ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजारमा लगानीकर्ताले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू : 'बजार राताम्मे हुँदा खरीद गर'

२०८० जेठ, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं  । शेयर बजारका बादशाह भनेर चिनिने वारेन बफेटले भनेका छन्–  ‘बाई इन रेड जोन’ अर्थात् ‘बजार घटेको समयमा किन्नुहोस्’ ।  

शेयर बजार बढेपछि मात्र लगानी गर्ने र घट्दै गर्दा आत्तिएर विक्री गर्ने धेरै लगानीकर्ताको प्रवृत्ति छ । शेयर बजारमा जोखिम हुन्छ यसकारण कसरी र कस्तो समयमा शेयर खरीद विक्री गर्ने, कस्ता कम्पनीको शेयर खरीद गर्ने जस्ता सामान्य कुरामा ध्यान भने दिनैपर्ने हुन्छ । 

पछिल्लो समय बजारका सम्बन्धमा स्वयंले यथार्थ जानकारी लिनुको सट्टा अरूले गरेको हल्लाका भरमा लगानी गर्नेहरू घाटामा गएको देखिन्छ । सुनेको भरमा जथाभावी लगानी गर्नेहरू घाटामा जान सक्ने जोखिम सधैं रहन्छ ।

लामो समयदेखि घटेको बजारले अब बिस्तारै आफ्नो गति लिन थालेको छ । नयाँ ब्रोकरले लाइसेन्स पाएका छन् । अर्कोतर्फ वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको देखिन्छ । ब्याजदर पनि घट्दै छ । यी गतिविधिले शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् । 

बजार बढ्न थालेसँगै नयाँ लगानीकर्ता भित्रिने क्रम बढ्ने गर्दछ । धेरैजसो लगानीकर्ताहरू बुझेर नै यस क्षेत्रमा लागेका हुन्छन् भने कतिपय अरूले भनेकै भरमा लाखौं रूपैयाँ लगानी गरिरहेका हुन्छन् । यस्तो अवस्थामा गरिएको लगानी केही समय राम्रो देखिए पनि दीर्घकालमा जोखिमयुक्त देखिएका उदाहरण धेरै छन् ।

कतिपय नयाँ लगानीकर्ताहरूलाई बजारमा कसरी लगानी गर्ने ? कसरी प्रोफिट बुक गर्ने ? कसरी शेयर बजारबाट कमाउने ? घाटा हुनबाट कसरी बच्ने लगायतबारे थाहा नहुन पनि सक्छ । किनभने पछिल्लो समय बजारमा हल्लाको भरमा लगानी गर्नेहरू बढी छन् । सो कारण नेपालको शेयर बजारमा राम्रा र नराम्रा दुवैे हल्लाले बढी प्रभाव पार्दै आएको देखिन्छ ।

यसरी हल्लाले बढी प्रभाव पार्ने बजारमा जोखिम पनि बढी हुन्छ । त्यसैले शेयर बजारमा लगानी गर्नुपूर्व धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ । 

शेयर बजारमा लगानी गर्नुपूर्व लगानीकर्ता हल्लाको पछाडि नलागी अध्ययन गरेर जोखिम वहन गर्न सक्ने क्षमतालाई ध्यान दिनुपर्छ । कम्पनीका वित्तीय विवरणहरू अध्ययन गरेर खरीदविक्री गर्ने समय पहिचान गर्न सकेमा शेयरमा जोखिमभन्दा प्रतिफल बढी हुन्छ । 

लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको बारेमा राम्रो अध्ययन गर्नु जरुरी छ । आधारभूत पक्ष राम्रा भएका, लाभांशलगायत कम्पनीको वित्तीय अवस्थालाई राम्रोसँग केलाएर लगानी गर्नुपर्छ । बजार घट्दा पनि आधारभूत पक्ष सबल भएका कम्पनीको शेयर मूल्य पनि घटिरहेको हुन्छ  । त्यस्तो अवस्थामा लाभांशले लगानी पूर्ति गर्न सक्छ ।

अर्को महत्त्वपूर्ण कुरा लगानीकर्ता आफ्नो बचतको पैसा शेयर बजारमा लगानी गर्नु उचित हुन्छ । ‘ऋण लिएर शेयर बजारमा कहिल्यै लगानी गर्नु हुँदैन,’ इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार बताउँछन् । 

‘शेयर बजार भनेको जोखिमको क्षेत्र हो, यसमा लगानी गर्ने बित्तिकै प्रतिफल प्राप्त हुन्छ भन्ने हुँदैन,’ लगानीकर्ता दुर्गा तिवारी भन्छिन्, ‘बजारबारे यथार्थ कुराहरू बुझ्नुपर्छ । किनकि शेयर बजारमा धेरैजसो लगानीकर्ताहरू अरूले कमाएको देखेर आउँछन् ।’ शेयर बजारमा लगानी गर्दा घाटा पनि हुन्छ भन्ने जानकारी लगानीकर्तालाई हुनुपर्ने तिवारीको भनाइ छ । ‘त्यसैले शेयर बजारमा सफलता हासिल गर्न निरन्तरता र अध्ययनशील हुनैपर्छ,’ उनले थपिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)