ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घोराही सिमेन्टको प्रिमियम मूल्यको आईपीओ : बजारले सबै शेयर किन्नेमा सन्देह

२०८० जेठ, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । पछिल्लो समय धितोपत्रको दोस्रो बजारको गति अलमलिएको छ । दोस्रो बजारले गति लिन नसक्दा प्राथमिक बजारमा प्रतिकित्ता १०० रुपैयाँमा निष्कासन हुने प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को शेयर खरीदका लागि आवेदन दिने लगानीकर्ताको संख्या घट्न थालेको छ । अंकित मूल्यकै आईपीओमा लगानीकर्ताको आकर्षण घटिरहेका बेला प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने कम्पनीहरू लाइनमा छन् । 

नेपाल धितोपत्र बोर्डले पछिल्लो समय घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडलाई प्रिमियममा आईपीओ विक्री गर्न स्वीकृति दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता ४०० रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ विक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यस आधारमा आयोजना प्रभावित स्थानीयमा प्रिमियमबापत ३०० रुपैयाँ र सर्वसाधारणमा प्रिमियमबापत ३३५ रुपैयाँ थप गरी आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

बोर्डको अनुमतिपछि कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँट भइसकेको छ । आयोजना प्रभावित स्थानीयमा ३ लाख ९७ हजार १९० कित्ता शेयर विक्री खुला भएको हो । स्थानीयले जेठ १७ गतेसम्म मात्र आवेदन दिन सक्छन् । 

वैदेशिक रोजगारीमा रहेका नेपालीले कोटाको शेयर पनि खरीद गरेनन् भने स्थानीयले समेत कोटाको सबै किन्ने गरी आवेदन दिने सम्भावना कम देखिएको छ । कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता शेयर विक्री खुला गरेकोमा जम्मा ६ लाख ६ हजार ३५० कित्ता जेठ १२ मा बाँडफाँट भएको छ । वैदेशिक रोजगारीका नेपालीको लागि छुट्ट्याइएको १ लाख ४८ हजार ३११ कित्ता बिकेन । 

लगानीकर्ताले कम्पनीको आह्वानपत्रमा उल्लेख भएका वित्तीय अवस्था पूर्ण नभएको प्रतिक्रिया दिएका छन् । पूर्ण र यथार्थपरक नभएको वित्तीय विवरणलाई आधार मानेर उच्च प्रिमियम मूल्यसहित यस कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको भन्दै लगानीकर्ताले धितोपत्र बोर्डको आलोचना गरेका छन् । लगानीकर्ता केशव कोइराला कम्पनीको प्रतिशेयर नेटवर्थमाथि नै शंका लागेको बताउँछन् । 

सबै पक्षको मिलेमतोमा घोराही सिमेन्टलाई उच्च प्रिमियम मूल्यमा आईपीओ निष्कासन अनुमति दिएको कोइरालाको दाबी छ । उनले कम्पनीको आईपीओले धितोपत्रको दोस्रो बजारमा पाउने मूल्यसँग सरोकार राख्नुभन्दा पनि नियामकले कम्पनीको वास्तविक अवस्था हेरेर लगानीकर्ता मारमा नपर्ने गरी प्रिमियम निर्धारण गर्नुपर्ने बताए । 

बोर्डका अध्यक्ष रमेशकुमार हमालले घोराहीको प्रिमियम मूल्य घटाउनुपर्ने माग आफूले समेत गरेको बताए । ‘नेपाल राष्ट्र बैंकले नियमन गर्ने ठूलाठूला बैंकका सहायक कम्पनी अन्डरराइटर छन् । चाटर्ड एकाउन्टेन्टले स्वीकृत गरेका त्यस्ता कम्पनीले अन्डरराइट गरेका डकुमेन्टलाई बोर्डले नकार्न सक्ने अवस्था थिएन,’ हमालले भने । नेपालमा आईपीओ नबिकेको घटना इस्यू हुने भए पनि अन्तरराष्ट्रिय बजारमा इस्यू नहुने हमाल बताउँछन् । आईपीओ अन्डरराइटिङ हुने र सर्वसाधारण लगानीकर्ताबाट आवश्यक मात्रामा आवेदन नपरे अन्डरराइटरले सकार्ने व्यवस्था भएकाले सर्वसाधारणलाई आईपीओ खरीद नगर्ने अधिकारसमेत रहेको उनले बताए । 

लगानीकर्तालाई कम्पनीको वास्तविक अवस्था हेरेर लगानीको धारणा बनाउन हमालले सुझाए । अन्डरराइटर कम्पनीसहित विक्री प्रबन्धकबाट निर्धारण भएको घोराहीको प्रिमियम मूल्यमा सर्वसाधारणले नकिने त्यसको जोखिम अन्डरराइटरले लिने हमालले जानकारी दिए । लगानीकर्तालाई घोराही सिमेन्टको प्रिमियम मूल्य महँगो लागेको भए खरीद नगरी अन्डरराइटरलाई सकार्ने अवसर दिन पनि उनले आग्रह गरे । अन्डरराइटरले कम्पनीको प्रिमियम मूल्य उचित छ, सर्वसाधारणले नकिने म किन्छु भनेकाले उसैलाई सकार्ने अवसर दिनु उचित हुने हमालको धारणा छ । 

मूल्य अस्वाभाविक भएको खण्डमा आगामी दिनमा उचित मूल्य निर्धारणका लागि अन्डरराइटरबाटै भूमिका निर्वाह हुने विश्वास समेत हमालले व्यक्त गरे । ‘नेपालमा १० कित्ते नीतिका कारण सर्वसाधारणबाट सबै खालका कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन पर्ने गरेको छ,’ उनले भने, ‘अबका दिनमा अन्डरराइटिङको फर्मुला रियल ग्राउन्डमा टेस्ट होस् । अन्डरराइटिङको कल्चर चेन्ज गर्न सकियो भने मात्र आईपीओको प्रणाली स्वच्छ हुन्छ ।’ 

२०६४ सालमा दर्ता भएको घोराही सिमेन्टले २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ । हाल कम्पनीले दाङ जिल्लास्थित सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । त्रिवेणी र विशाल समूहबाट संयुक्त रूपमा प्रवद्र्धित घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड क्लिंकर उत्पादन र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोस्रो उद्योगमा पर्छ ।

हाल कम्पनीले सगरमाथा ब्रान्डमा क्लिंकर, ओपीसी र पीपीसी सिमेन्ट उत्पादन र विक्री वितरण गरिरहेको छ । चालू आवको पुस मसान्तसम्ममा कम्पनीको सञ्चित नाफा ४ अर्ब ३ करोडभन्दा बढी छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ २२६ दशमलव ६१ रुपैयाँ छ । दोस्रो बजारमा कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता २२६ दशमलव ६१ देखि ६७९ दशमलव ८३ सम्मको मूल्य रेन्ज पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)