ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ कम्पनी दर्ता घट्यो, निजीक्षेत्रका लगानीकर्ताको मनोबल खस्किएकै हो ?

२०८० जेठ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । आर्थिक गतिविधिमा आएको शिथिलताले निजीक्षेत्रका लगानीकर्ताको मनोबल खस्काएको पाइएको छ । पछिल्ला दुई वर्ष लगातार बढेको नयाँ कम्पनी दर्ता चालू आर्थिक वर्षमा उल्लेख्य घटेको तथ्यांकले उद्यमी एवं लगानीकर्ताको मनोबल खस्किएको संकेत गरेको हो ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा कम्पनी दर्ता संख्या गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले घटेको हो । लगानीकर्ताको मनोबल खस्किएको, नयाँ योजना बनाए पनि लगानी गर्न पर्ख र हेरको अवस्थामा रहेको व्यवसायीले बताएका छन् । पब्लिक, प्राइभेट कम्पनी दर्ता गर्ने सरकारी अड्डा कम्पनी रजिस्ट्रारको कार्यालयमा चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १५ हजार १८७ नयाँ कम्पनी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको फागुनसम्ममा २१ हजार ९०२ ओटा नयाँ कम्पनी दर्ता  भएका थिए । 

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्लो १० वर्षमा आर्थिक वर्ष २०७०/७१ देखि बढ्दै आएको नयाँ कम्पनी दर्ता आर्थिक वर्ष २०७६/७७ मा भने अघिल्लो वर्षको तुलनामा घटेको थियो । त्यसपछिका दुई वर्ष बढेको कम्पनी दर्ता चालू आर्थिक वर्षमा घटेको हो । कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीले यो वर्ष कामको चाप घटेको बताएका छन् । 

कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार महेश बरालले यो वर्ष कम्पनी दर्तामा कमी आएको बताए । ‘कार्यालयमा हुने भिडभाड घटेको छ । दर्ता कम हुँदा त्यसपछि हुने काममा पनि स्वत: कमी आएको छ,’ बरालले भने, ‘अहिलेको अर्थतन्त्रको अवस्थाले गर्दा होला नयाँ कम्पनी दर्ताका लागि उत्साह देखिएको छैन ।’ 
राष्ट्रिय तथ्यांक कार्यालयले वैशाख तेस्रो साता सार्वजनिक गरेको तथ्यांकले समेत अर्थतन्त्रका क्षेत्रमध्ये पाँचओटा (खानी तथा उत्खनन्, उद्योग, निर्माण, व्यापार, यातायात तथा गोदाम) को वृद्धिदर ऋणात्मक भएको  देखाएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयका अर्का एक कर्मचारीले भने, ‘दर्ताका साथै अद्यावधिक गर्ने कार्य पनि घटेको छ भने शेयर लगतको काम ९० प्रतिशतले कम भएको छ ।’ कम्पनी दर्ता गर्दा निश्चित रकम प्रस्ताव गरिएको हुन्छ । त्यो प्रस्तावित रकम शेयर लगत गर्दा भने बैंकमा जम्मा गरेको देखिनुपर्छ । अहिले व्यवसायीहरूसँग पैसा नै नभएर शेयर लगतको काम गर्न कार्यालयमा नआएको अनुमान ती कर्मचारीले गरे ।

बहुसंख्यक लगानीकर्ताले नयाँ कम्पनी दर्ता, लगानी विस्तारलगायत काम रोकेका छन् । ‘व्यवसायीले नयाँ कम्पनी दर्ता गर्ने, थप क्षेत्रमा लगानी विस्तार एकल पूँजीले मात्रै सम्भव छैन,’ एकजना व्यवसायीले भने, ‘एकाध व्यवसायीले सक्लान् तर बहुसंख्यकले बैंकबाटै ७० प्रतिशतसम्म ऋण लिएर व्यवसाय गर्ने हो ।’ तर, अहिलेको परिस्थिति तथा सरकारले व्यवसायीको मनोबल बढाउने गरी काम नगरेको हुँदा लगानीकर्ताहरू नयाँ कम्पनी, नयाँ लगानीका लागि इच्छुक  नभएको उनले बताए ।
कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा नयाँ लगानी तथा कम्पनी खोल्नका लागि गरिएका अध्ययनको फाइल अहिले यत्तिकै थन्किएको भन्दै ती व्यवसायीले भने, ‘बैंकले ऋण दिँदैन, दिए पनि दोहोरो अंकमा ब्याज छ । बजारमा सामान विक्री हुँदैन । यो बेला नयाँ कम्पनीभन्दा पनि भएकै 

व्यवसायलाई टिकाइराख्ने ध्याउन्नमा व्यवसायी छन् ।’ यो अवस्थामा कम्पनी दर्ता गरेर शुल्क तिर्ने, कम्पनी रजिस्ट्रारमा धाउने काम किन गर्ने भनेर व्यवसायीहरू ‘पर्ख र हेरको’ अवस्थामा रहेको उनले बताए ।

आर्थिक सर्वेक्षणअनुसार २०७५/७६ मा कम्पनी दर्ता २५ हजार ५०० रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा घटेको देखिन्छ । त्यसयताका दुई वर्षमा दर्ता संख्या बढेको देखिन्छ । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार हालसम्म प्राइभेट र पब्लिक कम्पनी गरेर ३ लाख ७ हजार ४३५ कम्पनी दर्ता छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)