काठमाडौं । प्रधानमन्त्री (Prime Minister) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताउनुभएको छ । उहाँले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्षपीडितलाई विश्वाससमेत दिलाउनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्लाफाँटा आरक्षपीडितका समस्या, पुनःस्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिनुभएको छ ।
प्रधानमन्त्री दाहालले चासोपूर्वक समस्या समाधानका लागि पहल गर्ने विश्वास दिलाउनुभएको भेटमा सहभागी सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का नेता ओमविक्रम भाटले जानकारी दिए ।
सो अवसरमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत कञ्चनपुरका विभिन्न पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता र आरक्षपीडितको सहभागिता थियो । ‘प्रधानमन्त्रीले समस्या समाधानका लागि चासो लिनुभएको छ । आरक्ष प्रभावितको माग सम्बोधन हुने आशा छ,’ प्रदेशसभा सदस्य भाटले भने । रासस