ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यस्तो छ नेपालको एक दशकको आर्थिक वृद्धिदरको ट्रेन्ड : यो वर्ष दातृ निकायको भन्दा कम प्रक्षेपण

२०८० बैशाख, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० मा देशको आर्थिक (कुल गार्हस्थ्य उत्पादन–जीडीपी) वृद्धिदर सरकारको लक्ष्यभन्दा निकै कम हुने राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ । सरकारले चालू आवको बजेटमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुने लक्ष्य राखेको थियो । पछि त्यसलाई संशोधन गरी ४ दशमलव ५ प्रतिशतमा झारिएकोमा त्यो पनि प्राप्त नहुने देखिएको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले आवको तेस्रो त्रैमाससम्मको यथार्थ गणना र चौथो त्रैमासको अनुमानित आर्थिक क्रियाकलापका आधारमा मंगलवार आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशत मात्रै आर्थिक वृद्धि प्राप्त हुने प्रक्षेपण सार्वजनिक गरेको हो । उपभोक्ता मूल्यमा यो वर्षको आर्थिक वृद्धिदर १ दशमलव ८६ प्रतिशत हुने अनुमान छ । 
कार्यालयको प्रक्षेपण अनुसार यो वर्ष नेपाली अर्थतन्त्र (जीडीपी) को आकार उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब रुपैयाँ बराबर पुग्नेछ । अर्थतन्त्रका धेरै क्षेत्रको अवस्था बिग्रिएकाले यो वर्षको वृद्धिदर खुम्चिएको हो ।

कार्यालयका अनुसार पहिलो त्रैमासको वृद्धिदर शून्य दशमलव ३४ र  दोस्रो त्रैमासको वृद्धिदर शून्य दशमलव ७३ प्रतिशतले ऋणात्मक छ । खानी तथा उत्खनन, निर्माण, व्यापार तथा उत्पादनमूलक क्षेत्रको वृद्धिदर धेरै ऋणात्मक छ । आयात प्रतिबन्ध फुकुवा, सहज बा⋲य क्षेत्र जस्ता कारण बाँकी २ त्रैमासमा भने आर्थिक गतिविधि बढ्ने र यसले असारसम्ममा स्थिति सुध्रिने कार्यालयको विश्वास छ । 

यो वर्ष कृषि उत्पादन राम्रो भएकाले आर्थिक वृद्धिदरमा सुधार हुने कार्यालयको विश्वास छ । अर्थतन्त्रमा कृषिक्षेत्रको योगदान २४ दशमलव ६ प्रतिशत छ । चालू वर्षमा धानलगायत वर्षे बालीको उत्पादनमा वृद्धि भए पनि हिउँदे बालीको साथै दूध, अण्डा तथा मासु उत्पादनमा भएको सामान्य ह्रासले गर्दा प्राथमिक क्षेत्रअन्तर्गतको कृषिक्षेत्रको वृद्धि उल्लेख्य हुन नसकेको देखिन्छ ।

द्वितीय क्षेत्रअन्तर्गत पर्ने उद्योग, विद्युत्, ग्यास तथा आपूर्ति तथा ढल र फोहोर व्यवस्थापन र निर्माण क्षेत्रको अर्थतन्त्रमा योगदान १२ दशमलव ९ प्रतिशत रहने अनुमान छ । चालू वर्ष यसको वृद्धिदर शून्य दशमलव ५६ प्रतिशत हुने अनुमान छ । गत आवको तुलनामा उद्योग र निर्माण क्षेत्रमा आएको गिरावटको कारणले यस क्षेत्रको वृद्धिदरमा कमी आएको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

सेवाक्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात तथा भण्डारण, सूचना तथा सञ्चार, वित्तीय तथा बीमा क्षेत्र, घरजग्गा कारोबार, पेशागत तथा प्रशासनिक व्यावसायिक सेवाले यो वर्ष अर्थतन्त्रमा ६२ दशमलव ४ प्रतिशत योगदान गर्ने प्रारम्भिक अनुमान छ । चालू वर्ष यस क्षेत्रको वृद्धिदर २ दशमलव ३३ प्रतिशत हुने प्रक्षेपण छ ।

मुख्य रूपमा आयात तथा आन्तरिक औद्योगिक उत्पादनमा आएको गिरावटले थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ऋणात्मक बन्न पुगेको र यातायात तथा भण्डारण सेवामा पनि न्यून वृद्धिको कारण यस क्षेत्रको वृद्धिदर पोहोरको तुलनामा घटेको कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । 

यो वर्ष नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन १ हजार ४१० अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन भने १ हजार ३९९ अमेरिकी डलर छ । नेपाली रुपैयाँमा यो १ लाख ८२ हजार ६८३ रुपैयाँ हुन्छ । त्यसैगरी अघिल्लो आवको वृद्धिदर आधारभूत मूल्यमा ५ दशमलव २६ प्रतिशत हुने कार्यालयको अनुमान छ । आव २०७७/७८ मा भने ४ दशमलव ४९ प्रतिशतले अर्थतन्त्रको आकार बढेको कार्यालयको अन्तिम अनुमान छ । 

वृद्धि प्रक्षेपण दातृ निकायको भन्दा कम
कार्यालयले गरेको यस वर्षको आर्थिक वृद्धिको प्रक्षेपण दातृ निकायको भन्दा कम छ । विश्व बैंक र एशियाली विकास बैंकले केही हप्ताअघि नेपालले यसवर्ष ४ दशमलव १ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने प्रक्षेपण गरेका थिए । पूर्वसचिव विमल वाग्ले राजनीतिज्ञहरूले जनतालाई बढी आशावादी बनाउन बजेटमा महत्र्वाकांक्षी वृद्धिको लक्ष्य राख्ने गरेको बताउँछन् । अरू देशले लक्ष्यको ८०–९० प्रतिशत उपलब्धि प्राप्त गर्ने गरे पनि नेपालले पछिल्ला दशकमा राखिएका प्रगतिको लक्ष्य भेट्न नसकेको वाग्ले बताउँछन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)