपैयाँ बाहिरिएको छ । गत आवको सोही अवधिमा भने यो रकम ७ अर्ब १५ करोड ८८ लाख रुपैयाँ थियो । 

कुलेश्वर फलफूल बजारका व्यवसायी अमर बानियाँ स्याउको खपत घटेकाले आयात घटेको बताउँछन् । उनका अनुसार यो वर्ष स्याउको खपत ४० प्रतिशत घटेको छ । ‘अघिल्ला वर्षमा साइकलमा फलफूल बेच्नेहरू घरघरै पुगेर बेच्थे । अहिले त्यसरी बेच्नेहरू छैनन्,’ उनले स्याउको विक्री घट्नुको कारण खुलाए । 

काठमाडौं महानगरपालिका (Kathmandu Metropolitan)ले सडक किनारमा साइकल–ठेला राखेर फलफूललगायत सामान बेच्न प्रतिबन्ध लगाएपछि स्याउको विक्री घटेको व्यापारी बताउँछन् । 

कालिमाटीमा किराना सामानसँगै फलफूल (Fruits) बेच्दै आएका कमल बस्नेत पनि अहिले स्याउको व्यापार ह्वात्तै घटेको बताउँछन् । गत वर्ष दैनिक २०–३० किलो स्याउ विक्री गर्ने उनी अहिले दैनिक १० किलो स्याउ बेच्न मुश्किल रहेको बताउँछन् । 

खपत घट्दा मूल्य बढ्यो !

व्यापारीले स्याउको खपत घटेको बताइरहँदा यसको मूल्य (Price) भने बढेको छ । अर्थशास्त्रको सिद्धान्त अनुसार यो विपरीत असर हो । यो सिद्धान्त अनुसार खपत घट्दा मूल्य पनि घट्छ । 

गत वर्ष होलसेलमा प्रतिकिलो १००–११० रुपैयाँमा पाइने गरेको स्याउ यो वर्ष प्रतिकिलो १६० रुपैयाँ पुगेको छ । होलसेलसँगै स्याउको खुद्रामूल्य पनि बढेको छ । गत वर्ष प्रतिकिलो १४० रुपैयाँ रहेको स्याउ अहिले १५०–१८० रुपैयाँसम्म पर्ने गरेको छ । गत वर्ष प्रतिकिलो २४० रुपैयाँ रहेको फुजी स्याउ अहिले ६० रुपैयाँसम्म बढेको छ । 

खपत घटेपछि स्याउ स्टोरमा थन्किएको कुलेश्वर फलफूल बजारका व्यवसायी बानियाँ बताउँछन् । 

कुन देशबाट कति आयात ? 

नेपालले भारत (India), चीन (China), अमेरिका (America)लगायत देशबाट स्याउ आयात गर्ने गरेको छ । चालू आवको समीक्षा अवधिमा नेपालमा चीनबाट सबैभन्दा धेरै स्याउ भित्रिएको छ । विभागका अनुसार समीक्षा अवधिमा चीनबाट २ अर्ब ५२ करोड १६ लाख रुपैयाँ बराबरको २ करोड ७७ लाख ३०१ किलोग्राम स्याउ आयात भएको छ । यस्तै, भारतबाट १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ बराबरको २ करोड ९३ लाख ७० हजार १२४ किलोग्राम स्याउ भित्रिएको छ । 

यस्तै स्विट्जरल्याण्डबाट २७ लाख रुपैयाँ बराबरको ३५ हजार किलोग्राम र संयुक्त राज्य अमेरिकाबाट ५० लाख ३४ हजार रुपैयाँ बराबरको २० हजार ५८० किलोग्राम स्याउ आयात भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)