काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक दर एक प्रतिशतले घटाई ७.५ प्रतिशत कायम गरेको छ । शुक्रवार राष्ट्र बैंकले आर्थिक वर्ष २०७९ /८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जारी गर्दै बैंक दर घटाएको हो ।
यससँगै कर्जा र निक्षेपको ब्याजदर घट्न सक्ने अनुमान गरिएको छ । बैंक दरले कर्जा र निक्षेपको ब्याजदरमा प्रभाव पार्छ । बैंक दर बढ्दा ब्याजदर बढ्ने र घट्दा ब्याजदर घट्ने सम्भावना हुन्छ ।
बैंकले नीतिगत दरलाई भने ७ प्रतिशतमा यथावत राखिएको जनाएको छ । यस्तै बैंकले ब्याजदर करिडोर अन्तर्गतका अन्य दरहरूलाई भने यथावत नै राखेको छ ।
विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरूको सम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।