ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिजनमै भएन नेपाली आइसक्रिमको व्यापार, खाली डब्बाभन्दा सस्तो विदेशी आइसक्रिम 

२०८० बैशाख, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालमा अहिले ५० भन्दा बढी आइसक्रिम (Icecream) उद्योग छन् । उनीहरूले उत्पादन गर्ने आइसक्रिम विदेशी ब्रान्डको भन्दा कुनै पनि कोणबाट कमजोर छैन । तर, विदेशी उत्पादनको मूल्य सस्तो हुँदा नेपाली उत्पादनलाई बजार बनाउनै धौधौ भइरहेको छ । 

नेपालमा अहिले भ्यानिला, चकलेट, बटर स्कच, स्ट्रबेरीलगायत दर्जनौं फ्लेभरको आइसक्रिमले बजार लिइरहेका छन् । नेपालमा अहिले नेपाल डेरी, डीडीसी, अजबको, स्नोफन, एभ्री डेजस्ता स्वदेशी ब्रान्डका साथै बास्किन-रोबिन्स, वडिलाल, अमुल र क्रिम बेल जस्ता आयातित विदेशी ब्रान्डका आइसक्रिमबीच प्रतिस्पर्धा छ । 

उपभोक्ताहरूले पनि स्वदेशीभन्दा विदेशी आइसक्रिममा बढी रूचि देखाउने गरेको व्यापारीहरू बताउँछन् । जसको कारण उपभोक्ता ठूला सुपरमार्केट र डिपार्टमेन्ट स्टोरमा सजाइएका आयातित आइसक्रिमको पछि लाग्दा सामान्य स्टल तथा पसलहरूमा रहेका नेपाली आइसक्रिममा ग्राहक कम हुँदै गएको खुद्रा व्यापारी बताउँछन् । 

‘हामीले विक्री गर्ने यहीं उत्पादन भएको सामान हो । उपभोक्ता विदेशी खोज्दै सुपरमार्केटतिर गएका छन् । त्यसैले सिजनमा आइसक्रिमको माग बढेको भए पनि नेपाली आइसक्रिम भने विक्री नै हुँदैन,’ एक खुद्रा व्यापारीले भने ।

बढ्दो आइसक्रिमको आयात

आर्थिक वर्ष परिमाण मूल्य
74/75 2412886 179613
75/76 598913 180823
76/77 294020 132743
77/78 341744 145440
78/79 603025 268524
78/79 9 महीनाको  372124 163776
79/80 9 महीनाको 351543 161285

भन्सार विभागको तथ्यांकले पछिल्लो पाँच वर्षमा आइसक्रिम आयात (Import) बढेको देखाउँछ । आर्थिक वर्ष (आव) ०७४/७५ मा नेपालले १७ करोड ९६ लाख १३ हजार रुपैयाँ बराबरको २४ लाख १२ हजार ८८६ किलोग्राम आइसक्रिम आयात गरेको थियो ।

आव ०७५/७६ मा बढेर १८ करोड ८ लाख २३ हजार रुपैयाँ बराबरको ५ लाख ९८ हजार ९१३ किलोग्राम आइसक्रिम नेपाल भित्रिएको थियो । तर, ०७६/७७ मा भने यसको आयात घट्यो । कोभिड माहामारीका कारण उक्त आवमा आइसक्रिम आयात घटेर १३ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको २ लाख ९४ हजार २० किलोग्राममा झर्‍यो । 

त्यसैगरी ०७७/७८ मा फेरि आइसक्रिम आयात बढ्यो । उक्त आवमा १४ करोड ५४ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ४१ हजार ७४४ किलोग्राम आइसक्रिम आयात गरेको थियो । आव ०७८/७९ मा २६ करोड ८५ लाख २४ हजार रुपैयाँ बराबरको ६ लाख ३ हजार २५ किलोग्राम आइसक्रिम नेपाल भित्रिएको थियो ।

नेपाल दूग्थ विकास संस्थानका प्रवक्ता राजेन्द्र अधिकारी आइसक्रिम बनाउने कच्चा पदार्थको कमी हुँदा माग भए जति आइसक्रिम उत्पादन गर्न नसकेको बताउँछन् । आन्तरिक कच्चा पदार्थ अभावले गर्दा बाहिरको तयारी आइसक्रिम बजार धान्ने अवस्था सृजना भएको उनको भनाइ छ ।

