ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनको मूल्यले रेकर्ड बनाउँदा बैंकका ऋणीलाई राहत ! बिहेको सिजनमै किन्ने भन्दा बेच्ने धेरै

२०८० बैशाख, २१  
बजार समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : सुनिल शर्मा/ आर्थिक अभियान
author avatar प्रतिक्षा कडेल

काठमाडौं । वैशाख महीना बिहेको सिजन हो । तर, यहि सिजनमा बिहीवार पहेंलो धातु सुनले नेपाली बजारमा नयाँ रेकर्ड कायम गर्‍यो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीवार सुनको मूल्य एकै दिन प्रतितोला १ हजार २०० रुपैयाँले बढेर तोलाको १ लाख ११ हजार ८०० रुपैयाँ कायम भयो । यसअघि गत चैत २२ गते सुनको भाउ प्रतितोला १ लाख ११ हजार रुपैयाँसम्म पुगेको थियो ।

बजारमा सुनको मूल्य बढेसँगै अहिले किन्नेहरू भन्दा बेच्ने ग्राहक बढी भएको सुनचाँदी  व्यावसायीहरू बताउँछन् । बिहेको सिजनमा सुन किन्ने भन्दा विक्रीगर्ने बढीहुँदा समस्या भएको उनिहरूले बताएका छन् ।

न्युरोड स्थित ऋद्धिसिद्धि ज्वेलर्समा कर्यरत राजन अधीकारी सुनको मूल्य बढेसँगै पुरानो सुन बेच्ने ग्राहक धेरै आएको बताउँछन् । उनले अहिले आर्थिक मन्दीका कारण पनि पहिले जस्तो खरीद गर्ने ग्राहकको चहल पहल नभएको तथा सुनले नयाँ रेकर्ड बनाएपछि त विक्री गर्नेहरू नै बढेको बताए ।

'अहिले मन्छेलाई दालभात नै कसरी खाने भन्ने अवस्था आइसकेको छ, सुन किन्ने त परको कुरा । त्यसमाथी सुनको मूल्य निरन्तर बढीरहेको छ । मूल्य बढ्नाले ग्राहक किन्ने भन्दा बेच्ने तिर लागेका छन्,'उनले आर्थिक अभियानसंग भने । 

उनका अनुसार पहिला पहिला सिजनमा कोटा प्रणालिले गर्दा बजार माग धान्न नै मुस्किल थियो । तर अहिले पुरानै सुन गालेर काम भइरहेको छ । माघ फागुनमा दैनक ५०, ६० तोला सम्म सुन विक्री गर्ने ब्यापारीले अहिले मुस्किले १० तोला विक्री गर्न सकेको उनले बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अध्यक्ष मणिकरत्न शाक्यले सुनको मुल्य अन्तराष्ट्रिय बजारमा नै बढेकोले नेपाली बजारलाई पनि असर गरेको बताए ।

'मेरो विचारमा यो अहिलेको मूल्यबाट अझ बढ्ने सम्भावना छ । अहिले बिवाह लगायतका कारण सुनको सिजन भएता पनि विगतमा जस्तो बजारमा चहलपहल भने छैन,' उनले भने, 'अहिले महङ्गीका कारण ग्राहकहरूले सुन किन्ने अवस्था पनि छैन ।'

सिजनमा दैनिक ३५ देखि ४० किलोग्रामसम्म सुनको माग हुने गरेको उनले बताए । सरकारले सुनमा दैनिक १० किलोग्राम कोटा लगाउँदा  सिजनमा माग धान्न मुस्किल पर्दै आएकोमा अहिले भने खरीद गरेकै सुन बेच्न पनि नसकिएको उनले बताए ।

एक वर्षमा कतिले बढ्यो भाउ ? 
पछिल्लो एक वर्षमा सुनको मूल्य तोलामा १४ हजार ६०० सय रूपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्ष आजकै दिन सुनको भाउ प्रतितोलाको ९७ हजार २०० रूपैयाँ थियो । त्यसयता सुनको मूल्यमा निकै उतारचढाव आइसकेको छ । 

पछिल्लो वर्षभर सुनको मूल्यमा उतारचढाव रहेपनि चैत २२ गते उच्चतम् मूल्य कायम भएको थियो । उक्त दिन सुन तोलाको १ लाख ११ हजार रूपैयाँ कायम भएको थियो । उक्त मूल्यलाई आज फेरी उछिन्दै तोलाको १ लाख ११ हजार ८०० रुपैयाँमा कायम भएको छ ।

उक्त अवधिमा गत असार ४ गते  यस वर्षकै न्यूनतम मूल्य तोलाको ९१ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी सुनको मूल्य गत पुष ३ गते देखि लगातार १ लाख रुपैयाँभन्दा बढीमा कारोबार हुँदै आएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि एक वर्षमा प्रतितोला १५५ रूपैयाँले बढेको छ । गत वैशाख २१ गते प्रतितोला १ हजार २९० रूपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला १ हजार ४४५ रूपैयाँ पुगेको छ ।

सुन आयात कति ? 

