ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषिका ५० उद्योग स्थापनामा सरकारको बेवास्ता

२०८० जेठ, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । मुलुकमा औद्योगिक ग्राम घोषणा गरिए पनि त्यसको कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा नराख्दा कृषिसँग सम्बद्ध ५० ओटा साना उद्योग स्थापना गर्ने योजना ३ वर्षदेखि अघि बढ्न सकेको छैन । 

आवश्यक बजेट व्यवस्थापनदेखि उचित समन्वय नहुँदा विस्तृत परियोजना प्रतिवेदन (DPR), डिजाइन र जग्गासमेत प्राप्त भएको ‘महिला उद्यमी हरित औद्योगिक ग्राम’को काम अघि बढ्न नसकेको हो । 

महिला उद्यमीलाई लक्ष्य गरेर शुरू गरिएको यो ग्राम सञ्चालनमा ल्याउन महिला उद्यमीले प्रयास गरे पनि हालसम्म सञ्चालनका लागि आवश्यक पूर्वाधार बन्न सकेको छैन । 

औद्योगिक ग्राम स्थापना गर्न काभ्रेको पाँचखाल नगरपालिकासँग जग्गाका लागि सम्झौतासमेत भइसकेको छ । २५ वर्षका लागि सय रोपनी जग्गा भाडा लिन सम्झौता भइसकेको ग्रामकी अध्यक्ष शारदा रिजालले जानकारी दिइन् ।

यो जग्गामा खाद्यमा केन्द्रित गरी कृषिसँग जोडिएका करीब ५० ओटा साना उद्योग सञ्चालन गरिने रिजालले बताइन् । यसमध्ये २५ ओटा स्टार्टअप र २५ ओटा लघुउद्यम हुने उनको भनाइ छ । गुरुयोजनाअनुसार उक्त ग्राममा आलु, लप्सी, जडीबुटी प्रशोधन, प्राकृतिक फाइबरका साथै दुग्ध उत्पादनका उद्यम सञ्चालन गरिने लक्ष्य छ । यो औद्योगिक ग्रामको पूर्वाधार विकासका लागि पटकपटक विभागीय मन्त्री र प्रधानमन्त्रीसमेत भेटेर ज्ञापनपत्र बुझाउँदै आएको रिजालले जानकारी दिइन् ।

तर, बजेट नै नहुँदा पूर्वाधार निर्माण अघि बढाउन नसकिएको उनको भनाइ छ । ‘औद्योगिक ग्रामका लागि २ करोड रुपैयाँ बजेट छ,’ रिजालले भनिन्, ‘यसमा पूर्वाधार बनाउन र अन्य विविध कामका लागि ९५ करोड रुपैयाँ आवश्यक पर्ने डीपीआरले देखाएकाले उक्त रकम निकासा गर्न सरकारसँग माग गरी ज्ञापनपत्र बुझाइएको छ ।’ 

सरकारका उच्च अधिकारीलाई भेटेर उद्योग स्थापनाका लागि सघाउन आग्रह गर्दै आए पनि ३/४ वर्षs यत्तिकै बितेको उनको भनाइ छ । रिजालका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयबाट ढिलाइ हुँदा तयार भएको योजना कार्यान्वयनमा जान सकेको छैन । यो ग्रामको गुरुयोजना, डीपीआर, वातावरणीय प्रभाव मूल्यांकनका काम भइसकेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलले ग्राम बनाउने घोषणा भए पनि अन्य काम केही नभएको बताइन् । ‘महिलालक्षित औद्योगिक ग्राम अघि बढाउने सम्बन्धमा केही काम भएको छैन,’ उनले भनिन्, ‘पूर्वाधारका काम तथा बजेट प्रस्तावसहित मन्त्रिपरिषद्मा पठाइएको फाइल फिर्ता भएको छ ।’ मुलुकभर औद्योगिक ग्राम सञ्चालन गर्न सरकारले ‘औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७५’ ४ वर्षअघि नै ल्याइसकेको छ । उक्त कार्यविधिमा ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम’ सञ्चालन गर्न सकिने उल्लेख छ । 

महिला उद्यमीलाई उद्योगमा आकर्षित र प्रोत्साहित गर्न महिला उद्यमीले मात्रै उद्योग स्थापना गर्न पाउने गरी सरकारले महिला उद्यमी विशेष औद्योगिक ग्राम घोषणा गर्न सक्ने उल्लेख छ । यही प्रावधानमा टेकेर महिला उद्यमीले काभ्रेको पाँचखाल नगरपालिकामा पर्ने हुक्सेमा ग्राम स्थापना गर्ने योजना अघि सारेका हुन् । 

सरकारले ग्राम घोषणामा तदारुकता देखाए पनि कार्यान्वयनमा चासो दिन सकेको छैन । सरकारले घोषणा गरेका अन्य ग्रामको अवस्था पनि यसको भन्दा फरक छैन । बजेट उपलब्ध गराएका केही ग्राममा समेत आधारभूत औद्योगिक पूर्वाधार बनेका छैनन् । सरकारले सबै प्रदेशमा औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक ग्राम विस्तार तथा विकास गर्ने अवधारणा अघि सारेको छ ।

सोहीअनुसार घोषित यस्ता क्षेत्रमा औद्योगिक पूर्वाधार र पर्याप्त लगानी भने हुन सकेको छैन । बागमती प्रदेशको काभ्रेमा यो औद्योगिक ग्राम स्थापना गर्न २०७७ अघि नै स्वीकृति दिइएको थियो । हालसम्म भौतिक काम हुन सकेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)