ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्मकाण्डी बजेट नल्याउन सांसदहरूको सुझाव

२०८० बैशाख, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सांसदहरूले अर्थतन्त्र अप्ठ्यारोमा रहेका बेला परम्परागत शैलीको कर्मकाण्डी बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनीहरूले अर्थतन्त्र संकटमा परेको बेला पुरातनवादी बजेटले अर्थ नराख्ने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक २०८० मा राखेका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी भएको बताए । अर्थतन्त्र समस्याग्रस्त भएर लय गुमाएको बेला आर्थिक स्थायित्व र स्थिरताका कुरा गर्नु उचित नभएको उनको तर्क छ ।

‘आर्थिक वृद्धि र स्थायित्व जायज हुन्, तर सरकारले यस्तो समयमा आर्थिक स्थायित्व र स्थिरताका कुरा गरिरहेको छ, जतिबेला अर्थतन्त्रले लय गुमाएको छ । ८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण भएको देशमा २ प्रतिशत हाराहारीमा रुमल्लिइरहेका छौं,’ उनले भने, ‘लयमा अर्थतन्त्र हुँदा स्थिरताका कुरा गर्न सुहाउँछ । अर्थतन्त्र संकट र भड्खालोमा जाकिएका बेला स्थायित्व र स्थिरताका कुराले न्याय गर्दैन ।’

सरकारले आइतवार रातिसम्म ७३३ अर्ब राजस्व संकलन र १ हजार १६ अर्ब खर्च गरेको भन्दै राजस्व संकलन र खर्चबीचको त्यति ठूलो खाडल पुर्न सजिलो नभएको डा. वाग्लेले बताए ।  उनले वर्तमान अवस्थामा वित्तीय क्षेत्रमा कर्जा लगानी र आर्थिक वृद्धिबीच ठूलो भ्वाङ परेको उल्लेख गरे । कर्जा वर्षेनि २०–२२ प्रतिशतले वृद्धि भइरहेको र यो अर्थतन्त्रको गतिसँग समान नदेखिएको उनको भनाइ छ । सांसद वाग्लेले वस्तु सेवा आयात र निर्यातबीच तथा उत्पादन र उपभोगबीचको खाडल भर्न बजेटमार्फत फरक ढंगले तत्काल गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेर पुनः मूल्यांकन गर्न सरकारलाई आग्रह गरे ।

डा. वाग्लेले परिमाणात्मक विकासबाट गुणात्मक विकासमा जानुपर्ने आवश्यकता पनि औंल्याए । उनका अनुसार सिद्धान्त र प्राथमिकतामा शिक्षा, स्वास्थ्य, खानेपानीका कुरा आए पनि विगत ३२ वर्षमा यी क्षेत्रमा ठूलो परिवर्तन आएको बताए । उनका अनुसार अब सडक, विद्यालयभन्दा विद्यालयमा सिकाइ र अस्पतालमा गुणस्तरीय सेवामा जोड दिनुपर्छ । नेपालमा कुपोषणको महामारी रहेको भन्दै उनले कुपोषणले सिंगो पुस्ताको एक तिहाइलाई प्रताडित बनाएको बताए । ‘त्यसलाई सम्बोधन गर्नुपर्छ,’ सांसद वाग्लेले भने ।

अर्थमन्त्रीले वित्त नीतिमा ठाउँ छैन भन्दै मौद्रिक नीतिका उपकरणबाट अगाडि जानुपर्ने कुरा गर्नु गलत भएको वाग्लेको भनाइ छ । सरकारको नीति तथा कार्यक्रममा ठाउँ खोज्न सके धेरै भेटिने उनको भनाइ छ । 
नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित गर्न सुझाव दिए । उनले भने, ‘स्रोतमा आएको संकुचनका कारण हामीलाई हौसिएर बजेट बनाउने सुविधा छैन । अहिलेको अवस्थामा लोकप्रिय होइन, यथार्थपरक बजेट आवश्यक छ ।’

विश्व अर्थतन्त्रमा कुनै न कुनै प्रभाव रहेको र त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको उल्लेख गर्दै कार्कीले रोजगारी बढाउने, दिगो र सबल अर्थतन्त्रको विकास गर्ने अठोटका साथ बजेट आउनुपर्ने बताए । अर्थमन्त्री डा. महतले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर प्राप्त गर्ने, रोजगारी बढाउने र दिगो र सबल अर्थतन्त्रको विकास गर्ने अठोट गरेको भन्दै कार्कीले स्वागत र समर्थन गरे । नेकपा (एमाले)का सांसद तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा मन्दी देखिएको बताए ।

‘अर्थतन्त्रका समस्या के हुन्, अहिलेको अवस्था के हो भनेर तथ्य प्रस्तुत गर्नुपर्छ । तर, सरकार अर्थतन्त्रका समस्या र चुनौतीप्रति बेखबर रहेको मैले पाएँ,’ पौडेलले भने, ‘समस्या कहाँ छ र चुनौती के हुन् भनेर पहिचान नगरी बेखबर रहेको पाइन्छ ।’

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले नेपाली अर्थतन्त्र मन्दीमा रहेको देखाएको उनको भनाइ छ । चालू आर्थिक वर्षका २ त्रैमासको आर्थिक वृद्धिदर ऋणात्मक भएको र यसले मन्दी भएको पुष्टि गर्ने पौडेलले बताए । ‘यो कुरा तथ्यांकले बोलेको छ । अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा ढाक्छौं कि स्वीकार गर्छौं ? यो दोबाटोमा हामी छौं । अहिले अर्थतन्त्र मन्दीमा गएको छ भन्ने मानेर चुनौतीसँग जुध्ने अठोटका साथमा बजेट आउनुपर्छ । तर, सरकारले यसलाई स्वीकार गरेको पाइँदैन,’ पूर्वमन्त्री पौडेलले भने । 

निजीक्षेत्र निराश भएको तथा सार्वजनिक वित्त भद्रगोल भएको उनको भनाइ छ । चालू आवमा राजस्व लक्ष्यको तुलनामा ५० प्रतिशतमात्र उठेको र गतवर्षको भन्दा १३ प्रतिशतले घटेको तर खर्च १९ प्रतिशतले बढेको उनले बताए । यही कारणले गर्दा २ खर्बभन्दा बढीले सञ्चित कोष घाटामा गएको पौडेलको भनाइ छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले देशको अर्थतन्त्र अहिले असाधारण अवस्थामा रहेको बताए । उनले भने, ‘विगतका वर्षमा भैंm ‘गरिनेछ’ले भरिएको तात्त्विक रूपमा विगतका वर्षहरूभन्दा फरक नरहेको दस्तावेज अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभयो । यो दस्तावेज केही शब्द र वाक्य हेरफेर गरी प्रस्तुत गरिने नियमित कर्मकाण्डका रूपमा आएको छ ।’

बजेटमा गर्छौं भन्ने हो भने त्यो गरेरै छाड्नुपर्ने भन्दै आशाका पुलिन्दामात्रै पस्किन नहुने उनको भनाइ छ । ‘यदि गरिएन भने किन भएन, त्यो सार्वजनिक हुनुपर्छ । ‘गरिनेछ’ले मात्रै भरिएको छ यो दस्तावेज,’ लामिछानेले भने ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)