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (आव)को ९ महीनामा सुन आयात घटेको छ । चालू आवको साउनदेखि चैत मसान्तसम्म १७ अर्ब २८ करोड ७ लाख ८२ हजार रूपैयाँ बराबरको २३ लाख १६ हजार ५८६ ग्राम (२ हजार ३१६ दशमलव ५ किलो) सुन आयात भएको छ । गत वर्ष यसै अवधिमा २८ अर्ब ५४ करोड ९० लाख ४ हजार रूपैयाँको ४० लाख ९४ हजार ५०० ग्राम (४ हजार ९४ किलो)  सुन आयात भएको थियो । समीक्षा अवधिमा सुनको आयात ४३ प्रतिशत घटेको छ । 

नेपालले सुन स्विजरल्यान्ड, टर्की, युएइ र उजबेकिस्तान बाट आयात गर्दै आएको छ । यो अवधीमा सबैभन्दा धेरै यूएईबाट १४ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ बराबराबरको १९ लाख ६६ हजार ५४६ ग्राम सुन आयात भएको छ ।

सरकारले दैनिक सुनको कोटा १० किलोग्राम मात्र आयात गर्न पाउने निर्देशन लागू गरेसँगै सुनको कारोबारमा कमी आएको महासँघका प्रवक्ता मनोज कुमार साह बताउँछन् । उनले कोटाका कारण नेपालमा सुनको कारोबार घटेको व्यवसायीहरूको गुनासो रहेको बताए । सरकारले सुनमा कोटा प्रणाली लागू गरेसँगै बिवाह लगायतको सिजनमा सुन कालोबजारी पनि बढेको व्यवसायीहरूको गुनासो रहेको बताए ।

सुनको मूल्य बढ्दा वित्तीय क्षेत्रका ऋणीलाई राहत

सुनको मूल्य बढ्दा वित्तीय क्षेत्रका ऋणीलाई राहत भएको छ । एकातर्फ बैंकको चर्को ब्याजदर र अर्को तर्फ देशमा देखिएको नरम आर्थिक मन्दीका कारण चपेटामा परेका ऋणीलाई भने आँफूसँग रहेको खजाना विक्री गरी ब्याज तिर्न सहज भएको बताएका छन् ।

न्यूरोडको एक सुनपसलमा पुरानो सुन विक्री गर्न पुगेका कीर्तिपुरका अनन्त कँडेलले ऋणको ब्याज तिर्न समस्या परेको तथा यहि बेला सुनको मूल्य पनि केहि बढेकोले सुन विक्री गर्न लागेको बताए । 

उनले वैंकबाट ऋण लिएर कीर्तिपुरमा घर बनाउँदै छन् । केही रकम ऋण लिएर शेयरबजारमा समेत लगानी गरेका उनले हाल ओरालो लागेको बजारमा शेयर बेच्नु भन्दा खजाना विक्री गर्दा राम्रो पैसा आउने देखेर विक्री गर्न लागेको बताए । ऋण लिएर शेयरमा लगानी गरेको त्यताको बजार त्यस्तै छ, शेयर बेचेर ब्याज तिर्नुभन्दा सुन बेचेर शेयर होल्ड गर्न ठिक लाग्यो, 'उनले भने ।

दक्षिणकाली बस्ने रमा घिमिरेले स्थानीय सहकारीबाट ऋण लिएर बाख्रा पालेकी थिइन् । पाठा नहुर्कींदै सहकारीले किस्ता तिर्न दवाब दिएपछि आँफ्नो तिलहरी र छोरीको घाँटीको सिक्री विक्री गर्न आएको बताइन् ।

'सहकारीबाट ऋण लिएर बाख्रा किनेकी थिएँ । ६ महीना पनि भएको छैन सकेसम्म ऋण तिर नत्र किस्ता भएपनि तिर भन्न थाले । त्यसैले सुन बेच्न आएकी थिएँ, आज सुनको भाउ पनि बढेको छ रे,' उनले भनिन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)