ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ वर्षमा पर्यटकीय चहलपहल : चल्तीका गन्तव्यमा मात्रै चाप, 'सुदूरपश्चिमका व्यवसायीमा उत्साह छैन'

२०७९ चैत, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । शुक्रवारबाट विक्रम सम्वत्को नयाँ वर्ष (New Year) २०८० शुरू हुँदैछ । नयाँ वर्ष मनाउन पर्यटक (Tourist)ले होटेलहरू  (Hotels) प्रि–बुकिङ (Pre-booking) शुरू गरिसकेका छन् । बुकिङ र चासो चल्तीका गन्तव्यमा मात्रै देखिएको छ ।

मुलुकका चर्चित गन्तव्य पोखरा (Pokhara), चितवन (Chitwan)लगायतका होटेलहरूमा प्रि–बुकिङ ८० प्रतिशत हुँदा अन्य गन्तव्यमा सामान्य रहेको व्यवसायीले बताएका छन् । पोखरा, सौराहा (Sauraha), धुलिखेल (Dhulikhel), नगरकोट (Nagarkot)मा प्रि–बुकिङ राम्रो छ । लुम्बिनी (Lumbini), पश्चिमको कैलाली (Kailali), कर्णाली (Karnali), चिसापानीजस्ता गन्तव्यमा बुकिङ नै छैन । २०८० को पहिलो दिन शुक्रवार र भोलिपल्ट बिदा (शनिवार) परेको छ । यसले गर्दा २ दिनका लागि बुकिङ गर्ने पर्यटक पनि रहेको बताइएको छ ।

क्षेत्रीय होटेल संघ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले नयाँ आसपासका दिनका लागि बुकिङ नभएको जानकारी दिए । ‘सुदूरपश्चिममा पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि यहाँका व्यवसायीमा उत्साह छैन,’ भट्टले भने, ‘काठमाडौं (Kathmandu)बाट टाढाको दूरी र त्यसमा पनि सडक र हवाईमार्गको पहुँच कमजोर हुँदा थप समस्या छ ।’

गुणस्तरीय सडक अभाव र हवाई भाडा महँगो हुँदा सुदूरपश्चिम (Sudurpaschim) आउने पर्यटक कम रहेको उनको भनाइ छ । उनले नेपाल पर्यटन बोर्ड जस्ता संस्थाले यो क्षेत्रको प्रचारप्रसारलाई प्राथमिकतामा नराख्दा पनि पर्यटक आउन नसकेको बताए । क्षेत्रीय होटेल संघ जुम्लाका दिलबहादुर महतले नयाँ वर्षकै लागि भनेर खासै बुकिङ हुने र पर्यटक आउने नगरेको बताए ।
 
‘जुम्लामा होटेल बढ्ने क्रममा रहे पनि सडक राम्रो नहुँदा पर्यटक आउन सकेका छैनन्,’ महतले भने, ‘रारा (Rara) जाने आन्तरिक पर्यटक आउँछन्, विदेशी त आएकै छैनन् ।’

होटेल एशोसिएशन नेपाल (हान) विराटनगरका अध्यक्ष राजन श्रेष्ठले ग्रेगोरियन पात्रोको नयाँ वर्ष जनवरी १ मा भारतीय पर्यटकको चाप हुने भए पनि विक्रमको नयाँ वर्षमा खासै नआउने बताए । पूर्वका श्रीअन्तु, इलाम, भेडेटार जस्ता क्षेत्रमा भने बुकिङ सामान्य रहेको उनको भनाइ छ । 

नयाँ वर्षकै लागि भनेर बुकिङ हुने अवस्था कम रहेको सिद्धार्थ होटेल एशोसिएशन, भैरहवाका अध्यक्ष सिपी श्रेष्ठले बताए । २÷३ ओटा होटेलको बुकिङ २५ प्रतिशतसम्म मात्रै छ, उत्साहजनक बुकिङ छैन । उक्त क्षेत्रमा साना–ठूला गरेर १४६ ओटा होटेल छन् । आन्तरिक पर्यटकका लागि सोही दिनका लागि केही छूटको व्यवस्था गरिएको उनको भनाइ छ । साविकमा पनि पर्यटकहरू कम आएको हुँदा पहिला नै कोठा दर ४० प्रतिशत घटाइसकेको भन्दै उनले नयाँ योजना नभएको बताए ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले आन्तरिक र बाह्य पर्यटकले चल्तीकै गन्तव्य खोजेको बताए । ‘यद्यपि अहिले नेपाल र विश्वमै नयाँ गन्तव्य खोजेर जानेको ट्रेन्ड चलेको छ,’ जोशीले भने, ‘कोभिडपछि पर्यटक बढी भिडभाड नभएको, नयाँ गन्तव्यको खोजीमा बढी देखिएका छन् ।’ नयाँ गन्तव्यबारे सूचना, जानकारी कम हुँदा चल्तीका गन्तव्यमै पर्यटक बढी गएको उनको भनाइ छ । प्रचारप्रसार, नयाँ गन्तव्यका विषयमा सूचना प्रवाह, गन्तव्यको दूरी, बसोबास गर्ने स्थानका विषयमा पर्याप्त जानकारी दिन सके अन्य गन्तव्यमा पर्यटक जाने सम्भावना हुने उनी बताउँछन् । 

