ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्टक एक्सचेन्जका लागि तीन र कमोडिटी एक्सचेन्जका लागि चार कम्पनीको आवेदन

आवेदन जाँचबुझ भइरहेको छ : बोर्ड

२०८० बैशाख, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आह्वान गरेको नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि सातओटा आवेदन परेको छ । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले दिएको जानकारीअनुसार स्टक एक्सचेन्जका लागि तीन र कमोडिटी एक्सचेन्जका लागि चार कम्पनीले आवेदन दिएका छन् । आवेदन दिने म्याद आइतवारसम्म थियो । 

देवकोटाका अनुसार स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडले आवेदन पेश गरेका छन् । कमोडिटी एक्सचेन्जको लागि नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड र मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेडको आवेदन परेको देवकोटाले जानकारी दिए । 

धितोपत्र बजारलाई थप प्रतिस्पर्धी बनाउन भन्दै बोर्डले एक नयाँ स्टक एक्सचेन्ज, दुई कमोडिटी एक्सचेन्ज र रीतपूर्वक आवेदन दिने ब्रोकर कम्पनीलाई लाइसेन्स वितरण गर्न लागेको हो । तीन किसिमकै लाइसेन्सका लागि आवेदन लिने काम सकिएको छ । बोर्डले नयाँ लाइसेन्स वितरणका लागि गत असोज २ गते आवेदन माग गरेको थियो । ब्रोकरका लागि ४६ ओटा कम्पनीले आवेदन दिएका छन् । 

नयाँ लाइसेन्स वितरण प्रक्रियाविरुद्ध असोज ३१ गते परेको रिटमा सर्वोच्चले आदेश दिएपछि स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको आवेदन लिने प्रक्रिया स्थगित गर्नुपरेको थियो । पछि अदालतले रिट खारेज गरेपछि बोर्डले पुनः प्रक्रिया अघि बढाएको हो ।

ब्रोकर लाइसेन्सको आवेदन जाँचबुझ भइरहेको बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए । ‘प्रक्रिया पूरा गरेका ब्रोकर कम्पनीलाई जतिसक्दो छिटो लाइसेन्स वितरण गछौं,’ उनले भने, ‘स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि पनि १ महीनाभन्दा बढी लाग्दैन ।’ 

वैशाख १० गतेसम्म प्राप्त आवेदनलाई पहिलो चरणमा बोर्डको व्यवस्थापन टिमले हेरेर आवश्यक कागजात पुगे÷नपुगेको यकीन गरी सञ्चालक समितिमा पठाएपछि स्वीकृति प्रक्रिया अघि बढ्ने हमालले जानकारी दिए । 

नयाँ स्टक एक्सचेन्जका लागि दुई र कमोडिटी एक्सचेन्जका लागि दुई आवेदन बढी परेकाले निर्देशिकामा भएको व्यवस्थाबमोजिम लाइसेन्स वितरण गर्ने उनले बताए । 
नयाँ स्टक एक्सचेन्जका लागि ३ अर्ब रुपैयाँ चुक्ता पूँजी तोकिएको छ । नयाँ स्टकले ७० प्रतिशत संस्थापकतर्पm र ३० प्रतिशत सर्वसाधारणतर्पm शेयर स्वामित्व कायम गर्नुपर्नेछ । नयाँ स्टक एक्सचेन्जमा सर्वसाधारण लगानीकर्ताले ३० प्रतिशत शेयर पाउनेछन् । 

बोर्डले २०७६ सालमै कमोडिटी एक्सचेन्जको लाइसेन्स दिने तयारी गरेको थियो । यसअघि बोर्डले २०७६ वैशाखमा दुईओटा कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गर्ने गरी आवेदन माग गरेको थियो । ऊबेला ६ कम्पनीले बोर्डमा निवेदन दिएका थिए । बोर्डले पछि ती आवेदन रद्द गरेको थियो । 

वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार उक्त बजार सञ्चालनका लागि न्यूनतम चुक्ता पूँजी ५० करोडमा नघट्ने गरी बोर्डले समयसमयमा तोकेबमोजिम हुने उल्लेख छ । कमोडिटी एक्सचेन्जमा कृषिउपज, पशुपक्षी, सुनचाँदी, तामा, कपास, कफी, कच्चा तेललगायत वस्तुको कारोबार हुनेछ । बोर्डले वस्तु उत्पादकलाई बजारसम्म पहँुच पु¥याउन, वस्तुको मूल्य आविष्कारमा सघाउन र मूल्य स्थिरता कायम गर्न कमोडिटी एक्सचेन्जको आवश्यकता औंल्याएको हो । यो बजारबाट लगानीकर्ताले लगानीको वैकल्पिक उपकरण पाउने बोर्डको विश्वास छ ।

नयाँ स्टक एक्सचेन्जका लागि आवेदन दिएका कम्पनीमध्ये हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रूप, दीपक भट्ट, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, भवानी राणा, निवर्तमान अध्यक्ष शेखर गोल्छा, राजेन्द्र खेतान, सौरभ ज्योतिलगायतको लगानी छ । नेशनल स्टकमा सिद्धार्थ ग्रूप, अग्नि ग्रूपलगायत गैरआवासीय नेपालीकोे मुख्य लगानी रहेको बुझिएको छ । अन्नपूर्ण स्टक एक्सचेन्जमा भने सुरेन्द्रराज वाग्ले, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, शेखर सुवेदीलगायतको लगानी छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)