ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मन्दी र चर्को ब्याजदरले थलिएका उद्योग पुन: विद्युत् कटौतीको मारमा, जसले सुल्झाएका थिए उनैले बल्झाए !

२०८० बैशाख, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । लोडशेडिङमुक्त भएको ४ वर्ष नबित्दै औद्योगिक प्रतिष्ठानहरू पुनः विद्युत् कटौतीको मारमा परेका छन् । विगतमा दैनिक १८ घण्टासम्म लोडशेडिङ (Load shedding)को समस्या खेपेका उद्योगलाई नेपाल विद्युत् प्राधिकरण (Nepal Electricity Authority) ले २०७५ जेठमा लोडशेडिङमुक्त गरेको थियो । 

उद्योगमा लोडशेडिङका कारण उत्पादन कटौती गर्नुपर्ने दिन गए भन्दै खुशी मनाएका उद्योगीको त्यो खुशी धरै दिन टिक्न पाएन । गत पुसयता उद्योगमा पुनः विद्युत् कटौती भइरहेको छ । 

उद्योगलाई लोडशेडिङमुक्त बनाउँदा प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ थिए । अहिले दैनिक ८/९ घण्टा विद्युत् कटौती हुँदा पनि उनै कुलमान प्राधिकरणको कार्यकारी निर्देशक छन् । 

कोरोना महामारीयता घट्दो माग र अहिलेको चर्को ब्याजदरले नराम्ररी प्रभावित उद्यमलाई अघोषित लोडशेडिङले थप समस्या परेको बारा–पर्साका उद्योगीले बताएका छन् । विद्युत् प्राधिकरण (NEA) ले विनासूचना दिनहुँ ८/९ घण्टा विद्युत् काटिरहेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले बताए । 

उद्योगले पूँजीको उच्च लागत र बजारमा न्यून मागको समस्या भोगिरहेको अवस्थामा ऊर्जा अभाव अर्को समस्या बनेको गुनासो छ । अहिले उद्योगको समग्र उत्पादन २५ प्रतिशत हाराहारीमा झरिसकेको संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम बताउँछन् । 

‘बरु घोषित रूपमै लोडशेडिङ भएको भए उत्पादनको सिफ्ट मिलाउन सकिने थियो । अहिले त कुन बेला बत्ती आउँछ र कुन बेला जान्छ थाहै हुँदैन । कामदार बेकामी हुन्छन् । उत्पादन गर्न सकिँदैन,’ गौतम भन्छन् । बैंकको चर्को ब्याजले थलिएका उद्योगलाई ऊर्जाको सकस लागत वृद्धिको अर्को कारण बनेको उनले बताए । 

प्राधिकरणका अधिकारीहरू यो सुक्खा याममा विगत वर्षको तुलनामा विद्युत् उत्पादन (Electricity Production) कम भएको र भारत (India)बाट आयात (Import)समेत घटेकाले पिक आवरमा मागको व्यवस्थापन मिलाउन उद्योगमा विद्युत् आपूर्ति रोक्नुपरेको बताउँछन् । गत वर्षको तुलनामा २० प्रतिशत उत्पादन घटेको प्राधिकरणका अधिकारीले बताएका छन् । 

पिक आवरमा ५० मेगावाट जति विद्युत् कम हुने प्राधिकरणको आँकडा छ । अहिले कुल माग १७०० मेगावाट रहेकोमा आन्तरिक उत्पादन १३०० मेगावाट रहेको प्राधिकरणले बताएको छ । 

चार सय मेगावाटको असन्तुलन मिलाउन भारतबाट आयात हुनेमा नियमित हुन नसकेकाले समस्या देखिएको हो । पिक आवरमा भारतबाट बिजुली ल्याउँदा बढी रकम तिर्नुपर्ने भएपछि प्राधिकरणले अफ आवरमा ल्याउने गरेको छ । 

नेपालमा हुने विद्युत् आयात भारतको बिहार (Bihar)मा बढी आश्रित छ । बिहार राज्य अहिले आफै ऊर्जा संकट झेलिरहेकाले सहज रूपमा आयात हुन नसकेको प्राधिकरणका प्रवक्ता सुरेन्द्रबहादुर भट्टराई बताउँछन् । विगत लोडशेडिङको समयमा उद्योगले जेनेरेटर चलाएर भए पनि ऊर्जाको जोहो गरेका थिए । त्यतिबेलै ऊर्जा महँगो पर्न गएको थियो ।

अहिले डिजेलको मूल्य बढेकाले यस्तो खर्च अझ बढी पर्न जाने अनुमान उद्यमीको छ । 

‘उद्योगमा बारम्बार विद्युत् काटौती हुन्छ । उत्पादन चुनौतीपूर्ण बनेको छ,’ उपाध्यक्ष गौतमले भने । यसबाट उद्योगका कच्चा पदार्थ खेर जाने, उत्पादनमा कमी, उपकरण जल्ने र बिग्रिने समस्या, उत्पादनको गुणस्तरमा ह्रासजस्ता समस्या आएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)