‘दही दूध नै पुगिरहेको छैन भने हामीले आइसक्रिम बनाउन त सक्दै सक्दैनौं । त्यही कारणले पनि आयात बढेको हो,’ उनले भने । उनले दुधको कमीले गर्दा आइसक्रिम उत्पादनमा पनि समस्या आउने दाबी गरे ।

विदेशी ब्राण्डका कारण नेपाली कम्पनीले बजार पाउनै मुश्किल : उद्योगी

नेपाल डेरी एशोसिएशनको आइसक्रिम विभागका सदस्य तथा अमुल डेरी एन्ड बेभेरेज प्रालिका सञ्चालक अर्जुन अधिकारीले गर्मीमा आइसक्रिमको माग बढे पनि विदेशी ब्राण्डका कारण नेपाली कम्पनीले बजार नपाएको गुनासो गरे । बजारमा अहिले माग त बढे पनि विदेशी ब्राण्डका कारण नेपाली ब्राण्डहरूलाई प्रतिस्पर्धा गर्न नै कठिनाइ भएको उनको भनाइ छ । 

स्वदेशी उत्पादनले आत्मनिर्भर हुन सकिने भए पनि तर सरकारको नीतिको कारण बजारमा माग हुँदाहुँदै व्यापार गर्न मुश्किल भएको अधिकारी बताउँछन् । ‘दुधको मूल्य अकासिएर कहाँ पुगिसक्यो । तर, आइसक्रिमको मूल्य भने त्यही छ । हामीलाई अहिले लगानी उठाउन नै गाह्रो छ । अहिले धेरैजसो दैनिक १ हजार लिटरभन्दा बढी आइसक्रिम उत्पादन गर्ने उत्पादकहरू मर्कामा छन् । हामीले ५०० एमएलको खाली डब्बा आयात गर्दा २२/२३ रुपैयाँसम्म पर्छ, त्योभन्दा सस्तो मूल्यमा भारत लगायतको मुलुकबाट नाम चलेकै ब्राण्डको आइसक्रिम आयात हुन्छ । यस्तो अवस्थामा हामीले कसरी प्रतिस्पर्धा गर्ने ?’ उनले प्रश्न गरे । 

अधिकारीले थपे, ‘हाम्रो आइसक्रिमको गुणस्तर विदेशको भन्दा कम छैन । तर, विदेशी आइसक्रिमका कारण ग्राहकको विश्वास जित्न नै गाह्रो छ । त्यसका साथै हामीलाई कच्चा पदार्थमा चर्को भन्सारका कारण मूल्यमा प्रतिस्पर्धा गर्न नै गाह्रो छ ।’ अधिकारीका अनुसार आइसक्रिमको व्यापार माघदेखि भदौ महीनासम्म मात्र हुन्छ । बाँकी ४ महिना भने उद्योग नै बन्द गरेर बस्नु पर्ने अवस्था हुन्छ । 

'सरकारले उद्योग मैत्री नीति ल्याउन आवश्यक छ’

'नेपालमा अन्य मुलुकबाटआयात हुने आइसक्रिको भन्सार शुल्क १० प्रतिशत हुँदा कच्चा पदार्थको भने ४० प्रतिशत छ । यस्तो अवस्थामा स्वदेशी कम्पनीहरूले मुल्यमा कसरी प्रतिस्पर्धा गर्ने ?' नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहाल भन्छन्, 'स्वदेशी उत्पादकलाई बचाउन र देश आइसक्रिममा आत्मनिर्भर बन्न सरकारले उद्योगमैत्री नीति ल्याउन आवश्यक छ ।'

अध्यक्ष दाहालका अनुसार नेपालमा साना र ठूला गरेर ५० बढी आइसक्रिम उद्योगहरू छन् । यी उद्योगहरूले औषतमा दैनिक २० हजार लिटरभन्दा बढी आइसक्रिम उत्पादन गर्छन् । तर, सरकारको उद्योगमैत्री नीति नहुँदा यी उद्योगहरूलाई बजार पाउन नै गाह्रो भएको उनी बताउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)