ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रसुवा सुक्खा बन्दरगाह : तातोपानीबाट व्यापार घटाएपछि निर्माणलाई तीव्रता दिँदै चीन

२०८० असार, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र चीन सरकारबीच समझदारी भएको ८ वर्षपछि चिनियाँ पक्षले निर्माणलाई तीव्रता दिएको छ । नेपाल–चीन व्यापारको प्रमुख नाका सिन्धुपाल्चोकको तातोपानीबाट हुने निकासी पैठारीलाई कुनै समय बन्द र अहिले क्रमशः न्यूनीकरण गर्दै आएको चीनले पछिल्लो समय रसुवाको सुक्खा बन्दरगाह निर्माणलाई तीव्रता दिएको हो । 

आफ्नै २ अर्ब १६ करोड ६० लाख रुपैयाँ लगानी गरेर चीनले अहिले रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह बनाइदिँदै छ । सन् २०१४ अक्टोबरमा यो बन्दरगाह निर्माणका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । सन् २०१५ मा डिजाइन तयार भएको थियो । सुक्खा बन्दरगाहको कार्यक्षेत्रमा रहेका चाइनिज टोलीका प्रतिनिधिले निर्माणलाई अहिले तीव्रता दिइएको बताए । 

चिनियाँ कम्पनी टिबेट फुली कन्स्ट्रक्शन ग्रूप कम्पनी लिमिटेडले सन् २०२२ डिसेम्बरदेखि काम शुरू गरेको हो । उक्त कम्पनीका म्यानेजर वाङ पिङले यो बन्दरगाह २ अर्ब १६ करोड ६० लाख रुपैयाँ लगानीमा निर्माण गरिने सम्झौता भएको बताए । उनका अनुसार अहिलेसम्म ४० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । त्यसमा पर्खाल बनाउनेदेखि निर्यात–आयातका लागि आउने–जाने कन्टेनरहरू प्रवेश गर्ने सडकहरू निर्माण गरिँदै छ । उनले सन् २०२५ जुनसम्ममा सुक्खा बन्दरगाह निर्माण गरिसक्ने दाबी गरे ।

‘भूकम्प, कोरोनाका कारण बोर्डर क्षेत्र बन्द भयो,’ उनले भने, ‘अहिले कामलाई तीव्रता दिइएको छ, तर साइटमा कन्टेनर पार्किङ गर्दा काममा समस्या भएको छ ।’ निर्धारित समयमै काम सम्पन्न हुने पनि ती प्रतिनिधिको भनाइ छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले पनि सोही अवधिमा सुक्खा बन्दरगाह बनिसक्ने दाबी गरे । 

उत्तरतिरका प्रमुख व्यापारिक नाका तातोपानी र रसुवा हुन् । ‘तातोपानीको सुक्खा बन्दरगाहमा पार्किङ, गोदाम सबै पूर्वाधार राम्रो भए पनि रसुवामा पार्किङ र गोदाम दुवैको समस्या छ,’ गजुरेलले भने, ‘यो सुक्खा बन्दरगाह बनेपछि गोदाम, पार्किङ, भन्सार जाँचपास, क्वारेन्टाइनलगायत सुविधा व्यवस्थित रूपमा उपलब्ध हुन्छन् ।’ अहिले गोदाम तथा पार्किङ भन्ने नै छैन खुला स्थानमा कन्टेनर पार्किङ गरिएको देखिन्छ । 

उनका अनुसार रसुवाबाट पछिल्लो समय बढी कन्टेनर आएका छन् । यस हिसाबले रसुवाको उक्त बन्दरगाहलाई चीनले बढी प्राथमिकता दिएको जस्तो देखिने उनको भनाइ छ । रसुवा र तातोपानीबाट हुने आयातनिर्यात र राजस्व संकलनको तथ्यांकले पनि अहिले रसुवा नाकाबाट नेपाल–चीन व्यापार बढ्दो क्रममा रहेको देखाउँछ । रसुवा भन्सार कार्यालयका आईटी अधिकृत निर्मल कँडेलले चालू आर्थिक वर्ष २०७९/८० को जेठसम्ममा उक्त भन्सारले ७ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन गरेको बताए ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले चालू आर्थिक वर्षको असार ४ गतेसम्म २ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन भएको बताए । ‘२०७२ वैशाखको भूकम्पअघि यो नाकाबाट दैनिक १०० देखि १५० सम्म कन्टेनर आउँथे,’ केसीले भने, ‘पछिल्लो समय दिनमा सातओटासम्म आएको अभिलेख छ । कहिलेकाहीँ १५ ओटासम्म आएका छन् ।’ 

लामो समयपछि खुला भएको तातोपानी नाकाबाट नेपालले वैशाख १८ गतेदेखि वस्तु निर्यात गर्दै आएको छ । निर्यातको परिमाण निकै कम रहेको उनले बताए । २०७६ जेठदेखि तातोपानी–खासा (चीनतर्फ) को नाका खुले पनि कोरोना महामारीका कारण सामान आयात कम नै थियो । केसीका अनुसार अहिले नेपालीलाई खासा जान दिइँदैन । त्यहाँको बजार पनि चिनियाँ पक्षले हटाउँदै लगेको छ ।

रसुवा भन्सार कार्यालयका कँडेलले भूकम्प र कोरोना महामारीअघि दैनिक १०० भन्दा बढी कन्टेनर यो नाका भएर आउने गरेको बताए । कोभिडदेखि भने १५ ओटासम्म कन्टेनरहरू आउने गरेका छन् । अहिलेको आर्थिक मन्दीलगायत कारणले व्यापारीले सामान कम आयात गरेको देखिएको छ । टिमुरेको सुक्खा बन्दरगाहमा ३५० ओटा कन्टेनर पार्किङ गर्न मिल्छ । उक्त बन्दरगाहमा जाँचपास बिन्दु २ ओटा हुनेछन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)