ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिबन्ध हटे पनि वीरगञ्ज भन्सारमा सुध्रिएन वैदेशिक व्यापार : २ खर्ब १४ अर्ब लक्ष्य, १ खर्ब २८ अर्ब संकलन

२०८० जेठ, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । वैदेशिक विनिमय सञ्चिति घटेको भन्दै आयातमा कडाइको नीति सरकारले हटाए पनि वैदेशिक व्यापारमा सुधार देखिएको छैन । कुल वैदेशिक व्यापारको करीब आधा परिमाण भित्रिने वीरगञ्ज नाकाको तथ्यांकले यस्तो देखाएको हो । 

सरकारले गाडी, मदिरा, महँगा मोबाइललगायत विलासी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाएर आयात नीति खुकुलो बनाए पनि बजारमा माग सृजना हुन नसक्दा व्यापारले लय समात्न नसकेको सरोकारका पक्षले बताएका छन् । वैदेशिक व्यापारमा सुधार नहुँदा यो नाकामा रहेको वीरगञ्ज भन्सारले उठाउने राजस्व लक्ष्यको तुलनामा निरन्तर ओरालो गतिमा छ ।  

यो भन्सारले चालू आर्थिक वर्ष (आव) २०७९/८० को १० महीनामम लक्ष्यभन्दा ४० प्रतिशत कम राजस्व उठाएको छ । वीरगञ्ज भन्सारले आफ्नो वेबसाइटमा प्रकाशित गरेको तथ्यांकअनुसार गत साउनदेखि वैशाखसम्मको अवधिमा लक्ष्यको ५९ दशमलव ९५ प्रतिशतमात्र राजस्व उठेको देखिन्छ । 

भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार आयातमा आएको कमीले राजस्वमा गिरावट आएको हो । यो नाकाबाट भित्रिने मुख्य वस्तुमा पर्ने सवारी साधनको आयातमा लामो समय रोक लगाइएको थियो । अहिले प्रतिबन्ध खुला भए पनि आयात अपेक्षित नबढेको भन्सारले बताएको छ  । 

प्रतिबन्ध हटे पनि सवारी कर्जामा कडाइ र उच्च ब्याजदरले आयातले गति नलिएको भन्सार अधिकृत ढकालको बुझाइ छ । यो नाकाबाट भित्रिने पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको आयात पनि उल्लेख्य परिमाणमा खस्किएको भन्सारको तथ्यांक छ । 

नाकाबाट भित्रिने मुख्य वस्तुकै आयात घटेपछि राजस्व संकलन स्वाभाविक रूपमा घटेको भन्सारका अधिकारीले बताएका छन् । 

निर्यात पनि खस्कियो 
निकासी व्यापार पनि उल्लेख्य परिमाणले घटेको छ । यो नाबाट निकासी हुने मुख्य वस्तुको रूपमा रहेको प्रशोधित तेलको निर्यात स्वाट्टै घटेको देखिन्छ । 
बितेको १० महीनामा गत वर्षको समीक्षा अवधिको तुलनामा भटमासको तेल निकासी उल्लेख्य कमी आएको छ । यस्तो प्रशोधित तेलको निर्यात मूल्यका आधारमा ४ हजार ११९ प्रतिशतले घटेको भन्सारको तथ्यांक छ । त्यस्तै 

पाम तेल १३ प्रतिशत र सूर्यमुखी तेल निकासी व्यापार ८३ प्रतिशतले घटेको छ ।  भारतले तेल र यसको कच्चा पदार्थ आयातमा शून्य भन्सार नीति लिए पनि नेपालबाट निकासी खस्किएको उद्यमी सुरेश रुंगटा बताउँछन् । यसअघि भारतले ४० प्रतिशतसम्म यस्तो शुल्क लिँदा साफ्टा सहुलियतमा शून्य भन्सारमा निकासी सम्भव भएको थियो । त्यसबेला तेस्रो मुलुकबाट कच्चा पदार्थ भित्र्याएर निकासी गर्न सम्भव भएकोमा अहिले निकासी करीब ठप्पजस्तै भएको रुंगटाले बताए । 

कति  उठ्यो राजस्व ? 
वीरगञ्ज भन्सार कार्यालयलाई चालू आवको १० महीने अवधिका लागि २ खर्ब १४ अर्ब १५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो । १ खर्ब २८ अर्ब ३९ करोड रुपैयाँमात्र संकलन भएको भन्सारको तथ्यांक छ । 

त्यसमध्ये सबैभन्दा बढी मूल्यअभिवृद्धि कर उठेको भन्सारको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तो कर ५७ अर्ब ९६ करोड रुपैयाँ संकलन भएको देखिन्छ । अघिल्लो आवको समीक्षा अवधिमा ६८ अर्ब ७४ करोड रुपैयाँ मूल्यअभिवृद्धि कर उठेको थियो ।  आयाततर्फ भन्सार महशुल ४५ अर्ब ४२ करोड र अन्तःशुल्क ८ अर्ब १३ करोड संकलन भएको तथ्यांक भन्सारको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)