ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा कम्पनीको चुक्तापूँजी बढाउने अभियान : असारभित्र ४ करोड ४८ लाख कित्ता आईपीओ आउने !

२०८० बैशाख, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । नेपाल बीमा प्राधिकरण (Nepal Insurance Authority)ले बीमा कम्पनीको चुक्ता पूँजी बढाउन दिएको समय सीमा आगामी असार मसान्तसम्म थपिएको छ । अहिलेसम्म ६ ओटा कम्पनीले प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्‍याउँदा अन्य ७ कम्पनी भने अरु उपायमार्फत चुक्ता पूँजी पुर्याउने दाउमा छन् ।

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स तथा प्राइम, गुराँस र यूनियन लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा छन् । यी ५ बीमा कम्पनी मर्ज भएर २ ओटा कम्पनी बन्दै छन् । यी कम्पनीले साधारण सभाबाट निर्णय नै पारित गरिसकेका छन् ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएसँगै जीवन बीमा कम्पनीहरू धमाधम मर्जर प्रक्रियामा जान थालेका हुन् । चैत मसान्तसम्म ५ अर्ब चुक्ता पूँजी पुर्याउन दिएको समयमा सबै कम्पनीले पूँजी पुर्याउन नसकेपछि प्राधिकरणले असार मसान्तसम्मको समय दिएको छ । 

चैत मसान्तसम्म चार जीवन बीमा कम्पनीको मर्जर प्रक्रिया पूरा भइसकेको छ । सूर्या र ज्योति लाइफ तथा सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरू गरिसकेका छन् । 

सूर्या र ज्योति गाभिएर सूर्याज्योति लाइफ इन्स्योरेन्सको नामबाट पुस ७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२ कित्ता अनुपातमा मर्जर भएको हो । मर्जरपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । 

त्यस्तै सानिमा र रिलायन्स एक आपसमा मर्ज भई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट चैत ९ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । मर्जरपश्चात एकीकृत कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । यी दुई कम्पनी समान अनुपातमा मर्जरमा गएका हुन् । 

मर्जर प्रक्रिया सम्पन्न हुन बाँकी कम्पनीमध्ये प्राइम, गुराँस र यूनियन लाइफ इन्स्योरेन्सले मर्जरसम्बन्धी प्रस्ताव विशेष साधारण सभाबाट पारित गरिसकेका छन् ।  यी तीनओटै कम्पनी समान अनुपातमा मर्जरमा जान सहमत भएका हुन् ।

यी तीन कम्पनी मर्जरपश्चात् बन्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड हुनेछ । समान हैसियतमा एक हुन लागेका यी तीन कम्पनीको मर्जरपछि चुक्तापूँजी ७ अर्ब ७२ करोड ३१ लाख ९० हजार रुपैयाँ पुग्नेछ । मर्जरसम्बन्धी विशेष प्रस्ताव साधारण सभाबाट पारित भएकाले अब कानूनी प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू हुने गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ ।  

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जान गत असार ३० गते समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपश्चात् बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहनेछ । यी दुई कम्पनी समान अनुपातमा मर्जरमा जान लागेका हुन् । मूल्यांकनका कारण मर्जर प्रक्रियामा केही ढिलाइ भएको कम्पनीले जानकारी दिएको छ ।

अब एक/दुई दिनभित्रैमा दुवै कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनले स्वीकृति पाउने देखिन्छ । त्यसपछि प्रक्रिया अगाडि बढ्ने प्रभु लाइफ इन्स्योरेन्सले बताएको छ । 

जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी नियामक निकायले तोकेबमोजिम पुगिसकेको छ । कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ छ । 

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अब कम्पनीले अपुग रकम बोनस शेयर वितरण गरेर पुर्याउने तयारी गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । 

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद शेयर निष्कासन गरेर चुक्ता पूँजी वृद्धि गर्न लागेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८८ दशमलव ५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । उक्त हकप्रद शेयर निष्कासन प्रस्ताव कम्पनीको विशेष साधारण सभाले पारित गरिसकेको छ भने बीमा प्राधिकरणबाट पनि स्वीकृतिप्राप्त भइसकेको छ । आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (SEBON) मा निवेदन दिएर स्वीकृति पाएपछि हकप्रद शेयर निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यो हकप्रद शेयर निष्कासनपछि पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । 

एशियन लाइफ इन्स्योरेन्स (Asian Life Insurance) कम्पनीले गत आव ०७८/७९ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि कम्पनीले चालू आव ०७९/८० को नाफााबाट पनि बोनश शेयर वितरण गरेपछि अपुग रकम हकप्रद शेयर जारी गरी नेपाल बीमा प्रधिकरण (NIA) को तोकिएको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउने योजना रहेको जानकारी दिएको छ । 

त्यस्तै राष्ट्रिय बीमा संस्थानले बीमा प्राधिकरणले तोके बमोजिमको पूँजी पुर्‍याउन सर्वसाधारणमा आईपीओ (IPO) जारी गर्ने र बाँकी पूँजी हकप्रद र बोनस शेयरमार्फत जुटाउने योजना बनाएको छ । कम्पनीले संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व कायम हुने गरी चुक्ता पूँजी पुर्‍याउने योजना रहेको हो । हाल कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ मात्रै छ । 

त्यसैगरी नयाँ कम्पनीहरूमध्ये रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी प्रिमियममा आईपीओ निष्कासन गरी पूँजी वृद्धि गर्ने तयारीमा छन् । यी चार कम्पनीले कुल ४ करोड ४८ लाख  ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड २० लाख कित्ता, सन नेपाल लाईफ इन्स्योरेन्सले ९६ लाख कित्ता, सिटीजन लाइफ इन्स्योरेन्सले १ करोड १२ लाख ५० हजार कित्ता र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेका छन् । यी चारओटै कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिइसकेका छन् । यी चार कम्पनीमध्ये केही कम्पनीको प्रक्रिया अगाडि बढिसकेको छ भने केही कम्पनीलाई सेबोनले अपुग डकुमेन्टहरू उपलब्ध गराउन अनुरोध गरेको छ । 

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले असार मसान्तसम्म सबै कम्पनीको चुक्ता पूँजी पुग्ने विश्वास व्यक्त गरे । एक तिहाइसम्म हकप्रद वितरण गर्न सक्ने प्रावधान रहेकोले कम्पनीले आइपीओ र हकप्रद वितरण गरेर तोकिएको चुक्ता पूँजी पुर्‍याउने उनले बताए । कम्पनीहरूले चुक्ता पूँजी नपुर्‍याए ऐनको अवज्ञा गरेको मानिने र ऐनमा भएको व्यवस्था अनुसार कारबाही हुने सिलवालले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)