चल्तीका प्रमुख गन्तव्यमा भने होटेलको प्रि–बुकिङ नै शतप्रतिशत छ । काठमाडौंबाट नजिक पर्ने काभ्रे, नगरकोटका होटेल व्यवसायी उत्साहित छन् । कोभिड–१९ पछि पहिलोपटक राम्रो अवस्था आएको उनीहरू बताउँछन् ।

होटेल एशोसिएशन, काभ्रेका अध्यक्ष प्रेमकान्त श्रेष्ठले भने, ‘बिहीवार, शुक्रवार र शनिवारका लागि शतप्रतिशत बुकिङ भइसकेको छ ।’ काभ्रेमा मात्रै ५० ओटा होटेल रहेको र यहाँका लगभग सबै होटेलको बुकिङ राम्रो रहेको उनले बताए । कोभिडपछि पहिलोपटक व्यवसायमा उल्लेख्य सुधार आएको उनको भनाइ छ । नगरकोटमा पनि होटेल बुकिङ राम्रो रहेको बताइएको छ । 

चितवनको सौराहामा पनि नयाँ वर्षको बुकिङ राम्रो छ । हान च्याप्टर, चितवनका निवर्तमान अध्यक्ष दीपक भट्टराईले नयाँ वर्षका लागि मंगलवारसम्म ८० प्रतिशत प्रि–बुकिङ भइसकेको जानकारी दिए । 

पोखरामा प्रि–बुकिङ राम्रो रहेको त्यहाँका व्यवसायीले बताएका छन् । साना–ठूला गरी १ हजार २०० होटेल रहेको पोखरामा नयाँ वर्षकै लागि भनेर मंगलवारसम्म प्रि–बुकिङ ५० प्रतिशत भइसकेको भन्दै बुकिङ बढ्दो क्रममा रहेको हान च्याप्टरका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

कैलाश मानसरोवर खुला

कोरोना महामारीले बन्द रहेको धार्मिक गन्तव्य कैलाश मानसरोवर खुला गरिएको छ । चीनले यो गन्तव्य कोभिडपछि पहिलोपटक यात्राका लागि खुला गरेसँगै नेपाली टुर एन्ड ट्राभल व्यवसायी उत्साहित भएका छन् ।

भारतीयलाई कैलाश यात्रामा अझै रोक लगाइएको हुँदा व्यवसायी सशंकित छन् । कैलाश यात्रा प्रबन्ध गर्दै आएको फिस्टेल टुर्स एन्ड ट्राभल प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पोखरेलले कैलाश यात्रा गर्न बुकिङमा चासो बढेको बताए । नेपालमा कैलाश यात्रा गराउने करीब तीन दर्जन व्यवसायी छन् । 

‘कोभिडअघि सिजनमा २० हजार जतिले नेपालतर्फबाट कैलाश यात्रा गर्थे,’ उनले भने, ‘कोभिडको समयमा २÷३ वर्ष कैलाश मानसरोवर जाने मानिस रोकिएकोले त्यहाँ जानेको संख्या बढ्ने आकलन छ ।’ यो वर्षको सिजनमा ३० हजारसम्म पुग्ने आकलन गरिएको उनले बताए । नेपालबाट रसुवागढी र हिल्सा नाका हुँदै मानसरोवर जाने चलन छ । 

मेको शुरू हप्तादेखि अक्टोबर पहिलो सातासम्म यो गन्तव्यमा जान उपयुक्त सिजन मानिन्छ । यहाँ जानेले हेलिकप्टरदेखि होटेलहरू र अन्य विषयमा प्रतियात्रु १ लाख रूपैयाँ खर्च गर्दा नेपालले २० करोड रूपैयाँ न्यूनतम आम्दानी गर्ने उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)