ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नर्सरी व्यवसायबाट मासिक ६ लाख कमाउँदै 

२०८० बैशाख, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । पछिल्लो समय इनडोर र आउटडोरमा फूलका बिरुवा रोपिएका गमला राख्ने मोह बढ्दो छ । कार्यालय, होटल, अस्पतालमा मात्र होइन, घरको बार्दली र आँगनमा सजावटका लागि गमलामा फूल रोपेको देखिन्छ ।

यही सम्भावनालाई देखेर कतिपयले नर्सरी व्यवसाय थालेका छन् । तीमध्ये कतिले यसबाट मनग्ये आम्दानी पनि गरिरहेका छन् । यसको उदाहरण बनेकी छन् ललितपुरकी सावित्री थापा सञ्जेल । 

यस व्यवसायबाट मासिक ५ देखि ६ लाख रुपैयाँसम्म कमाउँदै आएको उनी बताउँछिन् । सञ्जेल भन्छिन्, ‘खर्च कटाएर पनि मासिक २ लाखदेखि ३ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’ उक्त व्यवसायबाट घर खर्चका साथै दुई सन्तानलाई पनि पढाउन पुगेको उनी बताउँछिन् । 

झण्डै १६ वर्षअघि शिखा नर्सरी फार्म दर्ता गरेर सञ्चालन गरिरहेकी छिन् उनले । उनले काठमाडौंको थापाथली र रविभवन र ललितपुरको भैंसेपाटी गरी तीनओटा ठाउँमा नर्सरी सञ्चालन गरेकी छन् ।

नर्सरीबाट आफू मात्रै रोजगार बनेकी छैनन्, १० जनालाई रोजगारी पनि दिएकी छन् उनले । 

उनको नर्सरीमा फूल र फलसँगै तरकारीका बिरुवा पनि पाइन्छन् । नर्सरीमा सयपत्री, मखमली, इन्द्रकमल, गुलाब, चम्पालगायत फूलका बिरुवा पाइने गरेको उनले बताइन् । यस्तै सुन्तला, मुन्तला, जुनार, कागती, लिची, आँप, एबोकाडो, ड्रेगन फ्रुट, स्ट्रबेरीलगायतका बिरुवा पनि उनको नर्सरीमा पाइन्छन् । उनको नर्सरीमा पाइने तरकारीका बिरुवाहरूमा खुर्सानी, फर्सी लगायतका छन् । 

नर्सरीमा २० रुपैयाँदेखि १५ हजारसम्मको बिरूवाहरू पाइने गरेको उनी बताउँछिन् । नर्सरीमा उत्पादित बिरुवाहरू काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा खपत हुने गरेको उनले बताइन् । आफूकहाँ २० देखि ३० वर्ष उमेरका व्यक्तिहरू बिरुवा किन्न आउने गरेकाे उनको भनाइ छ । 

बिरुवासँगै उनको नर्सरीमा माटो मल, पिनालगायत किन्न पाइन्छ । त्यससँगै उनले घरघरमा बिरूवा रोपिदिने, ढुङ्गा छाप्ने, दुबो रोप्ने, फाउन्टेन बनाउने लगायतको सेवा दिने गरेकी छन् ।  

'नर्सरी चलाउन जग्गाकै समस्या'

नर्सरी सञ्चालनका लागि जग्गाकै समस्या हुने गरेको उनी बताउँछिन् । जग्गाधनीले लामो समयका लागि जग्गा नदिने गरेकाले नर्सरी विभिन्न ठाउँहरूमा सार्दै आउनु परेको उनको गुनासो छ । 'एक ठाउँबाट अर्कोमा नर्सरी सार्दा ४ देखि ५ लाख रुपैयाँसम्म खर्च हुन्छ,’ उनले भनिन् ।

स्थानीय सरकारले नर्सरीका लागि खाली रहेकाे सरकारी जग्गा उपलब्ध गराउनुपर्ने उनको माग छ । 

नेपालमा फूल खेती मौसमअनुसार हुने गरेको उनी बताउँछिन् । यद्यपि, अहिले वर्षभरि नै फूलको खेती हुने गरेको छ । वर्षभरि फूल खेती हुने गरेकाले बिरुवाहरूको माग दिनप्रतिदिन बढिरहेको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)