ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हेम्प फाइबर उत्पादन : सुदूरका जिल्लालाई कच्चा पदार्थको हब बनाइँदै 

२०८० बैशाख, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । गाँजा विभिन्न प्रयोजनमा उपयोग हुँदै आएको छ । नशालु पदार्थ र औषधि दुवै रूपमा यसको प्रयोग हुन्छ । आम बुझाइ पनि यही छ । तर, यसको बोक्राबाट बन्ने धागो तथा फाइबरलाई व्यावसायिक रूप दिएर निकासी व्यापार गर्नेहरू पछिल्लो समय बढिरहेका छन् । 

आन्तरिक बजारमा अझै पनि गाँजाबाट बनेको वस्तुभन्दा नाक खुम्च्याउने मान्छे भेटिने यसमा संलग्न व्यवसायीको अनुभव छ । तर, यूरोपेली देश र खासगरी अमेरिकामा बढी माग हुने यसका सामग्री एउटै व्यवसायीले वार्षिक करोड रुपैयाँभन्दा बढीको निर्यात गर्छन् । हेम्प फाइबरका सामग्री निर्यात गर्ने व्यवसायीले यसको कच्चा पदार्थ गाँजाको बोक्रा स्वदेशी नै उपयोग गर्ने बताउँछन् । सम्बद्ध व्यवसायीका अनुसार बोक्राका लागि सुदूरपश्चिमका जिल्ला हब बनेका छन् । 

फरेस्ट फाइबर नेपाल प्रालिका मार्केटिङ प्रमुख लोकेन्द्र पाण्डेले जाजरकोट, बझाङ, बाजुरा, दैलेख, रूकुम र रोल्पाबाट कच्चा पदार्थ ल्याउने गरेको बताए । उनले काठमाडौंको बूढानीलकण्ठमा एक रोपनी जग्गा भाडामा लिएर गाँजाको धागो र कपडा उत्पादन गर्दै आएका छन् । उनको उद्योगबाट दैनिक ५०० मीटर धागो उत्पादन हुन्छ । 

१० हजार रुपैयाँबाट शुरू भएको यो व्यवसाय अहिले ३ करोड रुपैयाँभन्दा माथि पुगेको उनको भनाइ छ । वार्षिक करोडभन्दा बढीका सामग्री निकासी गर्दै आएको पाण्डे बताउँछन् । उनका अनुसार सबैभन्दा गुणस्तरीय हेम्प बाजुरा, रोल्पा र रूकुमको हुन्छ । कपडा, झोला, योगाम्याट, स्लिपर, टोपीलगायत सामग्री यसैबाट बनाउने गरेको उनको भनाइ छ । कारखानामा ४० ओटा मेशिन राखेर काम भइरहेको र ८० जनालाई प्रत्यक्ष रोजगारी दिएको उनले बताए ।

छिमेकी मुलुक भारत, अमेरिका, जर्मनीलगायत देशमा यस्ता उत्पादन निर्यात गरिरहेका उनले फिल्डमै गएर कच्चा पदार्थ ल्याउने र किसानलाई प्रतिकेजी ६०० रुपैयाँसम्म दिने गरेको बताए । उनले मासिक ७ हजार केजीसम्म बोक्रा किन्ने गरेका छन् ।

बूढानीलकण्ठमै कारखाना चलाइरहेका अर्का व्यवसायी आरसी रावल पनि ती जिल्लाबाटै कच्चा पदार्थ ल्याउने गरेको बताउँछन् । बझाङ जिल्लाका रावलले २०६८ मा हेम्प किङडम ह्यान्डिक्राप्mट प्रालि स्थापना गरेर यसका उत्पादन निर्यात गर्दै आएका छन् । 

काठमाडौंको ठमेल क्षेत्रमा २५÷३० ओटासम्म कम्पनीले यसका विभिन्न उत्पादन बनाउनेदेखि विक्री, निर्यातसम्म गर्दै आएको यही क्षेत्रमा व्यवसाय गर्दै आएका उनको भनाइ छ । उनले पनि यस्तै खालका सामग्री वार्षिक १ करोड रुपैयाँभन्दा बढीको निकासी गर्छन् । ‘पहिला भारतमा बढी निकासी हुने गरेकामा अहिले त्यहाँ नै यसको उत्पादन धेरै छ,’ रावलले भने, ‘अमेरिकामा धेरै निकासी हुन्छ । स्पेन, इटालीलगायत देशमा पनि जान्छ ।’

रावलले बझाङको तलकोट गाउँपालिकाका विभिन्न वडाका ४० महिलालाई गाँजाको बोक्राबाट धागो बनाउन सिकाइएको बताए । ‘धागो बनाउने शीप सिकेका महिलाले अरूलाई सिकाउनेछन्,’ रावलले भने, ‘काठमाडौंबाट बीउ लगेर व्यावसायिक रूपमा खेती गर्ने तयारी गरेका छौं ।’ १२ वर्षदेखि यही व्यवसाय गर्दै आएका उनले गाँजालाई नशालु पदार्थका रूपमा मात्रै बुझ्दा समस्या भएको बताए ।

