ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशको मोह छाडेर ‘मकैघर’ का मालिक भए लिला 

२०८० जेठ, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । गैंडाकोट नगरपालिका-५ स्थित नगरपालिका चोकमा मकैका विभिन्न परिकारसहित "मकैघर" सञ्चालनमा आएको छ ।

राजमार्गका यात्रुहरू र स्थानीय ग्राहकलाई लक्षित गरी उक्त मकैघर आइतवारदेखि सञ्चालनमा आएको हो । स्थानीय युवा व्यवसायी लिला सापकोटाले ग्राहकलाई सस्तो र स्वस्थकर  खाजा दिने उद्देश्यसहित मकैघर सञ्चालनमा ल्याएका हुन् ।

उनलाई विदेशमा जाने र लैजाने अफर आए पनि स्वदेशमै केही गर्छु भन्ने उद्देश्यका साथ मकैघर सञ्चालनमा ल्याएको उनले बताए । ‘मलाई विदेश लैजाने र जाने अफर नआएका होइनन तर स्वदेशकै माटोमा सुन फलाउंँछु भनेर अठोट लिएको छु,’ सापकोटाले भने ।  उनको यो व्यवसाय पहिलो भने होइन । उनले यसअघि फर्निचर व्यवसाय पनि सञ्चालन गर्दै आएका छन् । फर्निचरसंँगै स्थानीय मकैका परिकार पस्कन यो व्यवसाय शुरू गरेको उनको भनाइ छ । 

उनका अनुसार मकैघरमा ताजा पोलेको मकै, भुटेको मकै, उसिनेको मकै, मकैको चटपट, मकैको मःम, मकैको पानी पुडी, मकैको सातु, मकैको पकौडा लगायतका परिकार पाइन्छन् । यस्तै मकैसँग खान मिल्ने गरी मोही, लस्सी, उखुको जुस, फलफूलका जुसहरू ग्राहकलाई उपलब्ध गरिएको उनले बताए । ‘यो एकदम हाइजेनिक, विभिन्न भिटामिन पाइने खाजा पनि छ ।  यो सस्तो पनि छ स्वस्थ पनि छ,’ सापकोटाले भने । 

राजमार्गका सडक किनारामा अव्यवस्थित तरीकाले विक्रीमा राखिएका पोलेका मकैलाई व्यवस्थित र व्यवसायिक रूपले सेवा दिन यो अवधारणा ल्याइएको उनले बताए । मकै पोल्न, उसिन्न उनले राष्ट्रिय आविस्कार केन्द्रबाट तयार पारिएका मेशिन ल्याएका छन् । ‘मसंँग अहिले आविस्कार केन्द्रबाट ल्याइएका ग्यांसबाट र कोइलाबाट पोल्ने र भुट्न सकिने मेशिन छन्,’ उनले भने, ’ग्राहकको अगाडि ग्राहककै इच्छाअनुसार तयार गरेर मकैका परिकार दिनेछौं ।’

मेशिनबाट पोल्दा  एउटै तापक्रम र निश्चित समयमा एकैपटक धेरै मकै पोल्न सकिने उनको भनाइ छ । हाल दैनिकजसो दुई सयको हाराहारीमा ग्राहक मकैघरमा आउने गरेको उनले बताए । ‘हामीकहाँ बिहानदेखि बेलुकासम्म खाजा खाने, प्याकिङ्ग लैजाने ग्राहक आउने गर्नुभएको छ,’ उनले भने, ’यो परिकार स्वादिष्ट पनि स्वस्थकर पनि छ ।’ 

१५ लाख लगानीमा सञ्चालनमा ल्याइएको मकैघरमा मकै पारखीहरू चितवन र राजमार्गमा गुड्ने ठूलादेखि साना सवारीका यात्रु हुने गरेको उनले बताए । हाल पांँच जनालाई रोजगारी दिन लागिएको मकै घरमा एकैपटक ५० जनालाई समेत सेवा दिन सक्ने क्षमता छ । ‘मकैघर जस्ता व्यवसायले स्थानीय किसानका उत्पादनलाई प्रवर्द्धन पनि गर्छ,’ उनले भने, ’नयांँ व्यवसायीलाई प्रेरित गर्छ भन्ने मेरो विश्वास छ ।’ छिट्टै नै अर्को शाखा विस्तारका लागि भरतपुरको चौबीसकोठी क्षेत्रमा तयारी भैरहेको उनले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)