काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले कृषि बीमाको दाबीबापत पाउनुपर्ने झण्डै ३ अर्ब रुपैयाँ भुक्तानी नपाएपछि आगामी जेठ ८ बाट कृषि बीमा बन्द गर्ने निर्णय गरेका छन् ।
निर्जीवन बीमा कम्पनीहरूको संस्था नेपाल बिमक संघले सोमवार विज्ञप्ति जारी गर्दै कृषि बीमालेख जारी गर्न र बीमालेखअन्तर्गतको दाबी भुक्तानी दिन बन्द गर्ने घोषणा गरेको छ । संघले नेपाल सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्ण रूपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी नगर्नुका साथै सम्बन्धित क्षतिको दाबी भुक्तानी पनि नगर्ने कम्पनीहरूले निर्णय गरेका हुन् ।
संघका अनुसार बाली बीमाको अनुदान रकम २०७८ साल आश्वीनदेखि चैत्र मसान्तसम्म आंशिक दिई हालसम्मको बाँकी रहेको छ । यस्तै, माछाको अनुदान रकम २०७७ सालदेखि र पशु-पक्षी बीमाको अनुदान रकम २०७८ साल आश्वीनदेखिको बाँकी रहेको छ ।
संघले अनुदानको रकम उपलब्ध गराउन नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दा पनि अहिलेसम्म प्राप्त नहुँदा बीमा कम्पनीहरू जोखिममा परेको समेत जनाइएको छ ।