ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कञ्चनपुरमा स्थानीय तहले दिन थाले श्रम स्वीकृति

२०८० बैशाख, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर  । संघीय सरकारको परिपत्रअनुसार कञ्चनपुरका दुई स्थानीय तहले वैदेशिक रोजगारीका लागि आवश्यक पर्ने श्रम स्वीकृतिका लागि सहजीकरण गर्न थालेका छन् । 

कञ्चनपुरका भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकाले पुनः श्रम स्वीकृतिको काम शुरू गरेका हुन् । सरकारले वैैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने व्यवस्था गरेको थियो । 
 

कञ्चनपुरको वेदकोट नगरपालिकाले पहिलोपटक वैशाख ३ गते पुनः श्रम स्वीकृति दिएको रोजगार संयोजक भोजराज अवस्थीले जानकारी दिए । नयाँ श्रम स्वीकृतिका लागि स्वास्थ्य परीक्षण र अभिमुखीकरण दिनुपर्ने भएकाले अहिलेलाई पुनः श्रम स्वीकृति मात्र दिन थालिएको रोजगार संयोजक अवस्थीको भनाइ छ । त्यस्तै भीमदत्त नगरपालिकाले पनि वैदेशिक रोजगारमा जान चाहनेलाई नगरको रोजगार सेवा केन्द्रमार्फत पुनः श्रम स्वीकृति दिन थालेको छ ।

नगरपालिकाका रोजगार संयोजक मीन महराले पालिकाले श्रम स्वीकृतिका लागि सहजीकरणको काम गर्ने बताए । उनका अनुसार केन्द्रले वैदेशिक रोजगारीमा जान चाहनेको निवेदन संकलन गरी आवश्यक कागजात पुर्‍याएर अनलाइन फारम भरिदिने बताए । पालिकाबाटै श्रम स्वीकृति पाउन थालेपछि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।

वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था गरिएको वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले बताए । गत चैत १६ गते मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सक्ने निर्णय गरेको थियो । जिल्लाका अन्य पालिकाले पनि श्रम स्वीकृति दिने तयारी थालेका छन् ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा जोडेर विदेश जान अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रूपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।

सरकारले ७५३ स्थानीय तहमा रोजगारसम्बन्धी सेवा प्रवाहमा सहजीकरण गर्नेगरी रोजगार सेवा केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रमा रोजगार संयोजक र रोजगार सहसंयोजक गरी दुई कर्मचारीको दरबन्दी उपलब्ध गराइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)