काठमाडौं । काठमाडौंवासीका लागि ‘लुम्बिनी’ नाम जोडिएका तन्दुरी भोजनालय नौलो होइन । काठमाडौंका प्रमुख स्थानहरू बानेश्वर, बबरमहल, सुन्धारा, महाराजगञ्ज जस्ता क्षेत्रमा ‘लुम्बिनी तन्दुरी भोजनालय/लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालय’ देखिन्छन् । तन्दुरी, नेपाली खाना लगायत परिकारका लागि ग्राहकको रोजाइमा पर्ने यी भोजनालय कुनै चेन ब्राण्ड जस्तै बढेका छन् । तर, यो चेन ब्राण्ड होइन ।
काठमाडौंवासीको रोजाइमा पर्ने यो भोजनालय हालसालै स्थापित भएको भने होइन । साढे २ दशकअघि अर्घाखाँचीबाट काठमाडौं आएर जीविकोपार्जनका लागि तन्दुरी व्यवसाय सञ्चालन गर्न लागिपरेका व्यवसायीले बसालेको जगमा अहिलेका भोजनालयहरू सञ्चालनमा छन् ।
२०५५ सालअघि अर्घाखाँचीबाट काठमाडौं आएर यो व्यवसाय शुरू गरेकाहरूले सोही जिल्लाबाट आएका इच्छुक उद्यमीलाई ऋण दिएरै भए पनि भोजनालय स्थापना गरिदिने वा हस्तान्तरण गर्ने चलन बसाले, जसले गर्दा अहिले लुम्बिनी नामबाट सञ्चालन हुने तन्दुरी भोजनालयको संख्या करीब ३०० पुगेको छ । यो संख्या बढाउन युवा उद्यमी कपिल पोखरेलको पनि ठूलो योगदान छ । लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयका प्रबन्धक निर्देशक रहेका उनले २० वर्ष तन्दुरी व्यवसायमै बिताएका छन् । यस आधारमा भन्न सकिन्छ- उनले काठमाडौंमा यो व्यवसायको जग बसाल्न ‘इँटा’ थपे ।
लुम्बिनी तन्दुरी व्यवसायी संघका संस्थापक सचिवसमेत रहेका उनले महाराजगञ्ज, नयाँ बानेश्वर र मीनभवनमा आफ्नै लगानीका तीनओटा भोजनालय सञ्चालन गर्दै आएका छन् । काठमाडौंको कुलेश्वरमा काकाको ‘तन्दुरी ढावा’मा उनले तन्दुरी बनाउन सिके । उक्त शीपलाई उनले व्यवसाय बनाउने अठोट गरेर काठमाडौंकै त्रिपुरेश्वरमा भोजनालय सञ्चालन गरे । ‘त्यतिबेला सहकारीबाट ५० हजार र १५ जना साथीसँग प्रतिव्यक्ति ५÷५ हजार रुपैयाँ ऋण लिएर व्यवसाय शुरू गरेको हुँ,’ उनी सम्झन्छन्, ‘तन्दुरी, नेपाली खाना राम्रोसँग विक्री हुँदा त्यही भोजनालयबाट आम्दानी गरेर ६ महीनामै ऋण तिरें ।’
व्यवसाय शुरू गर्न लिएको ऋण समयमै भुक्तानी गर्न सकेपछि हौसला बढेको उनको भनाइ छ । त्रिपुरेश्वरको भोजनालय आफ्नै गाउँठाउँका युवालाई हस्तान्तरण (विक्री) गरेर आफूले सुन्धारा, वसुन्धरा, भोटेबहाल, कुपण्डोल, महाराजगञ्ज, बानेश्वर, मीनभवन जस्ता स्थानमा विभिन्न समयमा व्यवसाय सञ्चालन गरेको उनले बताए । ‘स्थापित व्यवसाय अर्काे लगानीकर्तालाई हस्तान्तरण गर्दै आउँदा अहिले यसले शाखाकै रूप लिएको हो,’ पोखरेलले भने ।
हाल आफ्ना तीनओटा भोजनालयमा उनले ३० जनालाई रोजगारी दिएका छन् । ‘लुम्बिनी’लाई ब्राण्ड नै बनाएर काठमाडौं बाहिरसमेत लैजान सकिने सम्भावना अध्ययन गरिरहेको उनले बताए । अहिले बढ्दो महँगीले सबैजसो वस्तुको भाउ बढेको, तर लुम्बिनी तन्दुरीमा भने १०० रुपैयाँसम्ममा खाना उपलब्ध गराइने उनको भनाइ छ ।
व्यवसाय गर्दा उनलाई सबैभन्दा कठिन भएको समय कोरोनाकाल हो । सरकारले लिएको बन्दाबन्दीको नीति र बढ्दो संक्रमणले १ वर्षजति व्यवसाय बन्द नै गर्नुपरेको उनले सुनाए । ‘त्यो अवधिमा सरकारले साना व्यवसायीलाई सघाउन सकेन,’ उनले भने । अप्ठ्यारो परेका बेला सरकारले सघाएन भने व्यवसायी पलायन हुन सक्ने उनले बताए ।
२०४४ सालमा अर्घाखाँचीको पणेनामा जन्मिएका पोखरेललाई उच्च शिक्षा अध्ययनका लागि २०६१ सालमा काठमाडौंमा आए । छोराले जीवनमा केही गरोस् भन्ने आमाको वचनले यहाँसम्मको यात्रा गर्न सफल भएको उनले बताए । ‘सानैमा बुबाको निधनपछि हामी सन्तानको भार आमाको काँधमा आयो, जसले गर्दा पनि मैले केही गर्नैपर्छ भन्ने लागिरहन्थ्यो,’ उनले भने ।
तन्दुरी व्यवसाय र अध्ययनलाई एकैपटक अघि बढाउन नसकेका उनले बीचमा अध्ययन छाडे । औपचारिक अध्ययन छाडे पनि पढ्नुपर्छ भन्ने सोच राखिरहेका उनी २० वर्षपछि काठमाडौंको एक क्याम्पसबाट व्यवस्थापनमा स्नातक तह पढ्ने तयारी गर्दै छन् ।
अन्य व्यवसायीसँगको सहकार्यमा उनले रेस्टुराँ व्यवसायमा पनि लगानी गरेका छन् । ‘हरेक मान्छे उद्यमशील हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले सुनाए, ‘तर, उद्यमशील बन्न नेपालमा निकै गाह्रो छ ।’ अहिले युवाहरू विदेश जाने लहर हेर्दा देशमा बस्ने, उद्यम गर्ने वातावरण नै नभएको महसूस उनले गरेका छन् । यसले गर्दा जनशक्ति पाउनसमेत कठिन भएको उनले बताए ।