ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन स्टक एक्सचेन्जको विवाद कसरी सुल्झेला ? यस्तो भन्छ धितोपत्र बोर्ड

२०८० बैशाख, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar प्रजिता बुढाथोकी

काठमाडौं  । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन दिएका तीन कम्पनीमध्ये एउटाको विषयमा विवाद उत्पन्न भएको छ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि SEBON समक्ष हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण stock exchange लिमिटेडले आवेदन दर्ता गराएका छन् । 

सबैभन्दा पहिला बोर्डमा निवेदन दर्ता गराएको हिमालयन स्टक एक्सचेन्जको विषयमा विवाद उत्पन्न भएको हो । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले आफूहरूले हिमालयन स्टक एक्सचेन्ज लिमिटेडको नामबाट २०६६ सालमै लाइसेन्सका लागि निवेदन दर्ता गरिसकेको दाबी गरेका छन् ।

उनले २०६६ मङ्सिर १५ गते १७ ओटा कम्पनी मिलेर हिमालयन स्टक एक्सचेन्ज लिमिटेडको नामबाट आवश्यक सम्पूर्ण कागजातसहित लाइसेन्सका लागि आवेदन पेश गरेको बताएका छन् । भट्टराईले ‘२५ हजार रुपैयाँ धरौटीसमेत राखेर दिएको निवेदन टुंगो नलगाई एउटै नामको नयाँ आवेदन कसरी लिन मिल्छ’ भन्दै प्रश्न गरेका छन् । 

नयाँ लाइसेन्सका सम्बन्धमा बोर्डले शुरूका दिनदेखि नै विभिन्न विवाद खेप्दै आएको छ । नयाँ लाइसेन्स वितरण प्रक्रियाविरुद्ध परेको दुईओटा रिट सर्वोच्च अदालतबाट खारेज भएपछि प्रक्रिया अघि बढाएको बोर्डले भट्टराईले गरेको प्रश्नको समेत जवाफ दिनुपर्ने देखिन्छ ।

बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले कानूनमा भएको व्यवस्थाअनुसार बोर्डले तीन कम्पनीको आवेदन प्राप्त गरेको र तीमध्ये एउटाले मात्र लाइसेन्स पाउने बताए । बोर्डले तीन कम्पनीमध्ये एउटालाई मात्र स्टक एक्सचेन्जको लाइसेन्स दिने भएकाले प्रक्रियामा कुनै त्रुटि नहुने देवकोटाको भनाइ छ । 

यसअघि पनि बोर्डले स्टक एक्सचेन्जका लागि आवेदन माग गरेको जानकारी आफूलाई भए पनि उक्त अवधिमा दिएका आवेदन अद्यावधिकको अवस्थाबारे जानकारी नभएको देवकोटाको भनाइ छ । बोर्डले एउटै नामको अर्को आवेदन पनि लिएको भन्ने आरोपका विषयमा भने उनले भोलिका दिनमा यसअघिको अवस्थाबारे पनि छानबिन भएर अघि बढ्ने स्पष्ट पारे ।

यसअघि दर्ता भएका कम्पनी हालसम्म कानूनबमोजिम जीवित भए/नभएको र आगामी दिनमा उक्त आवेदन स्वीकार्न सक्ने अवस्थामा रहे/नरहेको विषयमा अवश्य छानबिन हुने देवकोटाले बताए । 
२०६६ सालमा निवेदन दिएको हिमालयन स्टक एक्सचेन्ज लिमिटेडमा महालक्ष्मी फाइनान्स, भिबोर सोसाइटी डेभलमपेन्ट बैंक लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, एनएलजी इन्स्योरेन्स, जनता बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सेन्ट्रल फाइनान्स, प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, ललितपुर फाइनान्स, महालक्ष्मी विकास बैंकलगायतको लगानी थियो ।

बोर्डमा हाल आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जमा भने शंकर ग्रूप, दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, भवानी राणा, निवर्तमान अध्यक्ष शेखर गोल्छा, राजेन्द्र खेतान, सौरभ ज्योतिलगायतको लगानी छ ।
बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणका लागि गत भदौमा धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ दोस्रोपटक संशोधन गरी लागू गरेको थियो । नयाँ व्यवस्थाअनुसार धितोपत्र बजार सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानूनबमोजिम दर्ता भएको संगठित संस्थाले दर्ता भएको मितिले ६ महीनाभित्र आवेदन दिनुपर्नेछ । 

नयाँ स्टक एक्सचेन्जको चुक्तापूँजी कम्तीमा ३ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । बोर्डबाट स्वीकृति पाई कारोबार सञ्चालन गरेको २ वर्षभित्र कम्पनीले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गरिसक्नुपर्नेछ । कानूनबमोजिम स्थापना भएको प्राइभेट कम्पनी वा संगठित संस्थाले मात्र धितोपत्र बजारको संस्थापक शेयर ग्रहण गर्न सक्नेछन् ।

#economy #market #newbusinessage #aarthikabhiyan #abhiyandaily #share #investment #NEPSE #IPO #sharemarket #SEBON  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)