ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किसानले ६ रुपैयाँ नपाउने गोलभेडा उपभोक्तालाई ४०

२०८० असार, ४  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । किसानले प्रतिकिलो ६ रुपैयाँभन्दा कम पाउने गोलभेडालाई उपभोक्ताले ४० रुपैयाँ तिरेर किनिरहेका छन् । यो अस्वाभाविक अवस्थाप्रति विरोध जनाउन आइतवार किसानले हजारौं किलो गोलभेडा काडमाडौंको सडकमा फालेका छन् ।  काठमाडौंको कालीमाटीस्थित  तरकारी तथा फलफूल बजारअगाडि सडकमा आइतवार झन्डै ३९ हजार किलो गोलभेडा फालिएको थियो । फ्याँकिएको गोलभेडा हटाउन जेसीबी प्रयोग गर्नुपरेको थियो । 

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार आइतवार गोलभेडाको थोक मूल्य ६ रुपैयाँ प्रतिकिलो थियो । एक महीनाअघि प्रतिकिलो ४० देखि ५० रुपैयाँमा विक्री भएको गोलभेडा आइतवार ६ रुपैयाँमा पनि विक्री नभएको कालीमाटीका व्यापारीको गुनासो छ । 

गोलभेडाको उचित मूल्य नपाएको भन्दै व्यापारीले नागार्जुन, काभ्रे, काठमाडौं उपत्यकाका किसानलाई बोलाएर गोलभेडा सडकमा फालेका हुन् । कृषि उपजको उचित मूल्य नपाएपछि सडकमा फालेर विरोध गरिएको यो पहिलो घटना भने होइन । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठ अहिले गोलभेडा उत्पादन बढेसँगै बजारमा मूल्य घटेको बताउँछन् । ‘हाम्रो खपत बढेको छैन तर उत्पादन बढ्यो,’ उनले भने, ‘हिजो एक किलो खानेले अहिले पनि एक किलो नै खान्छ । अहिले आपूर्तिको स्थिति प्रबल भयो, अनि यो अवस्था सृजना भएको हो ।’

एक हप्तादेखि गोलभेडाको मूल्य तीव्र गतिमा घटेको श्रेष्ठ बताउँछन् । ‘पछिल्लो मूल्यले किसानको लागत पनि नउठेको अवस्था छ,’ उनले थपे । विगतमा वर्षात्को समयमा गोलभेडा उत्पादन नै न्यून हुन्थ्यो । अहिले नेपालमा टनेलमा गरिने खेतीले गर्दा गोलभेडा उत्पादन बढेको छ । उत्पादन बढेकाले अचेल बजारमा सामान्य दिनमा भन्दा धेरै गोलभेडा  भित्रिइरहेको  उनले बताए । 

कालीमाटीमा विगतमा सामान्य दिनमा ६० देखि ७० टन गोलभेडा भित्रिन्थ्यो । अहिले टनेल खेतीका कारण उत्पादन बढेसँगै ९० देखि ९५ टन भित्रिने गरेको छ । उनी भन्छन्, ‘अहिले टनेल खेती काठमाडौं मात्र नभएर बाहिरी जिल्लामा पनि धेरै हुन थालेको छ । विगतमा काठमाडौंको टनेलमा उत्पादित गोलभेडा बाहिरी जिल्लामा पनि जान्थ्यो । अहिले स्थिति फरक छ ।’ तराईमा पनि अहिले गोलभेडा उत्पादन भइरहेको छ । उत्पादन बढे पनि खपत बढ्न सकेको छैन । ‘किसानले लागत मूल्य पनि नपाएको पीडाले सडकमा पोखेको देखिन्छ,’ उनले भने ।

उत्पादन वृद्धिले आयात घट्यो गोलभेडाको उत्पादन बढेपछि आयात घटेको देखिन्छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको १० महीनामा ५५ करोड रुपैयाँ बराबरको गोलभेडा आयात भएको छ । उक्त मूल्यको ३ करोड ९८ लाख ८९ हजार २४२ किलो गोलभेडा आयात भएको छ । गतवर्षको सोही अवधिमा ५८ करोड २६ लाख ६३ हजार रुपैयाँको ४ करोड ३५ लाख २९ हजार २६७ किलो गोलभेडा आयात भएको थियो ।

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले गोलभेडाको उत्पादन बढेको बताएको छ । आर्थिक वर्ष २०७३/७४ मा २१ हजार ५६२ हेक्टरमा गोलभेडा खेती गरिन्थ्यो । उक्त जमीनमा ४ लाख १ हजार ५७७ मेट्रिक टन उत्पादन हुन्थ्यो । खेती बढेर आर्थिक वर्ष २०७८/७९ मा २२ हजार ९१३ हेक्टर क्षेत्रफलमा पुगेको छ । उत्पादन ४ लाख ३५ हजार ५८४ मेट्रिक टन पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)