गाँजा फाइबरको प्रयोग बढी महŒवपूर्ण हुने भन्दै उनी थप्छन्, ‘यसको फाइबरले उत्पादन र निकासीमा पु¥याएको योगदान हेरिनुपर्छ । अर्कोतिर गाँजालाई एउटै भाष्यमा मात्रै हेरेर बस्नु हुँदैन ।’ अहिले दक्ष कामदार नपाउने, गुणस्तरीय प्रविधिको पहुँच र सडक गुणस्तरीय नहुँदा ढुवानीमै समस्या भएको उनको भनाइ छ । उनले गाँजा फँडानीमा पनि व्यवसायी र प्रहरीबीच छलफल र सहकार्य हुनुपर्नेमा जोड दिए । 

हेम्प हाउस नेपाल प्रालिका सह–संस्थापक दीपेन्द्र दाहालले पनि कच्चा पदार्थ बझाङ, बाजुरा, रोल्पाबाट ल्याउने गरेको बताए । ती जिल्लाबाट बोक्रा ल्याएर प्रशोधन गर्ने गरेको उनको भनाइ छ । प्रशोधन तथा उत्पादन भने काठमाडौंमा हुन्छ । ५० लाख रुपैयाँबाट व्यवसाय शुरू गरेका उनले कोरोना महामारीपछि व्यापार घटेको र त्यसयताका वर्षमा १ करोड रुपैयाँसम्मका सामग्री निर्यात गरेको बताए । त्यसअघि भने वार्षिक ३ करोड रुपैयाँसम्मको सामग्री निर्यात गरेको उनले जानकारी दिए । उनले हेम्पका उत्पादनको माग अमेरिकामा बढी भएको बताए ।

काठमाडौंको वनस्थलीमा रहेको उनको कारखानामा २२ जनाले काम गर्छन् । पहिला धागोबाट कपडा पनि बनाउने गरेका उनी अहिले विभिन्न खाले झोला मात्रै बनाउँछन् । ‘अहिले अर्डर गरेपछि मात्रै कपडा बनाइन्छ,’ दाहालले भने, ‘अहिले पहिला जस्तो बजार छैन । प्रविधि पनि उच्चस्तरको छैन ।’

२२ ओटा मेशिनबाट गाँजाको धागोबाट विभिन्न वस्तु उत्पादन गर्दै आएका उनले बाहिर माग राम्रो भए पनि आन्तरिक बजारमा अझै पनि गाँजाको सामान के प्रयोग गर्ने भन्ने मानसिकता रहेको अनुभव सुनाए ।

यसको धागोबाट स्लिपर, क्यापदेखि मनी ब्याग, हातेझोला र कोरोना कालपछि माक्स पनि बनाइएको छ । औषधीय गुण भएको गाँजाका बोक्रा प्रशोधन गरेर व्यवसाय गर्नेको संख्या पनि पछिल्लो समय बढेको छ । अधिकांश ह्यान्डिक्राप्mट विक्री हुने पसलमा यसबाट बनेका कपडादेखि माक्ससम्मका सामग्री देख्न सकिन्छ ।
प्रतिकेजी ९ डलरसम्म कार्गो शुल्क बढ्दा मर्का

गाँजाका फाइबरहरू आन्तरिकभन्दा निर्यात बढी हुने गरेको सम्बद्ध व्यवसायी बताउँछन् । व्यवसायीले एयर कार्गोेबाट अमेरिका, जर्मनीलगायत देशमा यसबाट बनेका ब्याग, स्लिपर, कपडा, योगाम्याट निर्यात गर्छन् । तर, कार्गो शुल्क अत्यधिक भएको उनीहरूको गुनासो छ । केही वर्षअघि प्रतिकेजी ३ अमेरिकी डलर कार्गो शुल्क रहेकोमा अहिले प्रतिकेजी १२ अमेरिकी डलरसम्म पुगेको हेम्प किङडम ह्यान्डिक्राप्mट प्रालिका प्रबन्ध निर्देशक आरसी रावलले बताए । 

कोरोना महामारीपछि एयर कार्गो शुल्क अत्यधिक बढेको उनको गुनासो छ । पहिलाभन्दा निकासी कम भएको तर शुल्क बढाइएको भन्दै हेम्प हाउस नेपाल प्रालिका सह–संस्थापक दीपेन्द्र दाहालले घटाउनुपर्नेमा जोड दिए । यसले गर्दा नेपाली वस्तुको प्रतिस्पर्धी क्षमता कमजोर भएको उनको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)